प्रश्नहरूको जञ्जालमा कविता उत्सव
प्रत्येक वर्षको असार ९ गतेलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आफ्नो जन्मजयन्तीको रूपमा मनाउँदै आएको छ। मूलतः यस दिन ‘राष्ट्रिय कविता उत्सव’ मनाउने परम्परा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले २०२२ सालेदिख थालेको थियो– जुन २०३२ सालसम्म कायम थियो भने २०३३ देखि २०४६ सम्म ‘राष्ट्रिय कविता महोत्सव’को रूपमा मनाइने गरियो। तर, देशमा बहुदलीयता प्रारम्भ भएपछि ०४८ देखि पुनः ‘राष्ट्रिय कविता उत्सव’को नाममै त्यसलाई कायम गरियो– जसको निरन्तरता आजको नेपाल प्रज्ञाप्रतिष्ठानबाट भइरहेको छ।
यसरी मनाइने गरिएको उक्त कविता उत्सवमा प्रतिष्ठानमार्फत तत्कालीन राजाबाट कुनै एउटा निश्चित शीर्षक ‘बक्स’ हुन्थ्यो र सो शीर्षकअन्तर्गत प्रतियोगितात्मक कविता आह्वान गरिन्थ्यो। तर ‘महोत्सव’लाई ‘उत्सव’ बनाएसँगसँगै एउटै शीर्षकमा कविता लेख्नुपर्ने परम्परालाई तोडेर ०४८ पछि स्वच्छन्द कविताको आह्वान गर्ने गरिएको छ। पहिलो कविता प्रतियोगितामा शीर्षक दिइएको थियो ‘नैतिकता’। र, सो प्रतियोगितामा प्रसिद्ध हास्यव्यंग्यकार भैरव अर्यालले स्वर्ण पदक जितेका थिए।
स्वर्ण पदकको रोचकता
सुनिएको– २०३१ सालका स्वर्ण पदक विजेता घटराज भट्टराईले त्यही स्वर्ण पदक (सुन) बेचेर राजधानीस्थित चाबहिलमा चार आना जमिन किनेका थिए। आज दिइने स्वर्ण पदक भने स्वर्णको नाममा कलंकित बन्न पुगेको छ। खोइ, कहिलेदेखि स्वर्ण पदक ‘फलाम पदक’मा परिवर्तन भयो कुन्नि ! स्वर्ण पदकको नाममा सुनको सट्टा फलामको पदक बनाएर पहेँलो पालिस लगाउने प्रचलन कहिले–कसको पालादेखि कसको निर्देशनमा थालनी भयो ?
२०५२ सालको कविता उत्सव प्रतियोगितामा म स्वयं प्रथम बनेर प्राप्त गरेको तथाकथित स्वर्ण पदकले खिया परेको अनुहार देखाएर आज पनि मलाई जिस्क्याइरहेछ। पुरस्कार–पारितोषिकमा समेत प्रज्ञाप्रतिष्ठानले गर्ने गरेको यस किसिमको ‘निकृष्ट नक्कली प्रावधान’प्रति कहिल्यै कुनै प्रश्न नउठाइनु एउटा विडम्बना नै बनेको छ।
कविता प्रतियोगिताप्रति नै प्रश्नचिह्न
व्यक्तिको आ–आफ्नै भावना हुन्छ। संवेदना भिन्नै हुन्छ। खास गरेर कविहरू अलग–अलग विम्बमा आफ्ना भावना पोख्न मन पराउँछन्।
– कसैले चन्द्रमालाई विम्ब बनाएर लेख्छन्,
– कसैले हिमाललाई बनाएर लेख्छन्,
– कोही पानीलाई विम्ब बनाउन रुचाउँछन् कोही आँसुलाई।
यसरी, स्वच्छन्द भावको विषयवस्तुमा लेखिने कवितात्मक विषयलाई एकै ठाउँ भेला पारेर ‘राम्रो’ वा ‘नराम्रो’ अथवा ‘गहन’ वा ‘कमजोर’को बिल्ला भिराउने प्रतियोगिताको अर्थ के हो ? ‘जज्मेन्ट’ गर्नेहरू स्वयं कसैलाई चन्द्रमाको विम्ब मन पर्ला, अर्कोलाई हिमाल मन पर्ला, कसैलाई पानी र कसैलाई आँसु–विम्ब मन पर्ला। यस्तो स्थितिमा कविताको स्तरीयता छुट्ट्याउने आधार के ? कवितालाई मापन गर्ने कुनै यन्त्र आजको मितिसम्म आविष्कार भएजस्तो बुझिएको छैन।
