ट्राउट हब बन्दै मेलम्ची करिडोर
सिन्धुपाल्चोक : प्राकृतिक रूपमा असला, कत्लेलगायत प्रजातीका माछा पाइने मेलम्ची खोलाको किनार विस्तारै ट्राउट हब बन्न थालेको छ। एक दशकअघि साविक पाल्चोक गाविसका पूर्वअध्यक्ष रामबहादुर खड्काले लाङ्टाङ रेन्बो ट्राउट फार्म सुरु गरेसँगै राजधानी बासीको तिर्खा मेट्ने मेलम्ची खोलाको किनार ट्राउट फार्मले भरिन लागेको हो। खड्काले सुरु गरेको दुई वर्षपछि चनौटेका ज्ञानेन्द्र कक्षपतीले हेलम्बु ट्राउट फार्म सुरु गरेपछि क्रमसः बढ्दै गएको फर्म तालामाराङदेखि हेलम्बुको तिम्बुसम्म नौ वटा पुगेका छन्। तातोपानी र हैबुङ समेत गरी सिन्धुपाल्चोकमा ११ वटा रेन्बो ट्राउट फार्म सञ्चालनमा छन्।
अमेरिका जाने मनस्थिति परिवर्तन गरी सिताके च्याउ खेती गर्ने सोच बनाएका खड्काको गाडीमा भेटिएका ट्राउट प्रवद्र्धक डा.टेकबहादुर गुरुङले मन परिवर्तन गरिदिए। गुरुङकै सल्लाहमा दुई सय माउबाट ट्राउटपालन सुरु गरेका खड्काको प्राविधिक सीपको अभावमा झण्डै दुई वर्ष निरासामा बित्यो। ‘तेस्रो वर्ष उत्पादन राम्रो भए पनि बजार समस्याले सतायो', खड्का स्मरण गर्छन्,‘होटल र घर चहारेर बजार खोज्नु पथ्र्यो अहिले त्यो समस्या छैन उत्पादनले माग धान्न मुस्किल छ।'
अमेरिका जाने सोच त्यागेका खड्का अहिले अमेरिकाको कमाइ यहीँ गर्न थालेको बताउँछन्। बिचमा भूकम्पले फर्म तहस नहस पारे पनि अहिले पहिलेकै अवस्थामा आएको खड्काले बताए। खड्काले १२ वर्ष अघि मेलम्ची किनारमा रेन्बो ट्राउट माछापालन सुरु गर्दा स्थानीय अचम्भित भएका थिए। असला र कत्ले माछा पाइने मेलम्ची खोलाको किनारमा लाखौं रुपैया खर्चेर खड्काले ट्राउट फार्म सुरु गरेका हुन्। ‘दुई वर्ष घाटा व्यहोर्दा गाउँलेले खिसी गरे', खड्का भन्छन्, ‘कमाइ राम्रो हुन थालेपछि अरु यसमा आकर्षित भए।'
तातोपानी र हैबुङ समेत गरी सिन्धुपाल्चोकमा ११ वटा रेन्बो ट्राउट फार्म सञ्चालनमा छन्।
खड्काले सुरु गरेको व्यवसायबाट जब आम्दानी हुन थाल्यो चकित स्थानीय आफै हौसिए। पाल्चोक बेसीको लह लह धान फल्ने खेतमा खड्काले सुरु गरेको लाङटाङ रेन्बो ट्राउट फर्ममा फस्टाएको व्यवसाय देखेपछि तातोपानी र हैबुङमा खड्काकै फर्मबाट भुरा किनेर फर्म सुरु भयो। त्यसको तीन वर्षपछि स्थानीय ज्ञानेन्द्र कक्षपतिले तिम्बुमा हेलम्बु रेन्बो ट्राउट फार्म सुरु गरे।
कक्षपतिले वर्ष अघि अर्को फर्म हेलम्बुकै घट्टे खोलामा पोखरी सुरु गरेर उत्पादन बिक्री गर्न थालिसकेका छन्। ‘फर्ममै आएर माछा लानेको संख्या बढेको छ, बजार खोज्दै जानु पर्दैन ग्राहक आफै आउँछन्', घट्टे खोलामा माछाको स्याहार गर्दै गरेका कक्षपतिले भने, ‘फर्म जति बढेपनि विगतको जस्तो समस्या छैन।' कक्षपतिको फर्मपछि क्रमस ग्याल्थुम, किउल लगायत ठाउँमा झण्डै पाँच करोड लगानीमा नौ वटा फार्म सञ्चालनमा रहेको कक्षपतिले जानकारी दिए।
मेलम्ची आयोजना सम्पन्न भएपछि पर्याप्त पानी खोलामा छाडिन्छ छाडिन्न भन्ने चिन्तामा ट्रउट व्यवसायी देखिन्छन्। पानी पर्याप्त भएन भने व्यवसाय छाड्नुपर्ने हो की भन्ने चिन्ता उनीहरूमा देखिन्छ। मेलम्ची खोलाको पानी अनिश्चित भएकै कारण कक्षपतिले घट्टे खोलामा अर्को फर्म सुरु गरेका हुन्।
हेलम्बुको घट्टे खोलामा रहेको ज्ञानेन्द्र कक्षपतिको ट्राउट फार्म। अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस !