ठेकेदारको लापरवाही : दुई वर्षमा पनि भवन बनेन्
भोजपुर : निर्माणको काम थालेको दुई वर्ष वितिसक्दा पनि साल्पासिलिछो गाउँपालिका-३ चौकीडाँडास्थित जाल्पा माध्यमिक विद्यालयको भवन बन्न सकेको छैन।ठेकेदारले मोटो रकम लिएर बिचमै काम अलपत्र पारेपछि भवन निर्माणको काम अलपत्र परेको हो।
भवनको भित्री र बाहिरी रंगरोहनबाहेक २ तला प्लास्टर गरी निर्माण काम सम्पन्न गर्ने सम्झौताका साथ निर्माण गर्ने जिम्मेवारी लिएका कुमार गुरुङले एकतला मात्र भवनको प्लास्टर सकेर कुल लागतको ४९ लाख ६८ हजार अग्रिम भुक्तानी रकम लिई अगाडीको काम ठप्प पारेको विद्यालयका संयोजक विरेन्द्र राईको आरोप छ। उनले भने, 'हामीले पटकपटक आग्रह गर्दासम्म गुरुङले काम आलटाल गर्दै एकतला भवनको मात्र काम सकी भुक्तानी पैंसा लिएर गएपछि भवनको निर्माण कार्य अव्यवस्थित बनेको हो। धेरै ताकेता गर्दासम्म निर्माण काम अगाडी बढेन।'
जिल्ला शिक्षा कार्यालयको ४८ लाख बजेट र विद्यालयको आन्तरिक श्रोतबाट जुटाइएको १४ लाख गरी कुल ६२ लाखको लागतमा विद्यालय व्यवस्थापन समिति र स्थानीय उपभोक्ताले निर्माण व्यवसायीसँग ०७३ साल पुसमा एकवर्षभित्र उक्त २ तले भवन सक्नेगरी सम्झौता गरिएकोमा गुरुङले एकतला मात्र भवनको काम सकेर ४९ लाख ६८ हजार भुक्तानी लिएका थिए।
०७४ असार मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने समयावधिमा आलटाल गर्दै गुरुङले ०७४ पुषसम्म मात्र एक तलाको ढलान गरी त्यसै छाडेका थिए। पछि माघबाट भवनको दोश्रो तलाको काम शून्य बनाएर गुरुङ दिङ्लास्थित अर्कै ठेक्का लिई काम गरिरहेको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष शिवबहादुर अधिकारी बताए। उनी भन्छन्, ' सम्पर्क गर्दा हुन्छ,हुन्छ मात्रै भनेर टार्छन्।'
०७५ सालको जेठमा पनि काम अगाडी बढ्ने कुनै छाँटकाँट नदेखिएपछि व्यावस्थापन समितिले विद्यालयको भौतिक संरचनाको आवश्यकतालाई नियालेर ७० फिट लम्बाई, ३८ चौडाई क्षेत्रफलमा निर्माणधिन उक्त ६ कोठे विद्यालय भवनको दोश्रो तला तत्काल थप्ने र निर्माण कार्यपश्चात ठेकेदारलाई निकासा गरेको अग्रिम भुक्तानी रकमको मूल्याङ्कन गरी फिर्ता लिने सहमतिमा स्थानीय कामदार लगाएर भवनको दोश्रो तलाको निर्माण काम सकाएको छ।
'हामीले गत सालको मंसिरमा पनि काम सुरु होला भनेर सोच्यौँ। तर सामान ल्याउन आनाकानी गर्ने, चाहेको सामान नल्याएरै काम ठप्प पार्यो। उनले थपे, ' अग्रिम भुक्तानी बढी लगेको देखिन्छ।काम गर्ने छाँटकाँट नदेखिएपछि व्यावस्थापन समितिले नै उपभोक्तासँग सहमति गरी काम अघि बढाइएको हो।'
३ सय ५० को हाराहारीमा विद्यार्थी रहेको उक्त विद्यालयमा पठनपाठन हुने तीनवटा जीर्ण भवनको सट्टा एउटा अस्थायी टहरो बनाएर पठनपाठन भइरहेको संयोजक राईले जानकारी दिए। उनका अनुसार विद्यालयले जीर्ण पुस्तकालयसहित ७ वटा विद्यालयको भवनमध्ये मुख्य भवनमा अस्थायी बरन्डा बनाएर ११ र १२ का विद्यार्थीलाई ऐच्छिक विषय पढाउने गरिन्छ।
प्रतिक्रिया दिनुहोस !