विद्युतको तार सर्ट हुँदा घरमा आगलागी
टेकबहादुर शाही
डोल्पा : डोल्पाको ठूलीभेरी नगरपालिका ३ दुनैमा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी भएको छ। दुनैको मिलन चोकमा रहेको कमल बरुवालको ३ तले घरमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ६ लाख पचार हजार बराबरको क्षति भएको छ।
शनिबार दिउँसो अचानक विद्युतको तार सर्ट भएपछि आगालागी भएको थियो। अकस्मात घरको ढोका र झयालमा धुवा देखिएपछि घर खाली गर्ने प्रयास भएको थियो। यद्यपी केही सामान झिक्न नसक्दै आगो फैलिएको प्रत्यक्षदर्शी छिमेकी पदमबहादुर शाहीले बताए। स्थानीयले आगो नियन्त्रणको प्रयास गर्दै गर्दा सेना र प्रहरी पुगेर आगो निभाएको थियो।
भान्साको तार सर्ट भएर लागेको आगोले भान्साकोठा, पसल र अन्य कोठामा समेत क्षति पुगेको पीडित कमल बरुवालले जानकारी दिए। उलने भने, ‘हामी बाहिर बसेका थियौँ। विद्युतको प्रयोग पनि भएको थिएन। तर, एकाएक आगो कसरी लाग्यो थाहा नै भएन।’ आगलागी हुँदा ग्यासका सिलिण्डर, दराज, भाडा, लत्ता कपडा सबै जलेर नष्ट भएका छन्।
आगलागीबाट ६ लाख पचास हजारको मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए। कसरी विद्युत सर्ट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घरमा आगजनी भएपछि परिवारका सदस्य आफन्तको शरणमा बसेका छन्।
प्रतिक्रिया दिनुहोस !