मिस नेपाल यूएसएमा १८ प्रतिस्पर्धी
काठमाडौं : ‘मिस नेपाल यूएसए- २०१८’ को शीर्ष उपाधिका लागि १८ प्रतिस्पर्धी मैदानमा उत्रने भएका छन्। विभिन्न चरणको अडिसनबाट छानिएका यी प्रतियोगी अन्तिम स्पर्धामा पुगेका हुन्।
१९ अगस्टमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीहरू अहिले प्रशिक्षण लिइरहेका छन्। पूर्वमिस नेपाल मलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजीव श्रेष्ठले उनीहरूको प्रतिभा निखार्ने काम गरिरहेका छन्।
अदीति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, बिएन्का अधिकारी, वीना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रूपाखेती, सुकृति ढुंगेल, सुशाना पोखरेल र स्वीकृति भट्टराई अन्तिम प्रतियोगिताका लागि छानिएका छन्।
‘मिस नेपाल यूएसए’ आफ्ना लागि अवसर र चुनौती दुवै भएको प्रतियोगीले बताएका छन्। प्रतियोगितामा सहभागी अधिकांश प्रतियोगीले नेपाल र अमेरिकामा रहेका नेपालीका निम्ति सामाजिक काम गर्ने बताएका छन्।

इभेन्ट प्लानेट इंकले इप्लानेट नेपालको सहकार्यमा २०११ देखि गर्दै आएको मिस नेपाल यूएसएको छैटौं संस्करणको व्यवस्थापनको जिम्मा नेपाल ११ इन्टरटेनमेन्टले लिएको छ। टेक्ससको डलास नजिकको सहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको कार्यक्रममा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डले साथ दिएको छ।
प्रतियोगितामा मिस नेपाल यूएसएको उपाधिका साथै फस्ट रनर अप र सेकेन्ड रनर अपसमेत घोषणा गरिनेछ। अन्य विभिन्न आधा दर्जन उपशीर्षक विजेतासमेत छानिने प्रतियोगिताको प्रचारप्रसार इप्लानेट नेपालका अध्यक्ष सन्तोष सापकोटाले गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !