कोरोना प्रभावित स्थानको भन्दै अप्रेशन थिएटरबाटै बाहिर पठाइयो
उदयपुर : कोरोना प्रभावित जिल्लाकै बासिन्दा भएका कारण उपचार पाउनबाट वञ्चित विरामीका परिवारले क्षतिपूर्तिको माग गरेका छन् । नोबेल मेडिकल कलेज विराटनगरले अप्रेशन थिएटरबाट निकालेकाका विरामीका परिवारले क्षतिपुर्तिको माग गरेका हुन् ।
हाच भाँचिएर उपचारका लागि नोवेल मेडिकल कलेज पुगेका उदयपुरको त्रियुगा नगरपालिका–६ घनचक्रेका १६ वर्षीय भीमबहादुर खत्रीलाई अस्पतालले रेफर गरेको थियो । चिकित्सकले वैशाख १९ गते शुक्रबार बिहान बिरामीको शल्यक्रिया गर्ने बताएपछि आफन्तले त्यहीअनुसारको तयारी गरी सबै परीक्षण गराएका थिए । ‘सबै प्रकृया पूरा भएपछि अप्रेशनका लागि थप ३२ हजार ५ सय पनि जम्मा गर्यौं’, भीमका ठूलोबुवा मानबहादुर खत्रीले टेलिफोनमार्फत भने, ‘अप्रेशन थिएटरमा लगेपछि उदयपुरको भन्दै बाहिर निकालिदिए ।’
‘सुरुमै उपचार गर्न नसक्ने हो भने बाहिर लैजानु भन्नु पर्दथ्यो', खत्रीले भने, ‘सहजै उपचार हुन्छ भनेर अल्मल्याइयो, त्यसपछि उदयपुरको बिरामी हो भन्ने थाहा पाउनसाथ अप्रेसन थियटरबाट रेफर गरियो ।'
‘बिरामी भर्ना हुँदा नि कहाँको भन्ने पहिचान हुन्छ, त्यतिबेला यहाँ हुँदैन बाहिर लैजानुस्र भनेको भए हामी अन्यत्र जाने थियौँ', उनले भने, ‘त्यो बेला केही नभनी बहाना बनाएर पैसा तान्ने काम गरियो, अन्तिममा लैजा भन्न मिल्छ ?'
भीमबहादुर खत्रीको वैशाख १३ गते घाँस काट्ने क्रममा देब्रेहातको कुहिनो माथिको भाग भाँच्चिएको थियो । शल्यक्रियाका लागि अस्पतालले स्टिल किन्न लगाएको थियो । तर बिहान अप्रेशन नगर्ने भन्दै चिकित्सक बाहिरिएपछि कोशी अस्पताल ल्याउनुपरेको परिवारजनले बताएका छन् ।
उपचार नै नपाएर बिरामी फर्काएको विषयलाई लिएर सर्वत्र चर्चा भएको छ । नोवेल मेडिकल कलेजको उक्त कदमको कडा शब्दमा आलोचना गर्दै कारवाहीको माग गरिएको छ । प्रदेश सांसद अम्बिका थापाले बिरामीका परिवारले क्षतिपुर्ति पाउनुपर्ने बताइन् । उनले अस्पतालले विभिन्न वहानामा पहिला नै पैसा लिएकाले त्यो रकमसहित क्षतिपूर्ति पाउनु पर्ने माग गरिन् ।
नोवेल अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले भने अप्रेसनका लागि जम्मा गरिएको रकम मात्र फिर्ता हुने बताएका छन् । अप्रेसनभन्दा बाहेक गरिएका परीक्षण लगायतका खर्च फिर्ता गर्न नसक्ने बताउँदै उनले अप्रेसनको बिल अस्पतालमा ल्याउनसाथ रकम फिर्ता गरिने बताए ।
प्रतिक्रिया दिनुहोस !