‘एउटा पुस्ताले त्याग नगरी कुनै देश समृद्ध भएको छैन’
आजदेखि अन्नपूर्ण पोस्ट्मा नियमित साप्ताहिक स्तम्भ सुरु गर्दै छु। फराकिलो पर्दामा प्रस्तुत हुने यो स्तम्भको कुनै नाम छैन। काम चलाउनका निम्ति यसलाई ‘स्तम्भ’ भनौं। राजनीति मात्र होइन, जीवनका सातै रंगमा भिजेको ब्रसले लेखिने छ यो स्तम्भ। यो छापिने बार– सोमबार।
केही वर्षअघि ‘कान्तिपुर’ दैनिकमा लेखेको आदि/इत्यादि स्तम्भपश्चातः नेपालको मिडिया ट्रेन्डलाई अध्ययन गर्ने हो भने सजिलै भन्न सकिन्छ–प्रथम वचनमा आधारित (फस्ट पर्सन राइटिङ) लेखन–शैलीको बाढी नै आएको छ, नेपाली मिडियामा। वर्षौंअघि प्रथम वचन लेखन–शैली प्रयोग गर्दा ‘कति म म गरेर लेख्छ’ भनेर नाक खुम्च्याउने अनेकहरू खुसुक्क यही शैलीको लामो लाइनमा लामबद्ध भएको देख्दा सन्तोष लाग्छ।
हुन त हेनरी मिलरको वाक्यलाई शंकर लामिछानेले उहिल्यै अनुवाद गरिसकेका थिए, ‘२१ औं शताब्दीको साहित्य प्रथम वचनमा लेखिएको हुनेछ। तर, त्यो अलि थोरै बेइमान हुनुपर्ने छ।’
पुराना कुराको महत्व जरुर हुन्छ। तर, त्यसैमा धेरै अल्झेर कतै पुगिन्न। जिन्दगी बुझ्न हामीले पछाडि फर्केर हेर्नुपर्छ। तर, जीवन बाँच्न अगाडि हेर्नुको विकल्प हुन्न। नयाँ स्तम्भको विषयवस्तु र अझ भनौं प्रस्तुति शैलीबारे मेरो मनमा धेरै योजना र विचार छन्। तर, यो बोध पनि छ–योजना र विचार मात्रले बलियो वाक्य जन्माउन सक्दैन। वाक्य जन्म ! त्यो त एक बेग्लै विधा हो। विकास र समृद्धि पनि त्यस्तै हुन्। बोलेर मात्र कहाँ पुगिन्छ र त्यहाँ !
‘बुकर’ विजेता अरुन्धती रोयको अमूल्य वचन छ, ‘लेखकले सारा जीवन उसका विचार र शब्दबीचको दूरीलाई पूरै मेटाउन नसके पनि, त्यो दूरी घटाउन आफ्नो हृदयभित्र यात्रा गरिरहन्छ।’
मलाई पनि लाग्छ, आफैंसँग अलि थोरै बेइमान हुन सके (जो संसारको धेरै कठिन काम हो) आफ्ना विचार र शब्दबीचको दूरी मेटाउन नसके पनि, घटाउन सके (जो सजिलो छैन) लेखन अलि बढी विश्वसनीय हुन्छ होला।
यस विषयमा सहयोगी तथ्य के छ भने यहाँ अनगिन्ति विषय छन् लेखिन बाँकी, असंख्य कथा छन् पोखिन बाँकी र कयौं शैली छन् प्रयोग हुन बाँकी।...खैर, आज सुरु गर्छु– कोरियाबाट, जहाँ म केही महिना पहिला थिएँ।
म आफ्ना घाउलाई खत बनाउन चाहन्न
‘बाहिरबाट हेर्दा चिनियाँ, जापानी र कोरियन एकै जस्तो देखिन्छन्। फरक के छ तपाईंहरूबीच एन्जेला ?’
