विदेशकाे लोभमा ठगिए युवा
पोखरा : मादी गाउँपालिकाको मिजुरे गाउँका श्याम परियार ओमन जाँदा ठगिएर फर्किए । भन्छन्, ‘६ महिनासम्म त तलब पाइएको थियो, त्यसपछि पाइएन ।’ रूपा गाउँपालिकाका लालबहादुर गुरुङ मलेसियामा ठगिए । बल्लतल्ल ज्यान जोगाएर स्वदेश फर्कन सकेको उनी सुनाउँछन् । अन्नपूर्ण गाउँपालिका ढिकुरपोखरीका एकनारायण भण्डारी पनि वैदेशिक रोजगारीका सिलसिलामै ठगिएका अर्का पात्र हुन् ।
वैदेशिक रोजगारीको सिलसिलामा ठगिनुमात्रै यी तीन जनाको समानता होइन । अचेल उनीहरू वैदेशिक रोजगारीमा जानेहरूलाई ठगिनबाट बच्ने उपाय सिकाउँछन् । वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी) परियोजनाका लागि गाउँमै स्वयंसेवक खटिएका उनीहरूको अनुभवले भन्छ, ‘पहिलापहिला युवाहरू खाडी मुलुक र मलेसिया जाँदा ठगिन्थे, अचेल विकसित देश जाने भनेर ठगिन थालेका छन् ।’
भण्डारीका अनुसार पछिल्लो समय भारतको दिल्ली हुँदै युरोपको पोल्यान्ड र पर्चुगल जाने भनेर एजेन्टको भरविश्वासमा पर्ने युवा धेरै हुन थालेका छन् । धेरै पैसा कमाइ हुने लोभमा एजेन्टको पछि लाग्दा युवा ठगिएका छन् । अर्का स्वयंसेवक दामोदर आचार्य भन्छन्, ‘विदेश जाने भनेपछि सल्लाह सुन्ने चलन नहुँदा युवाहरू ठगीमा परिरहेका छन् ।’
सामी परियोजना संयोजक माया गुरुङका अनुसार हालैमात्रै ब्रुनाई लैजाने भनेर फ्रान्स आर्मी कन्सल्टेसनबाट ठगिएका युवाको उजुरीको चाङ परियोजनामा लाग्यो । उजुरी दिएका युवाले पैसा बुझाएको भनेको व्यक्ति नै देशबाहिर भएकाले पक्राउ पर्न नसकेको परियोजनाकी परामर्शदाता जूना केसी बताउँछिन् । ‘१÷२ लाख रुपैयाँ बुझाएका एकाधको पैसा र पासपोर्ट फिर्ता भयो’, उनले भनिन् ।
म्यानपावर एजेन्सीलाई पैसा बुझाएर भर्पाई वा रसिद लिए ठगीमा कारबाही गर्न सजिलो हुने भए पनि युवाहरूले व्यक्तिलाई बिनाप्रमाण पैसा बुझाउने समस्या रहेको गुरुङ सुनाउँछिन् । स्वयंसेवक भण्डारी पछिल्लो समय रसिद लिनुपर्छ भन्ने चेतना निकै बढेको भए पनि पूरै कम नभएको बताउँछन् ।
उजुरी दिएका युवाले पैसा बुझाएको भनेको व्यक्ति नै देशबाहिर भएकाले पक्राउ गर्न समस्या भएको छ।
क्यानडा, फ्रान्स, अमेरिका, अस्ट्रेलियालगायत देश जाने भन्दै ठगिएका युवाहरूको २६ वटा निवेदन सामीमा पछिल्लो समय परेको संयोजक गुरुङले सुनाइन् । जिल्ला समन्वय समिति कास्कीमा सामीको कार्यालय छ । पासपोर्ट लिने बेलामै वैदेशिक रोजगारबारे बताउन सामीले जिल्ला प्रशासन कार्यालयमै परामर्श केन्द्र राखेको छ । समन्वय समिति संयोजक बैनबहादुर अधिकारी पढेलेखेका र उच्च वर्गीय परिवारका सदस्यहरू विकसित देश जाने लोभमा ठगिन थालेको सुनाउँछन् । मादी गाउँपालिका पार्चेका पदम गुरुङ अमेरिकी क्रुजमा काम गर्ने भनेर थाइल्यान्ड पुगेपछि ठगिएका थिए । भन्छन्, ‘भिसा हात लागेपछि घरबाट पैसा मगाउन लगाएर एजेन्टले ठगे, मनी ट्रान्सफर कम्पनीबाट पैसा पठायो भने प्रमाण हुन्छ भनेर हुन्डी गर्न लगाउँथे ।’
विदेश जाने नाममा ठगीमा परेका ६३ उजुरी सामीमा यो वर्ष परेका छन् । वैदेशिक रोजगारमै रहँदा फँसेका ८ जनालाई उद्धार गरेको संयोजक गुरुङले जानकारी दिइन् । वैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई ५७ लाख ४३ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सकिएको पनि उनले सुनाइन् । भन्छिन्, ‘युवालाई सके स्वदेशमै रोजागार गर्न आह्वान गर्छाैं, नसके विदेश जाने हो, तर सीप सिकेर जानुपर्छ भन्दै आएका छौं ।’