रोकिएन चुरे दोहन

रोकिएन चुरे दोहन

सुदूरपश्चिम : कैलाली र कञ्चनपुरका चुरे क्षेत्रमा हुने उत्खननले तराईका बस्ती जोखिममा परेका छन्। कैलालीको चुरे क्षेत्रबाटै निस्केका खुटिया, गौरीगंगा, पथरिया, कान्द्रा र काँडा नदीमा बर्खामा आउने बाढीले जिल्लाको दक्षिण भेगमा ठूलो उर्वरक्षेत्र बगरमा परिणत भइसकेको छ। ती नदीले बर्सेनि १५/२० हेक्टर जमिन बगरमा परिणत भएको स्थानीय जोखन रानाले बताए।

कैलालीमा सबैभन्दा बढी उत्खनन हुने खुटिया नदीमा गोदावरी नगरपालिकाले वार्षिक ८ करोडमा स्वाँर कन्स्ट्रक्सनलाई ठेक्कामा दिएको छ। ६ ठाउँमा ढुंगा, गिट्टी र बालुवा दिने गरी ठेक्कामा दिँदा मनलाग्दी तरिकाले उत्खनन भइरहेको स्थानीयको आरोप छ। धनगढीलगायत तराईका अधिकांश सहरमा त्यहींबाट निर्माण सामग्री ल्याउने गरिएको छ।

दक्षिण पूर्व भएर १ सय २ किमि लम्बाईमा बग्ने मोहना नदीले गोदावरीदेखि भजनीसम्म दुई दर्जन बस्ती बगरमा परिणत गरिसकेको छ। कैलारी गाउँपालिका—७ मा पर्ने बेलापरसुवाको ३ सय परिवारको उठिबास भएको छ। उर्वरक्षेत्र बगर बनाएको छ। अवैध रूपमा हुने उत्खननले गर्दा तराईको बस्ती नै जोखिममा रहेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलको भनाइ छ। ‘जथाभावी तरिकाले सडक खनिँदा तराईको बस्ती जोखिममा छ।’कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकामा भइरहेको अवैध उत्खनन रोकिएको छैन। स्थानीय निकायले ठेक्का लगाएको खोला तथा नदीमा अवैध उत्खनन भइरहेको जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले बताए। ‘हामीले स्थानीय तहले ठेक्का लगाएको खोला तथा नदीमा अनुगमन गर्दा अवैध उत्खनन गरेको पायौं’, प्रमुख तामाङले भने।

रानी, जमरा, कुलरिया सिँचाइ आयोजना खतरामा

कर्णाली नदीको तटीय क्षेत्रमा नदीजन्य पदार्थको व्यापक उत्खनन हुँदा राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजना खतरामा पर्ने देखिएको छ। आयोजनाको मुख्य इन्टेक क्षेत्र चिसापानीबाट दक्षिणतर्फ कर्णाली नदीको दोहन हुँदा आयोजना नै खतरामा पर्ने देखिएको हो।

कर्णाली नदीबाट निकालिएको ढुंगा, बालुवा, ग्राभेल कैलालीका विभिन्न स्थान तथा बर्दिया जिल्लामा निकासी भइरहेको छ। रानी, जमरा, कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता मूल समितिका अध्यक्ष कुमारराज शाहीले आयोजनालाई प्रभावित गर्ने गरी तटीय क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन हुनुले किसान चिन्तित भएको बताए। ‘ठाउँ ठाउँबाट दैनिक सयौं संख्यामा ट्र्याक्टर र टिपरले ढुंगा, बालुवा बोकिरहेका छन्, नदी नियन्त्रणका लागि स्थानीय तह, जिल्ला प्रशासन र समन्वय समितिमा पत्राचार गरिएको छ’, शाहीले भने।

कर्णाली नदीबाट लम्की चुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाएको छ। लम्कीचुहा नगरपालिकाका प्राविधिक नवीन पनेरुका अनुसार यस वर्ष कर्णाली नदीको तीन वटा ठाउँबाट ६८ हजार १ सय ६० घनमिटर ढुंगा, बालुवा, ग्राभेल निकासीका लागि ठेक्का सम्झौता भएको छ। त्यस्तै, जानकी गाउँपालिकाले कर्णाली नदीको १० वटा स्थानबाट १ लाख ३४ हजार घनमिटर ढुंगा, बालुवा, ग्राभेल निकासी गर्न टेन्डर आह्वान गरेकामा टेन्डर नै नपरेको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए।

यता, टीकापुर नगरपालिकाले समेत कर्णाली नदीको तीन वटा स्थानबाट २७ हजार २ सय ३० घनमिटर ढुंगा, बालुवा र ग्राभेल निकासी गर्न ठेक्का सम्झौता गरिसकेको इन्जिनियर नवराज जोशीले जानकारी दिए। स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरेर ठेक्का लगाएका हुन्।

(कैलाश जोशी, धनगढी/ परमानन्द पाण्डे, टीकापुर/ महादेव अवस्थी, महेन्द्रनगर)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.