– सबैभन्दा सजिलै देख्न सकिने फरक के छ भने हामी कोरियन बढी फेसन गर्छौं। हेर्दै थाहा पाइन्छ नि विजय ! त्यसैले त हाम्रा सौन्दर्यप्रसाधन विश्व विख्यात छन् नि ! ठट्टामिश्रित मुस्कानसाथ एन्जेलाले मलाई पुलुक्क हेरिन्। साथमा रहेकी अर्की अनुवादक पनि खित्का छोडेर हाँसिन्।
केही महिनाअघिको कुरा हो। कोरियाइ प्रायद्वीपमा युगान्तकारी परिवर्तन हुुँदै थिए। उत्तर कोरियाका नेता किम दक्षिण कोरियामा ऐतिहासिक भ्रमणका निम्ति आउनेवाला थिए। म कोरियाको प्रेस कार्यक्रमको निम्तोमा उतै थिएँ। काठमाडाैैँबाट कोरियन एयरलाइन्सको सिधा उडान सिओल जान्छ। हामीहरू सियोल भनेर लेख्छौं, उनीहरू ‘सोल’ भन्छन् आफ्नो राजधानीलाई। नेपाली कामदार जाने अन्य कतिपय मुलुकका विमान सेवाको तुलनामा कोरियन एयरलाइन्सको सेवाको शिष्टता सबैखाले नेपाली यात्रुका प्रति राम्रो देखें।
कोरियाको ‘इन्चेन’ विमानस्थलको सूचनापाटीमा हाम्रो विमान आगमनको सूचना र हाम्रो सामान आउने ‘बेल्ट’को नम्बरबारे विद्युतीय सूचना स्क्रिनमा नेपाली भाषामा समेत लेखिएको देखेर छक्क परियो। बिहानको पाँच बज्न लागेको थियो, बाहिर अन्धकार थियो। नयाँ सहरमा पहिलोपटक आउँदै गरेको भए पनि म निश्चिन्त थिएँ। पूर्वसूचना थियो, कोही मेरो आगमनको प्रतीक्षामा हुनेछ।
एन्जेला अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापार मामिलामा स्नातकोत्तर रहिछन्। उनको कोरियन नाम पनि थियो, जो मैले बिर्सेँ। सजिलोका निम्ति कतिपय कोरियनले भिजिटिङ कार्डमै आफ्नो दुईथरि नाम लेखेका हुन्छन्, विदेशीको सजिलोका लागि। एन्जेलाका सहयोगीको नाम थियो– ‘किम’ र उनको अंग्रेजी नाम थियो– एलेक्स। मैले कोरियामा जति लोग्नेमानिस भेटें, तीमध्ये आधाभन्दा बढीको नाम ‘किम’ बाट सुरु हुन्थ्यो। एलेक्स र एन्जेलाका साथ मैले कोरियायी समाजका विविध रंगहरू देख्ने मौका पाएँ। सामान्यजन, वरिष्ठ सरकारी अधिकारी, प्राध्यापक, उद्यमी–व्यापारी, अध्यामिक साधक साधिकाहरू...।
यी सबैका आ–आफ्नै रंगहरू थिए। अहिले यो लेख्न बस्दा मेरो मनमा किम होङ–सिन आइरहेछन्। उनको पुस्तक ‘ह्युमन मार्केट’लाई कोरियाइ भाषामा पहिलोपटक दस लाख प्रति बिक्री हुने कृतिको सौभाग्य प्राप्त छ। उनी औद्योगिक समाजका अन्तरविरोधबारे लेख्छन्। पछिल्लो समय उनले प्रेम र क्षमामा आधारित कृतिहरू लेखेका छन्।
चिल्लो मर्सिडिज बेन्ज कार चढेर रेस्टुराँमा पसेका थिए यी लेखक। हेर्दा पत्याउन गाह्रो, उमेरले सत्तरी छोइसक्दा पनि शरीरमा लचकदार फुर्ती यथावत। प्रख्यात लेखकलाई चिनेर लबीमा बसेका दुई–तीनजना युवतीले सेल्फी खिचाए।
तपाईं किन लेख्नुहुन्छ किम ?
