ई–रिक्साबाट रोजीरोटी धाैधाै
बिर्तामोड : झापा बुट्टाबारीका सुकुलाल राजवंशीले दुई वर्षअघि ऋण काढेर ब्याट्रीबाट चल्ने ई–रिक्सा खरिद गरे। ६ वर्षयता झापाको बिर्तामोड क्षेत्रमा रिक्सा कुदाउँदै आएका उनले त्यसपछि खुट्टाले पेल्नुपर्ने रिक्सा चलाउन छाडिदिए।
‘पाइडल घुमाएर चलाउनुपर्ने रिक्साको साटो यात्रुले ई–रिक्सा रोजेपछि खरिद नगरी सुखै भएन’, उनले भने, ‘तर, यसलाई पनि माथ खुवाउने गरी पेट्रोलबाट चल्ने टेम्पोले अप्ठेरो बनाइसक्यो।’ पाइडलवाला रिक्सामा यात्रु चढ्न छाडेजस्तै ई–रिक्साको हविगत अहिले उस्तै भएको उनको भनाइ छ।
उनले ई–रिक्साबाट एक वर्ष त मनग्य कमाइ गरे तर अहिले बजारमा पेट्रोलबाट चल्ने अटो रिक्सा (टेम्पो) आएपछि उनको व्यवसाय संकटमा पर्न लागेको छ। वातावरणमैत्री मानिएको ई–रिक्सा हिजोआज झापाका प्रमुख सहरमा संकटमा पर्न थालेका छन्। अटो रिक्साजति ई–रिक्सा दौडन नसक्ने, चार्ज कम भए ढिलो दौडने, उकालोमा नतान्ने भन्दै धेरै व्यवसायीले टेम्पोतिरै ध्यान मोडेका छन्। अहिले प्रदूषण गर्ने र इन्धनसमेत धेरै लाग्ने टेम्पोले बजार लिन थालेको जनाइएको छ। वातावरणमैत्री भनिएको ई–रिक्सा हिजोआज अटो रिक्साको पेलाइमा परेको चालक बताउँछन्।
ई–रिक्सा चालकको रोजी रोटी गुम्ने अवस्थामा पुगेको चालक डम्बर अधिकारी बताउँछन्। ‘बढी मिहिनेत र परि श्रम गर्दा पनि दैनिक गुजारा चलाउन मुस्किल परेको छ’, उनले भने, ‘ऋणपान गरेर ई–रिक्सा किनें अहिले अलिक बढी पैसा हुनेल ७ लाखसम्म हालेर टेम्पो किनेका छन्। हामीलाई त संकट हुने भयो।’ टेम्पोले बढीमा तीन जना मात्र र ई–रिक्साले ६ जनासम्म बोक्ने तथा वातावरणमैत्री पनि भएकाले स्थानीय तहले यसको संरक्षण दिन नीति नै ल्याउनुपर्ने उनको भनाइ छ।
दिनभरि ग्राहकको खोजीमा हिँड्दा पनि आफ्नो किस्ता र घरपरिवारको आवश्यकता पु¥याउन समस्या पर्ने गरेको अधिकांश ई–रिक्सा चालक बताउँछन्। धूलो धूवाँ, वर्षात्, धामपानीको परवाह नगरी पेसामा लाग्दा पनि आधारभूत आवश्यकता पूरा नभएकाले ई–रिक्साको विकल्प सोच्नुपर्ने बाध्यता भएको उनीहरूको तर्क छ। ‘पहिलेका पाइडलवाला रिक्सालाई ई–रिक्साले विस्थापन ग¥यो, अहिले अटो रिक्साका कारण हामी विस्थापित हुँदै छौं, अब प्रतिस्पर्धा गर्न पनि पेट्रोलबाट चल्ने अटो किन्ने सुरमा छु’, बिर्तामोड–५ पाथीभरा टोलका ई–रिक्सा चालक अमर सुनुवारले भने। अटो रिक्सा उकालो–ओरालो जहाँ पनि छिटो दौडन सक्ने भन्ने बुझाइका कारण पनि यात्रुले रुचाउने गरेको उनको भनाइ छ।
पेट्रोलबाट चल्ने अटो रिक्सा बजारमा आएपछि व्यवसाय संकटमा पर्न लागेको चालक बताउँछन्।
ई–रिक्सा अर्थात् सिटी सवारीलाई नै विस्थापित गर्ने गरी सरकारी संयन्त्रबाट मापदण्डविपरीत अटो रिक्सा सञ्चालन गर्न दिइएकाले आफ्नो पेसा संकटमा परेको उनीहरूको गुनासो छ। झापाका बिर्तामोड, भद्रपुर, दमक, झिलझिले, चारआलीलगायत सबै क्षेत्रमा अटो रिक्साकै संख्या बढी रहेको जनाइएको छ। चालु अवस्थामा रहेका अधिकांश ई–रिक्सा पनि अटो सोरुममा साटेर अटो कुदाउनेको संख्या बढ्न थालेको छ।
‘ई–रिक्सा नै ठीक थियो, टाढा जानुपरे बस, ट्याक्सी थिए, नजिकमा त्यसैले पु¥याउँथ्यो’, बिर्तामोड भद्रपुर रोडकी दीपा पौडेलले भनिन्, ‘धूवाँ पनि फाल्दैन, आवाज पनि आउँदैन तर कसैले त्यो सोचेनन् अहिले सहरभरि टेम्पो मात्र देखिन थालेको छ।’
यातायात व्यवस्था कार्यालयले पनि ई–रिक्सा र अटो रिक्साको तथ्यांकलाई एकै ठाउँ राख्ने गरेको छ। दुवै सवारी साधनको संख्या ५ हजारहाराहारी पुगेको यातायात कार्यालयले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार ३ हजारजति नयाँ अटो झापाका सडकमा दौडिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !