सारंगी : संस्कृति कि कमण्डलु ?

सारंगी : संस्कृति कि कमण्डलु ?

'गन्धर्वका इष्ट भनेकै सारंगी हुन्, बलु ! तिनले गाम्ने गिद मलिला खेत हुन् । ती खेतमा मगन्ते विचार नउमार्न पाए हुने भन्ने सोच थियो मेरो केरे ।' - बुधबारे बडाउ (सारंगी, पृ. १२५) ।सारंगी, एक विशिष्ट प्रकारको लोकबाजा । यो मूलत: नेपाल, भारत र पाकिस्तानमा प्रचलित छ । नेपाली लोकजीवन र लोकभाकामा सारंगी गुञ्जिँदै आएको छ । तर, राष्ट्रिय बाजा हुनुपर्नेमा 'जातिविशेष'को बाजाका रूपमा खुम्चिएको छ । अर्थात् गन्धर्व भनेकै सारंगी, सारंगी भनेकै गन्धर्व ।

Rajendra-Tarakini-picयही गन्धर्व समुदायलाई आधार बनाएर लेखिएको उपन्यास हो- 'सारंगी' । लेखक हुन्- भुवनहरि सिग्देल । सिग्देल कविका रूपमा विगतदेखि नै नेपाली काव्यमा परिचित र स्थापित नाम हो । आख्यानकारका रूपमा चाहिँ मैले सिग्देललाई ढिलो मात्र चिनेको हुँ । 'आमोई' नामक उनको औपन्यासिक कृति ०७२ सालका लागि मदन पुरस्कारको मनोनयनमा परेपछि उनी आमचर्चा र चासोको पात्र बने । आमोईलाई उनको विशिष्ट र सशक्त कृतिका रूपमा पाठकवर्गले ग्रहण गरेकै छन् । त्यसैबीचमा प्रकाशित उनको अर्को उपन्यास 'जदौ मालिक'मा तराईका सीमान्तकृत रैतीका विवशता, जमिनदारी प्रथा, राणाकालीन शासकीय आडम्बर र अत्याचारको चित्र हामी पाउँछौं । सिग्देलका अन्य थुप्रै कविता-काव्य र उपन्यास प्रकाशित छन्, जो सबैको चर्चा यहाँ सम्भव भएन ।

सामाजिक विसंगति, वर्गीय पक्षधरता एवं सुधारवादी विचार । सिग्देलका अधिकांश रचनाका परिचायक तत्व यिनै हुन् । मानवीय संवेदना उनका उपन्यासमा देखिने अर्को प्रबल पक्ष हो । 'सारंगी'मा जन्मजात श्रवणविहीन÷वाक्विहीन बालकको मनोसंवेद्य पाटोको उजागर छ । प्रेम, समर्पण र अन्तर्सम्बन्धको तार पनि सारंगीमा कसिएको छ । सिरु र बलुको परस्पर त्याग एवं समर्पणभावले पाठकको मनमा रोमाञ्चकारी धुन सञ्चार गर्छ । तर, यो धुन बीचैमा अचानक फेरि नजोडिने गरी टुट्न पुग्छ । त्यसपछि पाठकको हिर्दयमा अर्कै नमज्जाको धुन बज्न पुग्छ ।

समाजमा गन्धर्वको स्थान कहाँनेर छ ? सारंगी कल्चर जोगाउने ठेक्का गन्धर्वको मात्रै हो ? किन यो संस्थागत हुन सकेन ? यस्ता अनेक प्रश्न यस उपन्यासका मननयोग्य पाटा हुन् । हाम्रो समाज वर्गमा विभाजित छ । वर्गीय आयामहरू छन्- जातीय, क्षेत्रीय, आर्थिक, राजनीतिक आदि । सारंगी यही वर्गीयताको पृष्ठभूमिमा सिर्जित सीमान्तकृत गन्धर्व समुदायको कथाव्यथा हो । कुनै पनि समाजको वर्गीय धरातल कसरी निर्माण हुन्छ ? कसरी कुनै जाति समाजको पिँधमै काइजस्तो जमेर बस्छ र कुनैचाहिँ सोही समाजको मालिक वा शासक हुन्छ ? निश्चय नै यसको उत्तर पाउन आयामिक कारणहरूको खोजी गर्नैपर्छ ।

