सारंगी : संस्कृति कि कमण्डलु ?
'गन्धर्वका इष्ट भनेकै सारंगी हुन्, बलु ! तिनले गाम्ने गिद मलिला खेत हुन् । ती खेतमा मगन्ते विचार नउमार्न पाए हुने भन्ने सोच थियो मेरो केरे ।' - बुधबारे बडाउ (सारंगी, पृ. १२५) ।सारंगी, एक विशिष्ट प्रकारको लोकबाजा । यो मूलत: नेपाल, भारत र पाकिस्तानमा प्रचलित छ । नेपाली लोकजीवन र लोकभाकामा सारंगी गुञ्जिँदै आएको छ । तर, राष्ट्रिय बाजा हुनुपर्नेमा 'जातिविशेष'को बाजाका रूपमा खुम्चिएको छ । अर्थात् गन्धर्व भनेकै सारंगी, सारंगी भनेकै गन्धर्व ।
यही गन्धर्व समुदायलाई आधार बनाएर लेखिएको उपन्यास हो- 'सारंगी' । लेखक हुन्- भुवनहरि सिग्देल । सिग्देल कविका रूपमा विगतदेखि नै नेपाली काव्यमा परिचित र स्थापित नाम हो । आख्यानकारका रूपमा चाहिँ मैले सिग्देललाई ढिलो मात्र चिनेको हुँ । 'आमोई' नामक उनको औपन्यासिक कृति ०७२ सालका लागि मदन पुरस्कारको मनोनयनमा परेपछि उनी आमचर्चा र चासोको पात्र बने । आमोईलाई उनको विशिष्ट र सशक्त कृतिका रूपमा पाठकवर्गले ग्रहण गरेकै छन् । त्यसैबीचमा प्रकाशित उनको अर्को उपन्यास 'जदौ मालिक'मा तराईका सीमान्तकृत रैतीका विवशता, जमिनदारी प्रथा, राणाकालीन शासकीय आडम्बर र अत्याचारको चित्र हामी पाउँछौं । सिग्देलका अन्य थुप्रै कविता-काव्य र उपन्यास प्रकाशित छन्, जो सबैको चर्चा यहाँ सम्भव भएन ।
सामाजिक विसंगति, वर्गीय पक्षधरता एवं सुधारवादी विचार । सिग्देलका अधिकांश रचनाका परिचायक तत्व यिनै हुन् । मानवीय संवेदना उनका उपन्यासमा देखिने अर्को प्रबल पक्ष हो । 'सारंगी'मा जन्मजात श्रवणविहीन÷वाक्विहीन बालकको मनोसंवेद्य पाटोको उजागर छ । प्रेम, समर्पण र अन्तर्सम्बन्धको तार पनि सारंगीमा कसिएको छ । सिरु र बलुको परस्पर त्याग एवं समर्पणभावले पाठकको मनमा रोमाञ्चकारी धुन सञ्चार गर्छ । तर, यो धुन बीचैमा अचानक फेरि नजोडिने गरी टुट्न पुग्छ । त्यसपछि पाठकको हिर्दयमा अर्कै नमज्जाको धुन बज्न पुग्छ ।
समाजमा गन्धर्वको स्थान कहाँनेर छ ? सारंगी कल्चर जोगाउने ठेक्का गन्धर्वको मात्रै हो ? किन यो संस्थागत हुन सकेन ? यस्ता अनेक प्रश्न यस उपन्यासका मननयोग्य पाटा हुन् । हाम्रो समाज वर्गमा विभाजित छ । वर्गीय आयामहरू छन्- जातीय, क्षेत्रीय, आर्थिक, राजनीतिक आदि । सारंगी यही वर्गीयताको पृष्ठभूमिमा सिर्जित सीमान्तकृत गन्धर्व समुदायको कथाव्यथा हो । कुनै पनि समाजको वर्गीय धरातल कसरी निर्माण हुन्छ ? कसरी कुनै जाति समाजको पिँधमै काइजस्तो जमेर बस्छ र कुनैचाहिँ सोही समाजको मालिक वा शासक हुन्छ ? निश्चय नै यसको उत्तर पाउन आयामिक कारणहरूको खोजी गर्नैपर्छ ।
