कौरव को हो ??
‘कौरव को हो ?
पाण्डव को हो ?
बडो मुस्किल सवाल !
दुवैतिर छ फैलिएको
शकुनीको कुटिल जाल !
धर्मराजले छाडेनन्
जुवा खेल्ने लत !
त्यसैले त छ,
हर ठाउँमा दौपद्रीको अपमान !
आजकाल त,
श्रीकृष्ण बिनाको महाभारत
मञ्चन हुने काल !
त्यसैले त,
राजा जो बने पनि
रंक (जनता) छ बेहाल !’
भारतका कवि एवं राजनेता अटल विहारी बाजपेयीको एउटा कविताको भावानुवाद हो माथिका पंक्ति। बालकको मुस्कानझैं सरल, समुद्रझैं गहिरो लेखन उहाँको। पढ्न सजिलो, लेख्न धेरै गाह्रो।
कागजमा वा सोसल मिडियामा अक्षर फाल्न पो सजिलो छ। पाण्डवको जयगान त जसले गर्न सक्छ। आफ्नो पार्टी मात्र पाण्डव पार्टी हो भनेर डम्फु त जो पनि बजाउन सक्छ। आफूसँग असहमत हुने जति सबै ‘कौरव सेनाका हनुमान’ हुन् भनेर आरोपित गर्न त जोकोहीले पनि सक्छ। आफैंभित्रको ‘कौरव’ देख्न सके पो मान्छे ! विरोधीभित्र लुकेको ‘पाण्डव’लाई तारिफ गर्न सके पो मान्छे ! असली कौरव चिन्न सके पो मान्छे !
तर, वैश्य युगमा कौरव र पाण्डवलाई चिन्न सजिलो छैन। सत्य युगमा यो काम अलि सजिलो थियो। मानिसको मन, वचन र कर्म एकआपसमा जोडिएका थिए त्यो युगमा। सत्य युग अर्थात् मानिस जे सोच्छ त्यो बोल्ने ! जे बोल्ने, त्यो गर्ने समय–काल थियो !
शकुनी त त्यस युगमा पनि थिए। तर, चमत्कार हेर्नुस्– त्यस युगका कुटिल शकुनीसँग पनि न्यूनतम नैतिकता थियो। राक्षस भनिएको रावणको पनि नैतिकता थियो। त्यसैले आफ्नै बन्दी सीताको शरीरमा स्पर्शसमेत गरेनन् रावणले।
अहिले त्यस्तो होइन। वैश्य युगको शकुनी, सत्य युगको शकुनीजस्तो होइन। पुरानो सिनेमाको भिलेनजस्तो, पहिलो नजरमै सहजै पहिचान हुने खालका हुँदैनन् वैश्य युगका शकुनीहरू।
पुराना दिनमा त हामी सिनेमामा देख्नासाथ भिलेनलाई चिन्थ्यौँ। आजको वैश्य युगका भिलेनलाई सजिलै चिन्न सकिन्न। आजकालका भिलेन बडा सोफिस्टिकेडेट छन्। प्रथम नजरमा चालै पाइन्न, भिलेन हुन् कि हिरो हुन् ! हिरोइन हुन् वा सुपर्णखा ‘भिलेननी’ ? छुट्याउन धेरै मुस्किल ! दुवैतिर शकुनीको कुटिल जाल।
वैश्य युगका शकुनीहरू सत्ता र प्रतिपक्ष दुवैतिर बराबर सक्रिय हुन्छन्। आजभोलिका ‘रामजी’लाई हेर्नुस् त ! मौका पाउनेबित्तिकै ‘रावण’ पनि हुन सक्छन् आजकलका ‘राम’ झैं देखिनेहरू। अनि आजकी ‘सीता’ पनि के कम ? अलिकति क्षणिक स्वार्थ पूरा गर्ने खालको जोकोही फेला परे– ‘रावण पनि चल्छ’ भन्न बेर नलाग्ने सीताको हो यो वैश्य युग !