समाजमा गन्धर्वको स्थान कहाँनेर छ ? सारंगी कल्चर जोगाउने ठेक्का गन्धर्वको मात्रै हो ? किन यो संस्थागत हुन सकेन ? यस्ता अनेक प्रश्न यस उपन्यासका मननयोग्य पाटा हुन् ।

तर, लेखकको निष्कर्ष छ- कुनै पनि जातिले आफ्नो उत्थान खोज्ने हो भने पहिला आफैंले आफैंलाई चिन्ने कोसिस गर्नैपर्छ । र, सदियौंदेखि बसिआएको हिलोबाट उठ्ने चेष्टा गर्नैपर्छ । सिरु भन्छे- हामीले समाजमा काम गरेर देखाउनुपर्छ, त्यसको प्रभाव समाजलाई बिस्तारै पर्छ, आज नभए भोलि पर्छ । यतिखेर म प्रसिद्ध समाजशास्त्री हर्टन कुलेको 'आत्मलाई हेर्ने ऐना' सिद्धान्त सम्झन्छु । जसअनुसार, प्रत्येक व्यक्तिले अरू कोहीको उपस्थितिमा मात्र आफ्नो अस्तित्वको निर्माण र मूल्यांकन गर्न सक्छ । प्रस्ट छ- उत्पीडन र भेदभाव राज्य÷समाजबाटै लादिएका विभेदकारी नीतिका दुष्फल हुन् । तर, जब यी विभेदले संस्कारकै रूप लिएर जरा बलियोसँग गाडिसकेका हुन्छन्, सितिमिति उखेल्न पनि गाह्रो हुन्छ । यो उखेल्न राज्य मात्रैले पनि सक्दैन र राज्यको सहयोगबिना व्यक्ति वा समुदायविशेष मात्रैले पनि गाह्रो पर्छ ।

सारंगीलाई मागिखाने भाँडोका रूपमा मात्रै बुझियो भने अन्याय हुन्छ भन्ने लेखकको मत बुझ्न गाह्रो छैन । तर विडम्बना, यसलाई 'कमण्डलु'कै रूपमा समाजले हेर्ने गरेको पाइन्छ । 'गाइने' नामले अपहेलित भई हीन जीवन बिताइरहेका गन्धर्व जातिको आत्मसम्मान र स्वाभिमान जगाउने चेष्टा लेखकले गरेका छन् । सिरु, बलु, बुधबारे बडाउजस्ता स्वाभिमानी पात्रको चयन यही ध्येयले गरिएको हो । उनीहरूका आत्मविश्वासले भरिएका तर्क, विचार एवं संघर्ष यसै सन्दर्भमा देखाइएका हुन् ।

सारंगीलाई संस्कृतिकै रूपमा संस्थागत गर्न पाए हुन्थ्यो भन्ने बुधबारे बडाउको धोको छ । यसो गर्न सके सारंगी गन्धर्व जातिको पहिचान त बन्छ नै, राष्ट्रकै लागि सम्पदा पनि बन्न सक्छ । उनको यो पवित्र सोचबाट प्रेरित छ बलु । र, बलुलाई यसरी स्वाभिमानको कोदालोले स्वउत्थानको मार्ग खन्नमा सघाउन उसकी श्रीमती सिरुले जीवनकै बलिदान दिएकी छे । सिरु आफंै पनि घर्ती समाजबाट आएकी जुझारु नारीपात्र हो ।

बलु उपन्यासको केन्द्रीय पात्रका रूपमा देखिन्छ । ऊ सादगी छ, स्वाभिमानी छ । उसमा त्याग, समर्पण, निष्कपट भावना र सहयोगी चरित्र छ । सिरुले गन्धर्व समाजमा भैंसी पालेर, सारंगी बेच्न लगाएर भए पनि आत्मनिर्भरतातिर उन्मुख गराउन खोजेकी छे । पुर्खाको थातथलो नछोड्न र त्यही माटोमा कर्म गरेर जीवनोत्थान गर्न उसले बलुलाई मार्गदर्शन गरेकी छे । सिरु र बलुको छाप सुन्तलीमा पनि परेको छ । तर, उसको लोग्ने बिन्दासलाई यस्ता स्वाभिमानका कुरै मन पर्दैनन् । ऊ मागेर खान सजिलो ठान्छ र श्रीमती सुन्तलीलाई पनि याचना गरीगरी माग्ने काममा अह्राउँछ, तर सुन्तलीको आत्माले यो स्वीकार्नै सक्दैन ।

तर, सिरुको जीवनलीला बीच मार्गमै दुर्घटित गराएर लेखकले अवसुलाई उसको नासोका रूपमा अगाडि ल्याएका छन् । यहीँबाट उपन्यासको मुख्य घुम्ती सुरु हुन्छ । अवसुको जन्म भवितव्यले अनौठोसँग भएको छ । उसको जीवन समाजका अघि विचित्राले भरिपूर्ण देखिन्छ । श्रवण र लवजविहीन अवसुले सारंगीमार्फत दिएका मूच्र्छनामा सबै स्तब्ध हुन्छन् ।

बिथोविनजस्ता विश्वप्रसिद्ध संगीतकारलाई सुन्ने जोकोही पनि मुग्ध नभएका होओइनन् । आश्चर्य त तब हुन्छ, जब आममानिसलाई असामान्य लागेका कुरा विशेष मान्छेलाई सामान्य लाग्छन् । बीथोविन एक श्रवणविहीन कुशल संगीतज्ञ थिए । उनी जीवनको उत्तराद्र्धतिर बहिरा बन्न पुगेका थिए । संगीतमा पहिलेदेखि नै पर्फेक्ट थिए र त बीथोविनलाई चमत्कार गर्न श्रवणविहीनताले कुनै गाह्रो पारेन । तर, अवसु जन्मजात बहिरा हो, तापनि ऊ कलिलो उमेरमै संगीतमा मूच्र्छना दिन सफल छ । संगीतको 'स'पनि सुन्न÷पढ्न÷बोल्न नपाएको अवसुले सारंगीमा मुग्ध-सिम्फोनी भर्न सक्नु चमत्कारै हो । यो लेखकको कल्पना हो र एउटा जुक्ति पनि । सारंगीलाई 'कमण्डलु'बाट 'संस्कृति'को रूप दिन र त्यसप्रति आममानिसको ध्यान खिच्न लेखकले यसरी विचित्र पात्र सिर्जना गरेका हुन् भन्ने मलाई लाग्छ ।

बलुका पितापुर्खाले 'चलन जोगाउने' नाममा कुँवरकाजी र विष्टहरूका दैलोदैलो चहारे । सारंगी रेटे र याचनापूर्ण रूपमा दुई-चार मुठी अन्न प्राप्त गरे । (ऊ आफैंले पनि सोह्र वयको हुँदासम्म बाउको पछि लागेर आत्मालाई अर्काको दैलोमा निचोरको अनुभव सँगालेको छ ।) त्यहाँ उनीहरूले सतहमा जीवन सजिलैसँग बाँचिरहेजस्तो देखिए पनि आत्मालाई बारम्बार धनोले रेटेरै मारिरहे । जीवन यही फेरोमा घुमिरह्यो युगौं र निरर्थक माटोमा बिलाएर गयो । त्यहाँ के आश्चर्य भयो र ? न त्यो चलन गौरवमय संस्कृति बन्न सक्यो न आत्मसम्मानपूर्ण पेसा नै । समाज त सारंगीको यो अभ्यस्त धुन र मगन्ते दिनचर्यादेखि वाक्कदिक्क पनि छ ।

सारंगी कल्चरमा समाजलाई भिजाउन नयाँ जुक्ति चाहिएको छ । त्यसैको आवश्यकता हो- अद्भुत बालक अवसु । अवसु बाउले सिर्जेका सारंगीमा जीवन्त प्राण भर्न सक्षम छ, जसमा कुनै याचना छैन । समाजका सयकडौं कान उसको मूच्र्छना सुन्न आतुर हुन्छन् र नयाँनयाँ दृष्टि ऊमाथि पर्छन् । ऊ अर्थात् सारंगी । सारंगी माने अवसु । अवसुको प्राण सारंगी । उसको आवाज, हिर्दयको ध्वनि, उसको विचार र समग्रता नै सारंगी हो ।

