हुलाकी सडक निर्माण सुस्त

हुलाकी सडक निर्माण सुस्त

टीकापुर : तराई क्षेत्रको आर्थिक समृद्धिका निम्ति सुरु गरिएको हुलाकी सडकको काम सुस्त गतिमा भइरहेको छ । कैलालीमा ०६६÷६७ मा सुरु गरिएको हुलाकी सडक आयोजनाको काम आठ वर्ष बितिसक्दा पनि सुस्त गतिमै निर्माण भइरहेको हो ।

भारत सरकारको सहयोगमा सुरु गरिएको कैलाली कञ्चनपुरको हुलाकी सडक आयोजनामध्ये आठ वर्षमा लम्की खक्रौला सडकको २७.६ किलोमिटर र धनगढी सत्ती सडकखण्डको ४४ किलोमिटर मात्रै निर्माण सम्पन्न भएको छ ।

कैलालीको कटनीदेखि कान्द्रासम्मको १८ किलोमिटर सडक अझै निर्माण हुन सकेको छैन । त्यस्तै, कञ्चनपुरको डोकेबजारदेखि बेलौरी, बेल्डाँडीदेखि दैजीसम्मको सडकसमेत निर्माण हुन सकेको छैन ।

उक्त सडकखण्ड हाल नेपाल सरकार आफैंले हुलाकी सडक आयोजनामार्फत निर्माण गरिरहेको छ । हुलाकी सडक आयोजना धनगढीका आयोजना प्रमुख मनीषकुमार शाहले कैलाली र कञ्चनपुरमा गरी आयोजनाको काम सोचेअनुरूप हुन नसकेको स्विकारे । ‘सोचेजस्तो गरी काम हुन सकेको छैन’, आयोजना प्रमुख शाहले भने, ‘सडकमा पर्ने वन क्षेत्र र आरक्षका कारण सोचेअनुरूप निर्माण हुन सकेको छैन ।’

कैलालीको कटनीदेखि कान्द्रासम्मको जंगलमा पर्ने वसन्ता जैविक मार्गमा भित्रको दुई किलोमिटर वन क्षेत्रका रूख कटान आदेश नहुँदासमेत काममा ढिलाइ भइरहेको शाहले बताए । ‘वन मन्त्रालयले वसन्ता वन क्षेत्रको दुई किलोमिटरमा रूख कटानीको आदेश दिएको छैन’, शाहले भने, ‘यसले पनि निर्माण कार्यले गति लिन नसकेको हो ।’

वसन्ता वन क्षेत्र नेपाल र भारतका वन्यजन्तुको ओहोरदोहोर गर्ने जैविक मार्ग भएकाले वनको बीचमा सडक लिन नहुने भन्दै स्थानीयले विरोध गर्दै आएपछि त्यहाँ पनि सडक निर्माण रोकिएको छ ।

सडकको डिपीआरमा जंगल कटानी गर्ने उल्लेख भए पनि वसन्ता क्षेत्रका पाँच वटा सामुदायिक वनले वन फँडानी नगर्न माग गर्दै आएका छन् । जिल्ला वन कार्यालय कैलालीका प्रमुख नवराज काफ्लेले वनको बाहिरी भागबाट सडक निर्माण गर्दा जंगल बच्ने र स्थानीयको मागसमेत सम्बोधन हुने भन्दै रूख कटानीको आदेश मन्त्रालयले नदिएको बताए ।

‘दुई÷तीन सय मिटर बाटो घुमाउने हो भने जंगल मास्नै पर्दैन’, काफ्लेले भने, ‘जिल्ला वनले यही कुरा पहिल्यै सिफारिस गरेकाले रूख कटानीको आदेश मन्त्रालयले नदिएको हो ।’

उता, कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र पर्ने १२ किलोमिटर सडकका रूख कटान गर्न भने वन मन्त्रालयले हालै मात्र स्वीकृति दिएको छ । ‘वर्षा लागेपछि रूख कटानीको स्वीकृति पाएका छौं’, आयोजना प्रमुख शाहले भने, ‘कञ्चनपुरको काम अब वर्षापछि तीव्र गतिमा हुन्छ ।’

हालसम्म कैलाली र कञ्चनपुर गरी सडकको काम ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । ‘कैलाली र कञ्चनपुरमा गरी ३० प्रतिशत काम भएको छ’, आयोजना प्रमुख शाहले भने, ‘सडकमा माटो पटानी, कल्भर्ट निर्माण र केही पुलको काम भइरहेको छ ।’

हुलाकी सडकमा पर्ने पुलसमेत समयमा निर्माण नहुँदा सडक निर्माण प्रभावित भइरहेको छ । कैलालीको कान्द्रा नदीमा आठ वर्षअघि सुरु गरिए पनि हालसम्म पुलको पिलरसमेत उठाइएको छैन ।

दुई वर्षभित्रै कैलाली-कञ्चनपुरको हुलाकी सडक निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य भए पनि काममा तीव्रता नहुँदा समयमै सम्पन्न हुनेमा स्थानीयले आशंका गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.