– हरेक मान्छेभित्र आत्मा छ। हर आत्माभित्र कुनै न कुनै प्रकारको चोट छ, घाउ छ। त्यो घाउलाई आफैंभित्र राखे, नमेटिने दाग–निसान बन्न सक्छ। हामी मान्छे, आफ्नो घाउलाइ धेरै गिजोलेर खत बनाउन सक्छौँ। तर, हामी मान्छे त्यही घाउलाई सिर्जनात्मकतामा परिणत गरेर वातावणमा सुगन्ध फैलाउने क्षमता पनि राख्छौं। म यसकारण लेख्छु किनभने म आफ्ना घाउलाई खत बनाउन चाहन्न। म लेखेर आफ्ना चोटका निसानलाई फूलमा बदल्छु।
आफ्नो मनको घाउलाई दाग–निसानको साटो फूलको सुगन्धमा बदल्न के सबैले लेख्नैपर्छ र ?
– पर्दैन। बिल्कुलै पर्दैन विजय ! मैले मेरो बाटो पो भनेको त। अरू धैरै बाटा छन्। जीवनको बाटो एउटै कहाँ हुन्छ र ? मुख्य कुरा घाउलाई खाटा बस्न नदिएर फूल बनाउन पनि सकिन्छ है भन्ने हो। घाउको खाटा, दाग, निसान भनेको मान्छेको जलन, क्रोध, कुन्ठा, सानो चित्तको प्रतीक हो। फूल भनेको उदारता, प्रेम, क्षमा आदि सद्गुणको बिम्ब हो।
तपाईंको जीवनका तीन घुम्ती याद गर्नुपर्यो भने ?
– मेरो जन्म, मेरो कठोर परिश्रम र आजभोलि म एक सुन्दर मृत्युका निम्ति तयारी गर्दैछु।
सुन्दर मृत्यु भन्नाले हामी के बुझौँ ?
– भगवानले धेरै थोक बनाएका छन्। तीमध्ये सबैभन्दा मुख्य दुई थोक छन्–जन्म र मृत्यु । मान्छेले पनि धेरै सुन्दर कुराहरू बनाएको छ। यीमध्ये दुई कुरा छान्न चाहन्छु– प्रेम र क्षमा। प्रेम र क्षमा भएको जीवन बाँच्यो भने मर्ने बेलामा मानिसलाई पछुतो हुन्न। मान्छेहरू मृत्युको कुरा गर्न डराउँछन्। तर, उनीहरू भुल्छन्– मृत्युबिना यो संसार चल्न सक्दैन। यो एक अवश्यंभावी प्रक्रिया हो। अतः यसका निम्ति सबैले तयारी गर्नुपर्छ। म पनि गर्दैछु।

कोरियाई लेखक किम होङ-सिनसँग लेखक।
प्रेम र क्षमासँग जोडिएको तपाईंको जीवनको कुनै अनुभव सेयर गर्न चाहनुहुन्छ कि ?
