फोहोरले पेट पाल्नेहरू
ओखरपौवा(नुवाकोट) : ५० वर्ष नाघेकी शान्ति तामाङ आफ्नो पेट पाल्न र परिवार चलाउन दिनहुँ डुङ्डुङ्ती गन्हाउने फोहोरको थुप्रोमा हुन्छिन्। एक दशकयता उनको दिनचर्या यसरी नै फोहोरमा बित्दै आएको छ। आफ्नो र परिवारका लागि हात-मुख जोर्न उनले फोहोरमा हामफालेकी हुन्। उनी फोहोरसँगै रमाउँछिन्, फोहोरसँगै खेल्छिन्।
काठमाडौं उपत्यकाको फोहोर २०६२ सालदेखि ओखरपौवामा लगेर विसर्जन गर्न थालिएपछि नै उनी फोहोरमा मोहोर खोज्न लागेकी हुन्। दुर्गन्धसँग जुध्दै उनी दिनहुँ फोहोरमा मोहोर खोज्छिन्। गहिरोमा फोहोर जम्मा गर्दादेखि यसमा लागेकी उनी अहिले फोहोरको पहाड बन्दा पनि उही गतिमा छिन्।
नुवाकोटको ककनी गाउँपालिकास्थित ओखरपौवा सिसडोलमा रहेको अस्थायी ल्यान्डफिल साइटमा शान्तिजस्तै १ सय जनाको जीविका फोहोरले चल्ने गरेको छ। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, नुवाकोटबाट पुगेका टिपरले फोहोर खसाल्न नपाउँदै फोहोर छान्न तँछाडमछाड नै हुन्छ। त्यही तँछाडमछाडमा जो सफल हुन्छ, त्यसले राम्रो कमाइ पनि गर्छ। त्यही तँछाडमछाडमा शान्ति दिनमा कम्तीमा एक बोरा प्लास्टिक छान्ने गर्छिन्। फोहोरबाट छानेको एक बोरा प्लास्टिक २ सयदेखि ३ सय रुपैयाँमा बिक्रीवितरण हुने गरेको उनी सुनाउँछिन्।
‘अहिले त म बूढी भएँ, पहिला-पहिला दुई बोरा त मज्जाले बनाउँथें’, उनी भन्छिन्। उनले आफ्नो स्वास्थ्यप्रति भने खेलबाड गरिरहेकी छन्। फोहोरको पहाडमा उनले न मास्क लगाएकी छन् न त कुनै सुरक्षा उपाय नै अपनाएकी छन्। फोहोरसँग संघर्ष गर्दा-गर्दै उनी दुर्गन्ध र प्रदूषणलाई नै जितेको महसुस गर्छिन्। स्वास्थ्यमा यसको के असर परेको छ भनेर उनलाई थाहा छैन। उनी आफू स्वस्थ्य नै रहेको दाबी गर्छिन्।
‘हामी त वर्षौंदेखि यहीं काम गरिरहेका छौं। हाम्रो गुजारा यसरी नै चलेको छ, हामीले बालबच्चा यसबाटै पालेका छौं’, उनी भन्छिन्, ‘कहाँ मास्क लगाउनु ? हाम्रो लागि सम्भवै छैन।’
उनलाई फोहोरका कारण रोग लाग्छ भन्नेमा रत्तिभर चिन्ता रहेनछ। उनलाई आफूभन्दा पनि बालबच्चाको चिन्ता छ, फोहोरले गर्दा रोगी होलान् कि भनेर। ‘दिन नआएसम्म मरिन्न, ५०-५२ वर्ष भइसकें, अहिलेसम्म केही भएको छैन’, उनी भन्छिन्, ‘आफ्नो त यस्तै हो, बालबच्चाको चिन्ता लाग्छ, फोहोरले ठूलो रोग लाग्ने त होइन भनेर ? ’
ओखरपौवामा दिनहुँ १ हजार टन फोहोर विसर्जन गर्ने हुने गरेको छ। त्यो फोहोरबाट प्लास्टिक छान्नेको भीड नै हुन्छ। फोहोर छान्नेमा अधिकांश महिला र बालबालिका छन्, न्यून संख्यामा मात्र पुरुष यस्तो काममा लागेका छन्। त्यही फोहोरमा बाख्रासमेत चरिरहेका हुन्छन्।