समाजमा गन्धर्वको स्थान कहाँनेर छ ? सारंगी कल्चर जोगाउने ठेक्का गन्धर्वको मात्रै हो ? किन यो संस्थागत हुन सकेन ? यस्ता अनेक प्रश्न यस उपन्यासका मननयोग्य पाटा हुन् ।
तर, लेखकको निष्कर्ष छ- कुनै पनि जातिले आफ्नो उत्थान खोज्ने हो भने पहिला आफैंले आफैंलाई चिन्ने कोसिस गर्नैपर्छ । र, सदियौंदेखि बसिआएको हिलोबाट उठ्ने चेष्टा गर्नैपर्छ । सिरु भन्छे- हामीले समाजमा काम गरेर देखाउनुपर्छ, त्यसको प्रभाव समाजलाई बिस्तारै पर्छ, आज नभए भोलि पर्छ । यतिखेर म प्रसिद्ध समाजशास्त्री हर्टन कुलेको 'आत्मलाई हेर्ने ऐना' सिद्धान्त सम्झन्छु । जसअनुसार, प्रत्येक व्यक्तिले अरू कोहीको उपस्थितिमा मात्र आफ्नो अस्तित्वको निर्माण र मूल्यांकन गर्न सक्छ । प्रस्ट छ- उत्पीडन र भेदभाव राज्य÷समाजबाटै लादिएका विभेदकारी नीतिका दुष्फल हुन् । तर, जब यी विभेदले संस्कारकै रूप लिएर जरा बलियोसँग गाडिसकेका हुन्छन्, सितिमिति उखेल्न पनि गाह्रो हुन्छ । यो उखेल्न राज्य मात्रैले पनि सक्दैन र राज्यको सहयोगबिना व्यक्ति वा समुदायविशेष मात्रैले पनि गाह्रो पर्छ ।
सारंगीलाई मागिखाने भाँडोका रूपमा मात्रै बुझियो भने अन्याय हुन्छ भन्ने लेखकको मत बुझ्न गाह्रो छैन । तर विडम्बना, यसलाई 'कमण्डलु'कै रूपमा समाजले हेर्ने गरेको पाइन्छ । 'गाइने' नामले अपहेलित भई हीन जीवन बिताइरहेका गन्धर्व जातिको आत्मसम्मान र स्वाभिमान जगाउने चेष्टा लेखकले गरेका छन् । सिरु, बलु, बुधबारे बडाउजस्ता स्वाभिमानी पात्रको चयन यही ध्येयले गरिएको हो । उनीहरूका आत्मविश्वासले भरिएका तर्क, विचार एवं संघर्ष यसै सन्दर्भमा देखाइएका हुन् ।
सारंगीलाई संस्कृतिकै रूपमा संस्थागत गर्न पाए हुन्थ्यो भन्ने बुधबारे बडाउको धोको छ । यसो गर्न सके सारंगी गन्धर्व जातिको पहिचान त बन्छ नै, राष्ट्रकै लागि सम्पदा पनि बन्न सक्छ । उनको यो पवित्र सोचबाट प्रेरित छ बलु । र, बलुलाई यसरी स्वाभिमानको कोदालोले स्वउत्थानको मार्ग खन्नमा सघाउन उसकी श्रीमती सिरुले जीवनकै बलिदान दिएकी छे । सिरु आफंै पनि घर्ती समाजबाट आएकी जुझारु नारीपात्र हो ।
बलु उपन्यासको केन्द्रीय पात्रका रूपमा देखिन्छ । ऊ सादगी छ, स्वाभिमानी छ । उसमा त्याग, समर्पण, निष्कपट भावना र सहयोगी चरित्र छ । सिरुले गन्धर्व समाजमा भैंसी पालेर, सारंगी बेच्न लगाएर भए पनि आत्मनिर्भरतातिर उन्मुख गराउन खोजेकी छे । पुर्खाको थातथलो नछोड्न र त्यही माटोमा कर्म गरेर जीवनोत्थान गर्न उसले बलुलाई मार्गदर्शन गरेकी छे । सिरु र बलुको छाप सुन्तलीमा पनि परेको छ । तर, उसको लोग्ने बिन्दासलाई यस्ता स्वाभिमानका कुरै मन पर्दैनन् । ऊ मागेर खान सजिलो ठान्छ र श्रीमती सुन्तलीलाई पनि याचना गरीगरी माग्ने काममा अह्राउँछ, तर सुन्तलीको आत्माले यो स्वीकार्नै सक्दैन ।
