चौतारोमा सूचना टाँसेर जग्गा पास
इटहरी : इटहरीको ३ विगाहा ९ कट्ठा ११ धुर जग्गा चौतारोमा सूचना टाँसेको भरमा अर्कै व्यक्तिको नाममा पास भएको खुलेको छ। मोती प्रसाईंको नाममा रहेको १० करोड रुपैयाँ पर्ने जग्गा सुनसरी अमाहीबेल्हा–७ कै लीलबहादुर नेपालको नाममा नामसारी भएको हो। २०६९ सालमा जग्गा नामसारी भइरहँदा जग्गा धनी मोती अमेरिकामा थिए।
इटहरीका मोतीले डीभी परेपछि २०५६ सालमा जग्गा बेचविखन गर्न भनेर दाई ज्योतिको नाममा वारेसनामा गरिदिएका थिए। उनीहरूको सम्बन्ध बिग्रिएपछि २०६६ सालमा गोरखापत्रमा सूचना प्रकाशित गरी वारेसनामा बदर गरेको घोषणा गरे। वारेसनामा बदर भएको तीन वर्षभित्रै जग्गा नेपालको नाममा नामसारी भयो। अहिले उक्त जग्गा विष्णु अधिकारीको समूहले प्लटिङ गरी बेचिरहेको छ। जग्गाधनी मोती नेपाल आएर कानुनी लडाई लडे, तर केही नलागेपछि फर्किए। उनका दाई ज्योति न्याय खोज्दै भौतारिइरहेका छन्।
इटहरी उपमहानगरपालिका– ८ (ख) को कित्ता नं. ९, १४, २०, ५३, ५४, ५५, ५६, ९२ का जग्गा एक पैसा पनि लेनदेन नभइ नेपालले हात पारेको प्रसाईंको आरोप छ। वारेसनामा बदर भइसकेपछि २०६५ मंसिर ७ गतेको मितिमा जग्गा बैना गरेको कागज नेपालले बनाएको उनको दाबी छ।
नेपाली पढ्न नजान्ने बर्मेली समुदायका ज्योतिलाई झुक्याएर सहीछाप गराएपछि यो समूह केही समय सम्पर्कविहीन बनेको थियो। सहीछाप गराउँदा समूहले पुरानो वसियतनामा समेत लिएर गएको थियो। ‘मैले पनि बदर भइसकेको वारेसनामा के काम लाग्ला र भनेर वास्ता गरिनँ र दिएँ,’ ज्योतिले भने, ‘तर ब्याक डेटको बैना बनाएर सही गराउन ल्याएका रहेछन्।’ प्रसार्इंले आफूलाई झुक्याएर एक पैसा नदिइ ७० लाख रुपैयाँ बैना लिएको कागजमा सही गराएको गुनासो गरे।
वारेसनामाको कागज र जग्गाको कागजात, सहीछाप लिएर गएको नेपाल समूहले मालपोत कार्यालय इनरुवाका कर्मचारीलाई प्रभावमा पारी जग्गा हडपेको प्रसाईंको आरोप छ। आफू नभएको समयमा म्याद तामेल गराउनु र नभेटिएको भन्दै चौतारोमा सूचना टाँसेकै भरमा लाखौंको जग्गा पास गरेको उनको आरोप छ।
आफू भारत गएको समयमा २०६८ माघ महिनामा इटहरी–५ स्थित चौतारोमा सूचना टाँसेर बेपत्ते तामेल गराइएको प्रसार्इं बताउँछन्। इटहरी–५ स्थित अस्थायी ठेगानामा कोही नभेटिए स्थायी ठेगानामा म्याद तामेल गर्नुपर्नेमा त्यसो नगरी चौतारोमा सूचना टाँसेर औपचारिकता पूरा गरिएको प्रसाई दाजुभाईले हालेको मुद्दामा उल्लेख छ।
दुवै दाजुभाई नभएको मौका छोपेर बेपत्ता तामेल गराएका नेपालले बैना वापतको रकम जग्गाबाटै दिलाइपाउँ भन्दै अदालतमा मुद्दा हाले। आफैंले जग्गा सकारेर १० करोड पर्ने जग्गा हात पारे। जग्गा सकार्ने क्रममा दुई पटक लिलाम बढाबढ गर्नुपर्ने नियम भए पनि लिलाम बढाबढ नगरिकनै जग्गा सकारेकोले त्रुटी रहेको प्रसार्इं दाजुभाईको दाबी छ। नामसारी गर्ने क्रममा अदालतले जग्गाधनी नखोजेकोमा प्रसाईं झनै अचम्मित छन्।
आफ्नो नामको त्यति धेरै जग्गा राखेर विदेश गएका मोती जग्गा गुमेपछि दाईसँग रुष्ट छन्। उनी नेपाल आइ दाई ज्योति, मालपोत कार्यालय र जग्गा हात पार्ने नेपालविरुद्ध मुद्दा पनि हाले। केही नलागेपछि उनी अमेरिका नै फर्किए। तर ज्योतिले अझै आशा मारेका छैनन्। ‘जग्गा फिर्ता आउला भन्ने अझै आश छ’, उनी भन्छन्, ‘मसँग केही छैन, न जग्गा रह्यो, न भाईको साथ नै।’
जालझेल गरी सुकुमवासी बनाएको भन्दै जग्गा रोक्का गरिदिन र ठगी गर्ने लीलबहादुर नेपाललाई पक्राउ गरी कारबाही गर्न ज्योतिले इटहरी उपमहानगरपालिकाको– ७ मा पनि उजुरी दिए। त्यहाँबाट पनि केही कारवाही भएन।
निम्न आर्थिक हैसियतका उनको साइकल पसल थियो। मुद्दा लड्ने चक्करमा त्यो पनि बेचे। पछिल्लो समयमा जग्गा कब्जा गर्नेहरू प्रसाईंलाई क्षतिपूर्तिको प्रस्ताव गरिरहेका छन्। तर, निकै न्यून रकम प्रस्ताव गरेकोले नस्वीकार्ने बताउँछन् उनी।
प्रतिक्रिया दिनुहोस !