गाउँपालिका केन्द्र सार्न कठिन

गाउँपालिका केन्द्र सार्न कठिन

पोखरा : मुख्य राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसको एकमत नहुँदा कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने एजेन्डाले गाउँसभा प्रवेश पाउन सकेन। केन्द्र सार्नेबारे लामो समयदेखि २ पार्टी र जनप्रतिनिधिहरूबीच थुप्रै छलफल चलेको थियो। तर दुई पार्टीले गाउँपालिका केन्द्रका लागि चाहेको ठाउँ फरकफरक हुँदा उक्त एजेन्डाको प्रवेशबिनै शुक्रबार गाउँसभा सकिएको छ।

१२ वडा रहेको मादीको केन्द्र अहिले याङ्जाकोटमा छ। ३ नंबाहेक सबै वडाबासीले अपायक भनेको ठाउँबाट केन्द्र सार्न बहुमत जनप्रतिनिधि सहमत पनि थिए, तर कुन ठाउँमा सार्ने भन्नेबारे दलीय एकमत थिएन। एउटै दलसँग आवश्यक मत नपुग्ने देखिएपछि सभामा विषय प्रवेश नगरेको हो। ६३ सदस्यीय गाउँसभामा नेकपाका ४२ र कांग्रेसका २१ सदस्य छन्। बहुमत भए पनि नेकपासँग दुईतिहाइ मत छैन। केन्द्र परिवर्तन गर्न गाउँपालिका गठनको ६ महिनाभित्र बहुमतले पुग्ने भए पनि त्यसपछिको हकमा भने दुईतिहाइ चाहिने व्यवस्था छ।

अध्यक्ष, उपाध्यक्ष र बहुमत वडाध्यक्ष तथा सदस्यहरू भएको नेकपाले वडा–४ को तारकाङमा गाउँपालिका केन्द्र सार्नुपर्ने बताउँदै आएको थियो। कांग्रेस भने वडा–५ भैंसेमा सार्न इच्छुक देखिएको थियो। गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बहुमत वा दुईतिहाइभन्दा पनि सहमतिकै आधारमा केन्द्रबारे निर्णय लिने बताएका थिए। कांग्रेस नेता तथा वडासदस्य सरोज केसीले पनि त्यही भनेका थिए। तर दलहरूबीच सहमति बन्न नसक्दा केन्द्र सार्नेबारेको एजेन्डा सभामा पेस नभएको हो। १० असारमा गाउँसभा सुरु हुँदा गाउँ र वडा केन्द्र हेरफेरको विषयमा पनि छलफल गर्ने भनिएको थियो।


केन्द्र हेरफेर नभए पनि मादी गाउँपालिका सभाले न्यायिकलगायत समिति गठन गरेको छ।

गाउँपालिका केन्द्र हेरफेर नभए पनि मादी गाउँपालिका सभाले न्यायिकलगायत समिति गठन गरेको छ। गाउँपालिका उपाध्यक्ष विष्णुमाया पौडेल संयोजकत्वमा गठित समितिमा शिवप्रसाद सापकोटा र धनमाया गुरुङ सदस्य छन्। संविधानको धारा २१७ ले स्थानीय तहमा न्यायिक समिति गठनको व्यवस्था गरेको छ। उक्त धारामा भनिएको छ– ‘कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहनेछ।’ त्यसैको उपधारा २ ले न्यायिक समितिमा गाउँसभा वा नगरसभाबाट आपूmमध्येबाट निर्वाचित गरेका २ जना सदस्य रहने व्यवस्था गरेको छ।

सभाले कांग्रेसबाट निर्वाचित वडा–५ का सदस्य सरोज केसीलाई लेखासमिति संयोजक चुनेको छ। सुधीर रानाभाट र खसमाया गुरुङ उक्त समितिको सदस्य चुनिएका छन्। इन्द्रबहादुर खत्री संयोजकत्वमा गठित विधायन समितिमा नारायण सापकोटा र शिव खत्री सदस्य चुनिएका छन्। विष्णुप्रसाद गौतम संयोजकत्वमा सुशासन समिति गठन भएको छ। गमबहादुर गुरुङ र दिलबहादुर गुरुङ उक्त समितिको सदस्य छन्। सभाले गाउँपालिकाको आवधिक योजना पनि पारित गरेको जानकारी अध्यक्ष वेदबहादुर गुरुङले दिए। गाउँसभाले २२ वटा कानुन पारित गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.