देउवालाई निधिको पनि समर्थन
काठमाडौं : कांग्रेस सभापतिका उमेदवार शेरबहादुर देउवालाई विमलेन्द्र निधिले समर्थन गरेका छन् । मंगलबार बिहान निधि निवासमा भएको छलफल पश्चात दोस्रो चरणमा हुने निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए। सभापति उम्मेदवार प्रकाशमान सिंहले यस अगाडि नै समर्थन गरेको घोषणा गरेका थिए।
मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन्। कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए। सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७०२ मत प्राप्त गरेका छन्। प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २५०, कल्याण गुरुङले २२ मत ल्याएका छन् ।
पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ।
प्रतिक्रिया दिनुहोस !