उपन्यासको अर्को छुटाउनै नहुने पाटो बालमनोविज्ञानको हो । 'विशेष' बालकहरूको मनोविज्ञान र प्रतिभा पहिचानको विषय समाजकै लागि एक आवश्यक विषय हो । अवसु र उसको दाइ विसुबीचको नङ-मासुको सम्बन्ध । एउटालाई आघात पर्दा अर्कोको मनमा गएको भुइँचालो । तर, यो सम्बन्ध र मनोवैज्ञानिक पाटो समाजका अन्य पक्षले बुझ्न नसक्दाको परिणाम । यी सबैलाई उपन्यासले मिहिन ढंगले केलाउन खोजेको छ । यसबाहेक समाजमा विद्यमान अनेक विरोधाभास, न्यायप्रणालीमा रहेका छिद्र, परस्पर विपरीत चरित्र, द्वन्द्व÷संघर्ष, खलनायकत्वजस्ता तत्वलाई पनि उपन्यासले छुटाएको छैन ।

सारंगीमा लेखक सिग्देलको गम्भीर जीवनबोध र दर्शन पनि झंकृत भएको यत्रतत्र पाइन्छ । सबैले आफ्नो किरिया खर्चसम्म आफैंले कमाउँछन्, अति लोभ पनि मान्छेको दु:खको कारक हो, घट्टरूपी समयको भुमरीमा घुमिरहने जीवन, जीवनभरि अनेक आगोले जलिरहने र अन्तिम आगो भेट्न चितामा पुग्ने शरीर... जस्ता प्रसंगले उनको जीवनबोधी दर्शनको पुट दिन्छन् । तर, घटनालाई बढी व्याख्यात्मक बनाउन खोज्दा लेखक कतैकतै चिप्लिएका पनि छन् । शैलीमा एकरूपता छैन । कतै पूरै निबन्धात्मक, कतै काव्यिक÷दार्शनिक शैली । कतैकतै पात्रहरूको चेतनागत स्तर र उनीहरूले बोल्ने परिपक्व दार्शनिक संवादबीच तालमेल नमिलेको हो कि जस्तो पनि लाग्छ ।

विषयगत एवं पात्रगत विशिष्टता पनि आधुनिक पाठकको एक रोजाइ हुने गर्छ । अनेक दु:ख, घटना÷दुर्घटना र पात्रहरूले गुँथिएर उपन्यास छिटछिटो अघि बढ्दा कताकता नमज्जाजस्तो पनि बन्छ । सारंगीमा पनि उपन्यासको पूर्वाद्र्ध दुई पुस्ताका दु:ख र संघर्ष देखाउँदैमा छड्किएको छ । बल्ल तेस्रो पुस्तामा र विशेष पात्रमा केन्द्रित भई उपन्यास अन्त्यसम्म बगेको छ, सेती खोलाको पानीझैं । धरातलीय अवस्थाका कारण सेतीको पानी बग्दा कतै बिलाउँदै कतै भासिँदै त कतै सललल हुँदै बगेको छ । उपन्यास पनि यसैगरी विभिन्न घटना र भुँवरीमा घुम्दै सङ्लिँदै बगेको छ ।

उपन्यासको परिवेश कास्कीको बाटुलेचौर र त्यही आसपासको सेरोफेरो हो । त्यहाँको ऐतिहासिक गन्धर्व बस्ती यसको मूल फोकसमा छ । उपन्यासमा प्रशस्त संवाद दिइएको छ । संवादको भाषा आञ्चलिकताको स्वादले मीठो छ । गन्धर्व बस्तीको क्रमश: क्रमश: विस्थापन, पलायन, पुस्तैनी दु:ख र वञ्चना, लोप हुँदै गएको सारंगी-कल्चरप्रतिको चिन्ता एवं गन्धर्व समुदायको आत्मसम्मानपूर्ण जीवनको खोजी नै उपन्यासकारको मुख्य ध्येय रहेको देखिन्छ ।

किताब : सारंगी
लेखक : भुवनहरि सिग्देल
प्रकाशक : शिखा बुक्स
पृष्ठ : २५६
मूल्य : रु. ३५५


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.