अब भन्नैपर्ने हुन्छ— प्रज्ञाप्रतिष्ठानकै नेतृत्वमा मान्यवर प्राज्ञज्यूहरूले कुनै ‘नौलो पुरस्कार क्रान्ति’को अवधारणा ल्याउन आवश्यक छ।
धाँधलीको आवाज
पुरस्कार–सम्मानको कुरा उठ्नेबित्तिकै त्यहीँनिर साथमै जोडिएर आउँछ– ‘धाँधली’ भन्ने शब्द।
खास गरेर यस्तो कविता उत्सव त झन् यो शब्दबाट के मुक्त रहन्थ्यो ! २०६२ सालको राष्ट्रिय कविता उत्सवका प्रथम पुरस्कृत कवि मनोज न्यौपाने सम्झन्छन्, ‘म पुरस्कृत भइसकेपछि एक दिन त्यही प्रतियागिताको निर्णायक मण्डलका एक जजले अर्को एक कविको नाम लिँदै मलाई भने– धन्न त्यो कविको कविता यो प्रतियोगितामा समावेश रहेनछ। नत्र तिम्रो बदला उसको नाम घोषणा हुन्थ्यो। तिमी भाग्यमानी रहेछौ।’
प्रतियोगिताको निर्णायकको यही भनाइबाट पुष्टि हुन्छ कि प्रतियोगितामा ‘विषयवस्तु’ले भन्दा बढी ‘व्यक्ति’ले महत्व राख्छ। हुन पनि कोही आफ्नो मान्छे निर्णायक छ भने उसको आफ्नोपनले त्यहाँ भूमिका खेलिहाल्छ। यो त मानवीय प्रवृत्ति नै हो। जस्तो म स्वयं पुरस्कृत भएको बेला एक पत्रकारले मसँगको अन्तर्वार्तामा सोधेका थिए, ‘के पुरस्कार भनेको धाँधली गरेरै पाइन्छ ? तपाईंमा पनि यो लागू भएको छ ? ’ र, मैले पत्रकारको यो सांकेतिक आशंकालाई स्वीकार्दै भनेको छु, ‘एक अर्थमा पुरस्कार धाँधली नगरीकन पाइँदैन। सम्भवतः म सहभागी भएको यो प्रतियोगितामा मलाई मन पराउने वा मसँग घनिष्ठ व्यक्तिहरूको बाहुल्य हुनुपर्छ र तिनीहरूकै सिफारिसमा म पुरस्कृत भएको हुनुपर्छ। अन्यथा अरू पनि त थुप्रै कवि त्यो कविता उत्सवमा प्रतिस्पर्धी थिए नि !’
आजको दिनसमम आइपुग्दा त्यो दिन सम्झेर आज म पनि स्वयं यस्तो निचोडमा पुगेको छु– कवितालाई कविहरूले कविता नै रहन दिने हो भने कविता–प्रतिस्पर्धाको खेल त्याग्नुपर्छ। वास्तवमै कविता विश्वकीर्तिमान खडा गर्नका लागि लेखिन्न। कविता त हृदयसँग सम्बन्धित विषय हो। मान्छेले हृदयसँग खेलवाड गर्नु मनासिब हुँदैन। यस अर्थमा, कवितालाई सस्तो खेल बनाएर मान्छेका मनहरूलाई खेलाउनु, अनि त्यो खेलमा कसैलाई पराजित गराउनु र कसैलाई विजेता बनाएर पूmलमाला पहिर्याउने खेलमा सहभागी हुनु, यस्तो दुष्कर्मयुक्त घेराबाट कमसेकम आजका कविहरू बाहिरिनुपर्छ।
‘पुरस्कार–सम्मान कुनै चिठ्ठा होइन जो एउटा समूहको मिटिङ बस्यो अनि कुनै निश्चित नाममा प्याट्ट घोषणा गरिहाल्ने’, प्रा.डा. सुरेन्द्र केसी आफ्नो विमति पोख्छन्, ‘पुरस्कृत नै गर्ने हो भने, सम्मान नै गर्ने हो भने अनेक तौरतरिका छन् समाजमा। तर आज समाजमा चलेको आजका प्रायः पुरस्कार–प्रावधान विसंगतपूर्ण छन्।’
साँच्चो मानेमा पुरस्कार–सम्मानको एउटै मूल अर्थ छ— प्रतिभाको प्रोत्साहन। पुरस्कारले प्रतिभाको कदर त गर्छ नै, त्यसभन्दा अगि बढेर अर्को शब्दमा भन्नुपर्दा पुरस्कार भनेको प्रतिभा–प्रस्फुटनको विकासमार्ग हो।
उपर्युक्त धारणालाई अघि सारेर यहाँ अब भन्नैपर्ने हुन्छ— प्रज्ञाप्रतिष्ठानकै नेतृत्वमा मान्यवर प्राज्ञज्यूहरूले कुनै ‘नौलो पुरस्कार क्रान्ति’को अवधारणा ल्याउन आवश्यक छ।