तर, सिरुको जीवनलीला बीच मार्गमै दुर्घटित गराएर लेखकले अवसुलाई उसको नासोका रूपमा अगाडि ल्याएका छन् । यहीँबाट उपन्यासको मुख्य घुम्ती सुरु हुन्छ । अवसुको जन्म भवितव्यले अनौठोसँग भएको छ । उसको जीवन समाजका अघि विचित्राले भरिपूर्ण देखिन्छ । श्रवण र लवजविहीन अवसुले सारंगीमार्फत दिएका मूच्र्छनामा सबै स्तब्ध हुन्छन् ।
बिथोविनजस्ता विश्वप्रसिद्ध संगीतकारलाई सुन्ने जोकोही पनि मुग्ध नभएका होओइनन् । आश्चर्य त तब हुन्छ, जब आममानिसलाई असामान्य लागेका कुरा विशेष मान्छेलाई सामान्य लाग्छन् । बीथोविन एक श्रवणविहीन कुशल संगीतज्ञ थिए । उनी जीवनको उत्तराद्र्धतिर बहिरा बन्न पुगेका थिए । संगीतमा पहिलेदेखि नै पर्फेक्ट थिए र त बीथोविनलाई चमत्कार गर्न श्रवणविहीनताले कुनै गाह्रो पारेन । तर, अवसु जन्मजात बहिरा हो, तापनि ऊ कलिलो उमेरमै संगीतमा मूच्र्छना दिन सफल छ । संगीतको 'स'पनि सुन्न÷पढ्न÷बोल्न नपाएको अवसुले सारंगीमा मुग्ध-सिम्फोनी भर्न सक्नु चमत्कारै हो । यो लेखकको कल्पना हो र एउटा जुक्ति पनि । सारंगीलाई 'कमण्डलु'बाट 'संस्कृति'को रूप दिन र त्यसप्रति आममानिसको ध्यान खिच्न लेखकले यसरी विचित्र पात्र सिर्जना गरेका हुन् भन्ने मलाई लाग्छ ।
बलुका पितापुर्खाले 'चलन जोगाउने' नाममा कुँवरकाजी र विष्टहरूका दैलोदैलो चहारे । सारंगी रेटे र याचनापूर्ण रूपमा दुई-चार मुठी अन्न प्राप्त गरे । (ऊ आफैंले पनि सोह्र वयको हुँदासम्म बाउको पछि लागेर आत्मालाई अर्काको दैलोमा निचोरको अनुभव सँगालेको छ ।) त्यहाँ उनीहरूले सतहमा जीवन सजिलैसँग बाँचिरहेजस्तो देखिए पनि आत्मालाई बारम्बार धनोले रेटेरै मारिरहे । जीवन यही फेरोमा घुमिरह्यो युगौं र निरर्थक माटोमा बिलाएर गयो । त्यहाँ के आश्चर्य भयो र ? न त्यो चलन गौरवमय संस्कृति बन्न सक्यो न आत्मसम्मानपूर्ण पेसा नै । समाज त सारंगीको यो अभ्यस्त धुन र मगन्ते दिनचर्यादेखि वाक्कदिक्क पनि छ ।
सारंगी कल्चरमा समाजलाई भिजाउन नयाँ जुक्ति चाहिएको छ । त्यसैको आवश्यकता हो- अद्भुत बालक अवसु । अवसु बाउले सिर्जेका सारंगीमा जीवन्त प्राण भर्न सक्षम छ, जसमा कुनै याचना छैन । समाजका सयकडौं कान उसको मूच्र्छना सुन्न आतुर हुन्छन् र नयाँनयाँ दृष्टि ऊमाथि पर्छन् । ऊ अर्थात् सारंगी । सारंगी माने अवसु । अवसुको प्राण सारंगी । उसको आवाज, हिर्दयको ध्वनि, उसको विचार र समग्रता नै सारंगी हो ।
उपन्यासको अर्को छुटाउनै नहुने पाटो बालमनोविज्ञानको हो । 'विशेष' बालकहरूको मनोविज्ञान र प्रतिभा पहिचानको विषय समाजकै लागि एक आवश्यक विषय हो । अवसु र उसको दाइ विसुबीचको नङ-मासुको सम्बन्ध । एउटालाई आघात पर्दा अर्कोको मनमा गएको भुइँचालो । तर, यो सम्बन्ध र मनोवैज्ञानिक पाटो समाजका अन्य पक्षले बुझ्न नसक्दाको परिणाम । यी सबैलाई उपन्यासले मिहिन ढंगले केलाउन खोजेको छ । यसबाहेक समाजमा विद्यमान अनेक विरोधाभास, न्यायप्रणालीमा रहेका छिद्र, परस्पर विपरीत चरित्र, द्वन्द्व÷संघर्ष, खलनायकत्वजस्ता तत्वलाई पनि उपन्यासले छुटाएको छैन ।
सारंगीमा लेखक सिग्देलको गम्भीर जीवनबोध र दर्शन पनि झंकृत भएको यत्रतत्र पाइन्छ । सबैले आफ्नो किरिया खर्चसम्म आफैंले कमाउँछन्, अति लोभ पनि मान्छेको दु:खको कारक हो, घट्टरूपी समयको भुमरीमा घुमिरहने जीवन, जीवनभरि अनेक आगोले जलिरहने र अन्तिम आगो भेट्न चितामा पुग्ने शरीर... जस्ता प्रसंगले उनको जीवनबोधी दर्शनको पुट दिन्छन् । तर, घटनालाई बढी व्याख्यात्मक बनाउन खोज्दा लेखक कतैकतै चिप्लिएका पनि छन् । शैलीमा एकरूपता छैन । कतै पूरै निबन्धात्मक, कतै काव्यिक÷दार्शनिक शैली । कतैकतै पात्रहरूको चेतनागत स्तर र उनीहरूले बोल्ने परिपक्व दार्शनिक संवादबीच तालमेल नमिलेको हो कि जस्तो पनि लाग्छ ।
विषयगत एवं पात्रगत विशिष्टता पनि आधुनिक पाठकको एक रोजाइ हुने गर्छ । अनेक दु:ख, घटना÷दुर्घटना र पात्रहरूले गुँथिएर उपन्यास छिटछिटो अघि बढ्दा कताकता नमज्जाजस्तो पनि बन्छ । सारंगीमा पनि उपन्यासको पूर्वाद्र्ध दुई पुस्ताका दु:ख र संघर्ष देखाउँदैमा छड्किएको छ । बल्ल तेस्रो पुस्तामा र विशेष पात्रमा केन्द्रित भई उपन्यास अन्त्यसम्म बगेको छ, सेती खोलाको पानीझैं । धरातलीय अवस्थाका कारण सेतीको पानी बग्दा कतै बिलाउँदै कतै भासिँदै त कतै सललल हुँदै बगेको छ । उपन्यास पनि यसैगरी विभिन्न घटना र भुँवरीमा घुम्दै सङ्लिँदै बगेको छ ।
उपन्यासको परिवेश कास्कीको बाटुलेचौर र त्यही आसपासको सेरोफेरो हो । त्यहाँको ऐतिहासिक गन्धर्व बस्ती यसको मूल फोकसमा छ । उपन्यासमा प्रशस्त संवाद दिइएको छ । संवादको भाषा आञ्चलिकताको स्वादले मीठो छ । गन्धर्व बस्तीको क्रमश: क्रमश: विस्थापन, पलायन, पुस्तैनी दु:ख र वञ्चना, लोप हुँदै गएको सारंगी-कल्चरप्रतिको चिन्ता एवं गन्धर्व समुदायको आत्मसम्मानपूर्ण जीवनको खोजी नै उपन्यासकारको मुख्य ध्येय रहेको देखिन्छ ।
किताब : सारंगी
लेखक : भुवनहरि सिग्देल
प्रकाशक : शिखा बुक्स
पृष्ठ : २५६
मूल्य : रु. ३५५
प्रतिक्रिया दिनुहोस !