– म युवा छँदा एक दिन एउटा खबर आयो– मेरो प्यारो पिताजीलाई सडकमा बसले किचेर मार्यो। बस ड्राइभरलाई गिरफ्तार गरेर पुलिस स्टेसनमा राखिएको छ। म शोक र क्रोधको समुद्रमा डुबेँ। पुलिस स्टेसन जाने बेला बाटोमा निर्णय गरेँ– बुबाको हत्यारा राक्षस ड्राइभरलाइ म त्यहीँ मारीदिनेछु।
तर, जब म स्टेसनमा पुगेँ त्यहाँ मैले देखेँ, ड्राइभर त डरले थरथर काँपिरहेको थियो। ऊ त आफैं मरिसकेको जस्तो लाग्यो मलाई। कुन्नि किन हो, सायद मेरो पिताजीको आत्माले गर्दा हो मैले त्यो ड्राइभरलाई अंकमाल गरेँ। हामी दुवैै भक्कानिएर रुन थाल्यौं। मलाई लाग्यो, मेरा पिताजीले हामीमाथि फूलको वर्षा गर्दै हुनुहुन्छ।
मैले यो घटनाको विषयमा लेखेँ। केही समयपछि एक महिला मलाई भेट्न आइन्। उनी सुन्दर थिइन्। तर, उनका हातमा औँला थिएनन्। एकदिन उनी बसबाट ओर्लने बेला ड्राइभरको लापरबाही र हतारोले गर्दा भएको दुर्घटनामा उनले आफ्नो हातका औंला गुमाएकी रहिछन्। उनी पियानोवादक थिइन्। त्यसपछि उनले कहिल्यै पियानो बजाउन सकिनन्। त्यो लापरबाह बस ड्राइभरलाई उनले कहिल्यै क्षमा गरिनन्।
मलाइ भेटेर उनले भनिन्, ‘तपाईंलाई पढेपछि, म सात वर्षपछि राती राम्ररी सुत्न सकेँ, किनभने तपाईंलाई पढेपछि मैले पनि त्यो बस ड्राइभरलाई क्षमा गरिदिएँ।’
के यी उदाहरणलाई हामी बृहत् स्तरमा फैलाउन सक्छौं ?
– सक्छौं। मैले कयौं वर्षदेखि उत्तर र दक्षिण कोरियाबीच मेलमिलापको पक्षमा काम गर्दै आएको छु। दुई कोरियाबीच धेरै नमिठा घटनाको इतिहास छ। उत्तर र दक्षिण कोरियाबीचको युद्धमा लाखौं मान्छे मारिए। तर, पनि मलाई हमेसा लागिरह्यो प्रेम र क्षमाको माध्यमबाट कुने समाधान निकाल्न सकिन्छ। हामी कसैसँग मिल्न सक्दैनौं भन्दैमा मारकाट गर्न जरुरी छैन। अब जब मेरो जीवनमा साँझ पर्न थालेको छ, कोरियाइ प्रायद्वीपमा शान्तिको वातावरण बनेको देख्दा म प्रफुल्लित छु।
प्रेम र क्षमाले बुनिएको जालीभित्र– घृणा र युद्धका तुफानी वायुसमेत पस्न सक्दैनन्। जब प्रेम र शान्तिका रंगहरू फूल्न थाल्छन्, बाँकी सबै उत्तेजना फिक्का देखिन थाल्छ। मलाई थाहा छ, प्रेम र क्षमाको जाली बुन्न सजिलो छैन। तर, मान्छे त्यो हो, जसले असम्भव ठानिएका कयौं काम गरेको छ र गर्दै जाने छ। यही त हो मानव जीवनको सुन्दरता। विशिष्टता।
विषय बदलौं। दक्षिण कोरियाले यति छिटो प्रगति कसरी गर्यो ?
– प्रगति शब्दको अर्थ आर्थिक प्रगति मात्र हुँदैन। एकछिनको लागि, यदि हामी फगत आर्थिक प्रगतिमा केन्द्रित रहेर यो प्रश्नको उत्तर खोज्छौं भने मेरो विचारमा हामी कोरियाइ जनता र हाम्रा नेताको एउटा पुस्ताले ठूलो बलिदान गर्यो, तब प्रगति भयो। एउटा पुस्ताले त्याग गर्नैपर्छ प्रगतिका निम्ति। नत्र हुँदैन।
हामी मेहनती छौँ। हामीलाई हाम्रो ईज्जत प्यारो छ। हाम्रो राजनीतिमा पनि भ्रष्टाचारको चर्चा नसुनिने होइन। तर, भ्रष्टाचारको आरोप प्रमाणित भएपछि, कयौँ कोरियाइ नेता, अधिकारी र व्यापारी जेल गएका छन्। कयौंले आत्महत्या गरे। समृद्धि सजिलै आउने भए त संसारमा गरिब देश बाँकी हुने नै थिएनन्। हामीले इलेक्ट्रोनिक र कारजस्ता अनेक सेमी–कन्डक्टर उद्योग क्षेत्रमा विश्वविजय हात पारेका छौँ। सायद यसको एउटा कारण हाम्रो आँखाको आकार र रंग पनि हो।
आँखाको रंग र आकार !! कसरी ? !!