यस्तो किन हुन्छ ? किनभने धर्मराजको सर्वोच्च आसनमा बसेको मान्छे आफैं जुवा खेल्ने लतमा छ। त्यसैले यस्तो हुन्छ। धर्मराज युधिष्ठिरलाई जुवाको लत नहुँदो हो त कुटिल शकुनी शक्तिहीन हुन्थे।
शकुनी बलिया छन् यसकारण होइन कि उनीसँग शक्ति धेरै छ। शकुनी
महाशक्तिशाली छन् किनभने धर्मराज युधिष्ठिरलाई जुवाको लत छ।
अटल विहारी बाजपेयी भारतका प्रधानमन्त्री पनि थिए, वर्षौंअघि। भारतको मिडियाले उनलाई बिर्सिसकेको थियो। तर, भारतका जनताले बिर्सेका रहेनछन्। शुक्रबार शवयात्राको बेला देखाइदिए जनताले।
जब जनताले देखाए अनि मिडिया पनि देख्न बाध्य भए। अधिकांश मिडिया त्यस्तै हुन्छन्। बलेको ताप्ने। खरानीबाट आगो निकाल्न त धेरै क्षमता चाहिन्छ, जुन क्षमता प्रायः मिडियासँग हुन्न। त्यसैले ‘जन्ती पत्रकारिता’ सजिलो पनि, सुरक्षित पनि। संसारभरि त्यस्तै हो।
मिडियाबारे कोन्डी राइसको महावाक्य छ– ‘आजका हेडलाइन र इतिहासका निर्णय, विरलै मात्र एकै प्रमाणित भएका छन्। हेडलाइनहरूलाई चाहिनेभन्दा बढी महत्व दिए, हामी इतिहासका निर्णय बुझ्नलाई आवश्यक मेहनत गर्ने छैनौं।’
पंक्तिकारलाई पनि लाग्छ, हामी हेडलाइनहरूलाई चाहिनेभन्दा बढी महत्व दिइरहेका छौं। हेडलाइन, चाहे त्यो मिडियामा होस् वा सोसल मिडियामा वा डिजिटल मिडियामा। हामी सबैलाई क्लिक बढाउने हतारो छ।
हुन त मिडिया मात्र होइन, सारा जमाना नै हतारोमा छ। युवा पुस्ताको हतारो र उरन्ठ्याउलोपन त बुझ्न पनि सकिन्छ। तर, जब विश्वविद्यालयका प्राध्यापकहरू र उमेर ढल्किसकेका चाउरा–चाउरीहरू पनि जब ज्यादै सस्तो र सतही तरिकाले ‘ट्विटिन्छन्’ वा ‘फेसबुकिन्छन्’ तब लाग्छ– विद्या हुँदैमा बुद्धि हुनु अनिवार्य रहेनछ।
हो, पक्कै पनि कहिलेकाहीँ अपवाद आउँछन्। जब एउटै मान्छेभित्र– विद्या, बुद्धि र मति– बास बसिदिन्छ, बढ्दो उमेरका साथै प्रज्ञा पनि यसरी सुभाषित भइदिन्छ, वातावरण नै अगरबत्ती बालेको अवस्थामा भइदिन्छ। उदाहरण– अटल विहारी बाजपेयी।
उनका कविता– राजनीतिशास्त्र, समाजशास्त्र र साहित्यको त्रिवेणी हुन् ! ज्ञान यदि सक्कली हुने हो भने त्यो त्रैआयामिक हुनु अनिवार्य छ। त्यसमा लम्बाइ, चौडाइ र गहराइ हुनु बाध्यकारी छ।
तीन आयामिक लेखाइ कस्तो हुन्छ ? अटलजीको कविताजस्तो हुन्छ। त्यो यस्तो हुन्छ :
‘जुवा खेल्ने लत
धर्मराजले छाडेनन्
त्यसैले त,
हर ठाउँमा दौपद्रीको अपमान !’
