एमसीसी पारित गर्न प्रधानमन्त्री सक्रिय : देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल

एमसीसी पारित गर्न प्रधानमन्त्री सक्रिय : देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेट गरेका छन्। बिहीबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल पुगेका हुन्।

सत्ता गठबन्धनका शीर्ष नेताको भेटमा एमसीसी, स्थानीय तहको निर्वाचन र गठबन्धन, संसदको अवरोधलगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। उनीहरुबीच करिब एक घण्टा छलफल भएको हो।

भेटमा देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) तत्काल संसद्‍मा टेबल गर्नुपर्ने धारणा राखेका छन्। प्रचण्ड र नेपालले भने एमसीसीबारे उठेका विषयलाई सम्बोधन नगरी यथास्थितिमा पास गर्न नसकिने जवाफ दिएका छन्।

प्रधानमन्त्री देउवा अमेरिकी अनुदान सहायता सम्झौता संसद्बाट जतिसक्दो चाँडो अनुमोदन गराउने पक्षमा छन्। तर, ‘गोल गर्ने’देउवाको ‘दाउ’मा गोलकिपरको भूमिकामा देखापरेका छन् सभामुख अग्निप्रसाद सापकोटा। प्रधानमन्त्री देउवा र प्रचण्डले संयुक्त रूपमा एमसीसी मुख्यालयलाई पत्र लेखे। जसकारण जसरी पनि एससीसी संसद्बाट अनुमोदन गराउनुपर्ने नैतिक जिम्मेवारी देउवालाई छ। प्रचण्ड भने चुनावपछि मात्रै एमसीसीबारे निर्णय गर्नुपर्ने दबाब देउवामाथि बढाइरहेका छन्। प्रधानमन्त्रीले चाहेजसरी एमसीसीलाई ‘सजिलै’ संसद्को निर्णय प्रक्रियामा नलैजाने सभामुखले स्पष्ट गरिसकेका छन्। उनले प्रतिनिधिसभा बैठक विभिन्न बहानामा लगातार धकेल्दै आएका छन्। 

प्रचण्डसँग देउवाले संसदबाटै एमसीसीको टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्। मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता भने फागुन १६ (फेब्रुअरी २८) भित्र अनुमोदन गरिसक्नुपर्ने डेडलाइन दिएको प्रचण्डलाई स्मरण गराउँदै देउवाले चाडो निकास निकाल्नुपर्ने धारणा राखेको बालुवाटार स्रोतले बताएको छ। पछिल्लो समयमा एमसीसी अघि बढाउने कि नबढाउने विवादले कार्यपालिका र व्यवस्थापिका नेतृत्व आमनेसामने भएका छन्। सभामुख सापकोटाले हो-हल्लाबीच एमसीसी संसद्मा निर्णयार्थ पेस नगर्ने अडान लिएका छन्। विपक्षी एमालेले उनकै भूमिकामा प्रश्न उठाउँदै लगातार सदन अबरुद्ध गर्दै आएको छ। तर, अवरोधकैबीच सभामुखले बजेट प्रतिस्थापन विधेयक पेस गरेका थिए। उक्त बजेट बहुमतले पारित भएको घोषणा गरे। उनले एमसीसी भने त्यसरी पेस नगर्ने भनेका छन्। प्रचण्डले प्रतिबद्धता छाडेको र सभामुखले पनि अडान लिएपछि प्रधानमन्त्रीले एमालेलगायत दलसँग छलफल अघि बढाइरहेका छन्।

यता अमेरिकाले फागुन १६ अर्थात् फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता संसदबाट पारित गर्ने समयसीमा नेपालका नेताहरु आफैँले तोकेको र त्यसलाई कार्यान्वयन गर्नु उनीहरुको दायित्व भएको बताएको छ। एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफैँले परियोजना पारित गराउनको लागि ४-५ महिनाको समय मागेर सेप्टेम्बरको अन्तिम साता पत्र पठाएको बताएकी छन्। जनीतिक दलहरुको बीचमा एमसीसी सम्झौतलाई संसदमा पेस गर्ने तर त्यसलाई लामो छलफलपछि मात्र पारित गर्ने विकल्पमा छलफल भइरहेको छ। तर, फातिमाले भने एमसीसी प्रस्ताव संसदमा पेस गर्नेमात्र नभएर फेब्रुअरी २८ भित्र त्यसलाई पारित गर्नुपर्ने बताइन्। उनले अब ढिलाई गर्ने नीति लिने, त्यही एउटै कुरालाई बारम्बार दोहोर्‍याउने समय नभएको बताउँदै अब छनोट गर्ने समय आएको उल्लेख गरेकी छन्।

बिहीबार बिहान प्रचण्ड र कांग्रेस नेता डा. शेखर कोइरालाबीच पनि छलफल भएको थियो। कोइरालाले प्रचण्डसँग संसद्लाई बन्धक बनाउन नहुने बताएका थिए। प्रचण्डले चुनावपछि मात्रै एमसीसीको विषय उठाउनुपर्ने प्रस्ताव राख्न आग्रह गरेका थिए। प्रचण्डले सत्ता गठबन्धन के गर्ने भन्ने प्रश्नमा कोइरालाले स्थानीय निर्वाचनमा गठबन्धन बनाएर जान नसकिने जवाफ दिएको स्रोतले जनाएको छ। देउवाले एमसीसी संसद्‍मा टेबल गर्न दबाब दिएपछि प्रचण्ड र नेपालबीच बुधबार पनि छलफल भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.