सर्वोच्चको निर्णय अवज्ञा गर्दै व्यवसायी आन्दोलनमा
काठमाडौं : सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै रामेछापका व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। बीपी राजमार्गमा ठूला सवारी चलाउन माग गर्दै रामेछाप उद्योग वाणिज्य संघले सर्वोच्चको आदेशविरुद्ध कार्यक्रम घोषणा गरेको हो। व्यवसायीले बीपी राजमार्गमा ठूला मालबाहक सवारी चलाउन पाउने माग अघि सारेका छन्।
‘सरकारले बीपी राजमार्गमा ठूला गाडी चलाउन अनुमति दिएको छ। सरकारी निर्णयविरुद्ध सर्वोच्चले फैसला गर्दा रामेछापवासी मर्कामा परेका छन्’, संघका कार्यबाहक अध्यक्ष केशवप्रसाद घिमिरेले भने, ‘बाध्य भएर सर्वोच्चको आदेशविरुद्ध अन्दोलन गरिएको हो।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ १३ गते बीपी राजमार्गमा ठूला सवारी गुडाउन दिने निर्णय गरेको थियो। मन्त्रालयले ४२ सय २५ एमएम ह्विल बेस र १६ हजार दुई सय टन क्षमताका मालबाहक सवारीलाई पनि रुट इजाजत दिने निर्णय गरेको थियो। राजमार्गमा १८ सिट क्षमताका यात्रुबाहक सवारी र १० हजार टन क्षमताका मालबाहक सवारीले मात्र रुट इजाजत पाउँदै आएका थिए। सरकारी निर्णयले सडक दुर्घटना बढ्ने र दोहोरो सवारी आवतजावतमा समस्या पर्ने भन्दै सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।
तर, जटिल भौगोलिक संरचना र सडकको चौडाई चार मिटर मात्र भएकाले सवारी दुर्घटना बढ्न सक्ने भन्दै सर्वोच्चले बीपी राजमार्गमा ठूला सवारी चलाउने निर्णय तत्काल कार्यान्वयनमा नल्याउन आदेश दिएको थियो।
ठूला गाडी गुड्दा हुन सक्ने सम्भावित जनधनको क्षति रोक्न सर्वोच्चले आदेश दिएको हो। तर, सर्वोच्चको आदेशले स्थानीयवासी मर्कामा परेको भनेर रामेछापका व्यवसायी आन्दोलनमा उत्रेका हुन्। व्यवसायीले जेठ २९ गते विहान ९ बजेदेखि ११ बजेसम्म प्लेकार्डसहित मन्थली बजारमा मौन जुलुस गरेको थियो। उनीहरू बुधबार ९ बजेदेखि ११ बजेसम्म आ–आफ्नो व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए। बिहीबार ९ बजेदखि ११ बजेसम्म मोटरबाइक र सामानसहित मन्थली बजारमा जुलुस गर्ने कार्यक्रम छ। यस्तै असार १ गते डोकोमा सामान लिएर र २ गते सिठी जुलुस गर्ने कार्यक्रम घोषणा गरेका छन्।
बीपी राजमार्ग नेपालकै सबैभन्दा बढी लागतमा निर्माण गरिएको सडक हो। २६ अर्ब रुपैयाँको लागानीमा सडक निर्माण गरिएको थियो। सडकमा सरदर प्रतिकिलोमिटर १९ करोड रुपैयाँ खर्च भएको देखिन्छ। बीपी राजमार्ग खण्डको काठमाडौं धुलिखेल नेपालथोक हुँर्दै खुर्कोटसम्म भने सामान्य रूपमा केही ठूला गाडी चल्न सक्छन्। खुर्कोटबाट मन्थली जाने र सगरमाथा अञ्चलको घुर्मी जाने सडक जोडने विन्दु र त्यहाँसम्म मोड कम र फराकिलो सडक भएकाले ठूला गाडी चलिरहेका छन्।
धुलिखेल–खुर्कोट खण्ड भएर चल्ने सवारीले रामेछापवासीको माग सम्बोधन नगर्ने घिमिरे बताउँछन्। ‘रामेछाप अहिले भूकम्पबाट ध्वस्त भएको संरचनाको पुनःनिर्माणको क्रममा छ, आवश्यक निर्माण सामग्री तराईबाट ल्याउनुपर्ने हुन्छ’, उनले भने, ‘काठमाडौंको बाटो भएर ल्याउँदा प्रतिकिलो पाँच रुपैयाँसम्म महँगो पर्छ।’
जैविक विविधता, भू–धरातल, चट्टान कटान नगरी पर्खाल लगाएर निर्माण गरिएको बीपी राजमार्गको खुर्कोट–सिन्धुलीमाढी सडकमा १८ सिट क्षमता र १० टनभन्दा धेरै तौलका सवारी चलाउन नहुने प्राविधिकहरूले सुझाव दिएका थिए। प्राविधिकहरुका अनुसार प्राय सबैजसो ठाउँमा सडक चार मिटर चौडा रहेको, मोड धेरै भएकाले सडक सुरक्षा र सवारी दुर्घटनाबाट बच्न ठूला तथा धेरै तौल भएका गाडी चलाउन नमिल्ने भएको हो।
बीपी राजमार्ग निर्माणका क्रममा नेपालमै पहिलो पटक नयाँ प्रविधिको रूपमा ‘सटक्रिट’ र ‘जियोटेक’ प्रविधि प्रयोग गरी सडक निर्माण भएको छ। पहिरोलाई नियन्त्रण गर्न सटक्रिट–सिमेन्ट छाप्ने कार्य र पहरो तथा थलथल जमिनमा सडक निर्माण गर्न जियोटेक प्रविधि प्रयोग भएको छ। प्राविधिकका अनुसार यो सडक निर्माण गर्दा सडकको अवस्था सुधार गर्न धेरै खर्च लाग्छ। १० टनभन्दा भारी सवारी नचलाउन सुझाव दिइसकेको अवस्थामा ठूला सवारी सञ्चालन गरिएमा सडक बिग्रिनुका साथै सडक साँघुरो भएकाले सवारी चापका कारण दुर्घटना बढ्न सक्ने प्राविधिकहरू बताउँछन्।