वैदेशिक रोजगार : पीडित परिवारलाई आर्थिक सहयोग

वैदेशिक रोजगार : पीडित परिवारलाई आर्थिक सहयोग

काठमाडौं : वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका पीडितका परिवार र अंगभंग हुनेलाई सरकारले हालसम्म एक अर्ब ३७ करोड रूपैयाँ राहत रकम उपलब्ध गराएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले यस आर्थिक वर्षमा पीडित परिवार र अंगभंग भएका पाँच सय ८१ जनालाई राहात स्वरूप ३० करोड ९० लाख ५० हजार रुपैयाँ सहायता उपलब्ध गराएको छ । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार फागुन मसान्तसम्म पाँच सय ८१ ले आर्थिक सहायता पाइसकेका छन् । जसमा पाँच सय ६७ पुरुष र १४ महिला छन् । साउनयता मात्रै वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय ४५ को अंगभंग भएका छन् । बोर्डले उनीहरूका लागि चार करोड सात लाख १९ हजार एक सय ४० रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

अहिलेसम्म बोर्डले यो शीर्षकमा १२ करोड तीन लाख सात सय ५२ रुपैयाँ सहायताबापत रकम उपलब्ध गराएको बोर्डका कार्यकारी निर्देशक काफ्लेले बताए । उनका अनुसार अहिलेसम्म बोर्डमा अंगभंग भएको भनि एक हजार ६२ वटा निवेदन परेका छन् ।

सरकारले चालू आर्थिक वर्षका लागि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेका परिवारलाई ७० करोड र अंगभंग हुनेलाई १५ करोड आर्थिक सहायता उपलब्ध गराउने भनि ८५ करोड रकम विनियोजन गरेको थियो ।

विनियोजित रकमबाट बिहीबारसम्म ३१ करोड रकम वितरण भइसकेको छ । अब बोर्डसँग ५४ करोड रुपैयाँ बाँकी रहेको बोर्डका कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए ।

यसरी वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये झन्डै १२ सयले ज्यान गुमाउने गरेको बोर्डले बताएको छ । श्रम स्वीकृति फेल भएपछि मृत्यु हुने कामदारको तथ्यांक बोर्डसँग नभएको उनले उल्लेख गरे ।

श्रम स्वीकृति बाँकी रहेका कामदारले ज्यान गुमाएमा पीडित परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट आर्थिक सहायता पाउने गरेका छन् । उनीहरूले विदेश जानुपूर्व कल्याणकारी कोषमा एक हजार रुपैयाँ जम्मा गर्ने गरेका हुन्छन् ।

प्रवद्र्धन बोर्डसँग २०६५ साल कात्तिक १८ गतेभन्दा अगाडिको तथ्यांक नभएको नासु दीलिप खड्काले बताए । उनका अनुसार बोर्डको स्थापना भएदेखि बिहीबारसम्म बोर्डमा निवेदन दिएकामध्ये अधिकांशले आर्थिक सहायता पाएका छन् ।

केहीले आर्थिक सहायताका लागि निवेदन दिए पनि आवश्यक प्रक्रिया पूरा नगरेकाले आर्थिक सहायता पाउन नसकेको उनले बताए । वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ ‘घ’ मा उल्लेख भए अनुसार र वैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ बमोजिम वैदेशिक रोजगारमा गई मृत्यु भएका कामदारका परिवारलाई प्रक्रिया पूरा भएको अवस्थामा सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ ।

यसका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई गएको, करार अवधिभित्र मृत्यु भएको, मृत्यु भएको प्रमाणित भएको एक वर्षभित्र मृतक कामदारको हकवालाले बोर्डको सचिवालयमा निवेदन पेस गरेको हुनुपर्ने प्रावधान छ ।

आत्महत्या गर्नेमा मलेसिया गएका नेपाली कामदार बढी छन् । धेरै कमाउने सोचका साथ बिदेसिएका नेपाली मजदुरमध्ये कतिपयले राम्रो तलब नभएका कारण पनि आत्महत्या गर्ने गरेको बोर्डले जानकारी दिएको छ । कतिपयले राम्रै पैसा कमाए पनि कुनै किसिमले त्यो रकम जतन हुन नसक्दा पनि आत्महत्या गर्ने गरेको पाइएको छ । तर, नेपालीले विदेशमा किन आत्महत्या गर्छन् यसबारे अनुसन्धान गर्न जरुरी रहेको नासु खड्काले बताए ।

कामका लागि बिदेसिएका युवाले विदेशी भूमिमै आत्महत्या गर्ने क्रम पछिल्लो समय बढेको छ । पैसा कमाउने महत्वाकांक्षा बोकेर बिदेसिनेहरूले विदेशी भूमिमा दुःख पाएपछि आत्महत्या गर्ने गरेको भेटिएको छ । खड्काका अनुसार परिवारले पनि नभन्ने हुँदा सबैको कारण खुल्न सक्दैन ।

बिदेसिएका युवाको पारिवारिक बिग्रहका कारण पनि विदेशमा आत्महत्या हुने दर बढेको जानकारहरू बताउँछन् । काममा सन्तुष्टि नमिलेपछि मानसिक रूपमा कमजोर हुनेहरू डिप्रेसनमा जाने र आत्महत्याको बाटो रोज्ने गरेको पाइएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.