अहिले हाम्रो समाजका कतिपय जल्दाबल्दा विषयमा जुन प्रकारका लेखाइ र विचार प्रवाहित भइरहेका छन्, के तिनीहरू बहुआयामिक छन् ? वा सोझो ‘होरिजेन्टल’ बकबक मात्र हुन् ? अस्तित्व आफैंमा बहुआयामिक छ। द्वन्द्वात्मक (डाइलेक्टिक) छ। यसको एकहोरो प्रतिनिधित्व हुनै सक्दैन। यो सामान्य ज्ञानबाट अपरिचितहरू पनि दरिद्रपुरम नगरीमा वर्षौंदेखि हरेक दिन बौद्धिकताको दोसल्ला ओढ्दै आएका छन्।
म क्षणभरका लागी विषयान्तर भएँ। जानी जानी। अब पुरानै लयमा फर्कन्छु।
अटलजीको देहावसानको खबर सुन्नेबित्तिकै धेरै कुरा आए, मानसपटलमा। गणेशमानजी, किसुनजी र ओलीजी ! गणेशमानजी, जसले राजाले चाँदीको किस्तीमा राखेर दिएको प्रधानमन्त्री पद लिएनन्। अटलजी, जसले अर्को पार्टीको नाथे दुई थान सांसद किन्नुभन्दा प्रधानमन्त्रीको कुर्सीलाई लात हान्न श्रेयष्कर ठाने। र, संसद्मा दिए एक ऐतिहासिक भाषण, ‘बिकाउ त धेरै थिए तर खरिददार थिएन। त्यसरी प्राप्त सत्तालाई स्विकार्नु त परै जाओस्, त्यसरी प्राप्त सत्तालाई म चिम्टाले पनि छुन चाहन्नँ।’
अटलजीसँग किसुनजीको सम्बन्ध व्यक्तिगत स्तरमा थियो। नेपाली कांग्रेस पार्टीले आफ्ना संस्थापक नेता किसुनजीलाई अत्यन्तै नीचता, कृतघ्नता र अपमानपूर्वक किनारा लगाइदिएको बखतमा पनि भारतका ततकालीन प्रधानमन्त्री अटल विहारी बाजपेयी किसुनजीले काठमाडौंबाट गरेका अपेक्षारहित र ठट्टाले भरिएका फोनहरू स्विकार्नु हुन्थ्यो, ‘अटलजी आप और हम तो दोनो अविवाहित है, मगर ब्रह्मचारी थोडी न है।’
धेरै वर्षअघि, प्रधानमन्त्री छँदा, सार्कको सिलसिलमा तत्कालीन प्रधानमन्त्रीका रूपमा अटलजी नेपाल आउँदा भएको एक अन्तरक्रियामा उहाँले भन्नुभएका शब्द सधैंका लागि ज्यादै अर्थपूर्ण छन्, ‘नेपाल र भारतबीच जस्ता बहुआयामिक सम्बन्ध छन्, त्यसमा बेलाबखत मतभेद आउनु स्वाभाविक हो। मतभेद भए पनि हामीबीच मनभेद हुनु हुन्न। मनभेद नभएसम्म मतभेदहरूलाई समाधान गर्न सकिन्छ।’
प्रधानमन्त्री ओलीजीलाई यसकारण सम्झेँ किनभने उहाँले नेपालको विदेश नीतिलाई ‘व्यवहारिक र सम्मानजनक’ धरातल दिनको निम्ति निर्णायक योगदान गर्नुभएको छ। यस्तै निर्णायक योगदानको अपेक्षा देशभित्रको अवस्था सुधारका निम्ति उहाँको सरकारसँग अपेक्षित छ।
नेपाली कांग्रेसका नेताहरूले बाजपेयीजीको जीवनबाट सिक्नुपर्ने सबैभन्दा ठूलो शिक्षा–विपक्षमा रहेर पनि जनताको मनमा सबैभन्दा माथि बस्न सकिन्छ। अटलजी जीवनको अधिकांश समय विपक्षी नेता भएर बस्नुभयो। न अडान छाड्नुभयो, न शालीनता। त्यसले उहाँलाई न सानो नेता बनायो, न त उहाँको पार्टी सानो भयो।
अटलजीको शवयात्रामा विभिन्न विचारधारमा विश्वास राख्ने मानिस जम्मा भएर त्यो जनसागर बन्यो। एक से एक ओहदावालहरू चुपचाप अटलजीको पार्थिव शरीर पछाडि हिँड्न बाध्य भए।
हामीले देख्यौँ– ‘कद’ बनाउन ‘पद’ अनिवार्य छैन !
राजनीतिमा लागेका नेताहरूले जबसम्म राजनीतिबाहेक जीवनका अन्य बहुआयामिक पक्षबारे जानकारी राख्दैनन्, रुचि लिँदैनन् तबसम्म त्यस समाजको खासै भविष्य हुँदैन। वैश्य युगमा त झनै हुँदैन। किनभने वैश्य युगले विकास र समृद्धिलाइ मात्र चिन्छ।
विकास र समृद्धिको रथ दुई पांग्रामा अगाडि बढ्छ– कल्पनाशीलता र कर्म। ओलीजीको सरकारसँग कल्पनशीलताको कुनै कमी छैन, सायद चाहिनेभन्दा धेरै छ। तर, कर्मको प्रतीक्षा छ। महान् कल्पनाले महान् कर्मको अपेक्षा गर्छ। नेपालको समृद्धिको यो महाभारतमा ओलीजीले छुट्याउन सक्नुपर्छ– कौरव को हो र पाण्डव को हो ? र, स्मरण राख्दा हुन्छ, अटलजीको यो कविता :
‘कौरव को हो ?
पाण्डव को हो ?
बडो मुस्किल सवाल !
दुवैतिर छ फैलिएको
शकुनीको कुटिल जाल !’
प्रतिक्रिया दिनुहोस !