– हाम्रा आंखा काला छन् र साना छन्। त्यसैले हामी धेरैबेरसम्म आँखा नझिम्क्याई लगातार हेरिरहन सक्छौँ। हाम्रा हातहरू पनि सही साइजका छन्। त्यसैले हामी सेमी–कन्डटर प्रकृतिका उद्योगमा विश्वविजयी क्षमता राख्छौँ। जापानी र चिनियाँहरूका विषयमा पनि सायद यो भन्न सकिन्छ। तर, उनीहरू हामीजस्तो स्टिलको चपस्टिक प्रयोग गर्दैनन्, काठको चलाउँछन् (हाँसो)...परेको बेला स्टिलको चपस्टिक आत्मरक्षाको साधन बनेर पनि काम लाग्छ।
के तपाईं त्यो मात्र लेख्नु हुन्छ, जो तपाईंको नजरमा सत्य हो अथवा आफूले विश्वास नगरेको कुरा पनि लेख्नु हुन्छ ?
– दुवैथोक लेख्ने दायित्व छ मेरो। लेखक हुँ म।
तपाईंको किताब ‘ ह्युमन मार्केट’ दस लाख प्रति बिक्री हुने पहिलो कोरियाइ पुस्तक बन्यो। कस्तो लाग्यो ?
– मैले बजार गएर सबैभन्दा महँगो गाडी अर्डर गरेँ। त्यसअघि मसित आफ्नो गाडी पनि थिएन। सबैभन्दा महँगो कार अर्डर गरेपछि, अचानक याद आयो–मलाई त गाडी चलाउनै आउँदैन। त्यसपछि मैले ड्राइभिङ सिकेँ। लाइसेन्स लिएँ। यो सब गरिसक्दा सबैभन्दा महँगो गाडीमा बाक्लो धुलो जमिसकेको थियो।
संसारका अधिकांश मान्छे शक्ति, पैसा, प्रसिद्धि र सेक्सका पछाडि लागेका छन्। के यी चारैथोक एउटै मानिसले पाउन सक्छ ?
– मेरो विचारमा सक्दैन। सकेको झैं देखिएला तर सक्दैन। किनभने अस्तित्व आफैँमा समतामूलक र न्यायिक छ। कसैलाई एकथोक दिएको छ, त्योसँग अर्कोथोक छैन। काँचो मह लिन जाने हो भने माहुरीले टोक्ने खतरा पनि छ। हर उपलब्धिको कुनै न कुनै साइड–इफेक्ट पनि छ। साइड–इफेक्ट नभएको कुनै उपलब्धि यो संसारमा छैन।
अन्त्यमा केही ?
– सुरुमा भने पनि अन्त्यमा भने पनि कुरा जम्मा एउटै छ–प्रेम र क्षमा सत्य हो। बाँकी सबै आउने–जाने चलिरहन्छन्, दुनियाँमा। यस्तै थियो, छ र रहनेछ...।
कुनै दिन नेपालमा स्वागत गर्न पाउँ तपाईंलाई, किम होङ–सिन !
– म जन्मले इसाई हुँ। तर, पछिल्लो समय मेरो सोच र लेखाइमा गौतम बुद्धको प्रभाव बढ्दो छ। म नेपालका पहाडहरूमा हिँड्न चाहन्छु। लुम्बिनीमा जान चाहन्छु। तपाईंलाई थाहा छैन होला, हाम्रा हालका राष्ट्रपति चुपचाप गुमनाम तरिकाले दुईपटक ट्रेकिङ गर्न नेपाल पुगिसकेँ।
लुम्बिनी पुगेर के गर्नुहुन्छ ?
– लामो सास लिन्छु।
प्रतिक्रिया दिनुहोस !