यो वसन्तमा पाँच सय ६३ सगरमाथामा
काठमाडौं : यो वसन्त ऋतुमा पाँच सय ६३ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। पाँच सय ११ पुरुष र ५२ महिलाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जानकारी गराएको हो।
यो अवधिमा ३४ विदेशी र चार नेपाली आरोहणदलका आठ सय ५५ जनाले अनुमती लिएका थिए। पाँच बर्ष अघि भएको हिमपहिरो र विनासकारी भूकम्पपछि यो वसन्तमा सबैभन्दा धेरैले सगरमाथा आरोह गरेका हुन्।
हाइअल्टीच्यूट वर्कर, गाइड र आरोहीसहित आठ सय ५५ जनाले अनुमती लिए पनि दुई सय ९२ जनाले आरोहण गर्न सकेन। सगरमाथा पुग्ने ३७ राष्ट्रका पुरुष र १५ राष्ट्रका महिला छन्। जसमध्ये तीन सय २६ विदेशी र २० नेपाली गरी तीन सय ४६ जनाले मात्र आरोहण अनुमती लिएका थिए। बाँकी हाइअल्टीच्यूट वर्कर, गाइड हुन्।
यो अवधिमा २८ हिमालका लागि एक सय ६ आरोहणदलबाट आठ सय ४१ जनाले राजश्व बुझाएर अनुमती लिएका थिए। सगरमाथा आरोहणका लागि विदेशीले ११ हजार अमेरिकी डलर र नेपालीले ७५ हजार रुपैयाँ राजश्व बुझाउछन्।
अहिलेसम्म पाँच हजार तीन सयले सगरमाथाको सफल आरोहण गरी सकेका छन्। यी मध्ये सोलुखुम्बुका कामीरिता शेर्पाले २३ पटक सफल आरोहण गरी ६५ बर्षको आरोहण इतिहासमै विश्व कीर्तिमान कायम गरेका छन्।
तेन्जीङ नोर्गे र एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथाको सफल आरोहण गरेदेखि हिमालसँग मानवीय सम्बन्ध आधिकारीक रुपमा जोडिएको थियो।