भविष्य काेर्ने बाटाे

भविष्य काेर्ने बाटाे

काठमाडौं : विद्यालय तहको अन्तिम खुड्किलो मानिने कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै विद्यार्थी तथा अभिभावकमा कौतूहलता सुरु भइसकेको छ– स्नातक तहमा कुन विषय पढ्ने/पढाउने ? कहाँ पढ्ने ? कुन विषय पढ्दा रोजगारीको सम्भावना कति रहन्छ ? मैले यो विषय पढ्न सक्छु/सक्दिन ? आदि ।

कक्षा ११ मा भर्ना गरेर कोरिएको भविष्यको गोरेटेलाई अझ गाढा बनाउने समय भएकोले स्नातक तहमा भर्ना हुनुअघि विद्यार्थीमा यस्तो चिन्ता हुनु स्वाभाविक पनि हो । र विशेष होसियारी अपनाउनुपर्ने समय पनि हो यो । तर विद्यार्थीलाई आकर्षित पार्न गरिने भड्किलो प्रचार र विज्ञापनका कारण क्याम्पसहरूको खोजीमा भौतिरिँदै गर्दा अधिकांश विद्यार्थी आफूले पढ्ने शैक्षिक संस्था र विषय छनोटमा सधैं अलमलिने गरेका छन् ।

मुलुकभर अहिले ११ वटा विश्वविद्यालयहरू सञ्चालनमा छन् । शैक्षिक कार्यक्रमको सम्बन्धन दिन नपाउने तर विश्वविद्यालयकै हैसियतमा सञ्चालन भइरहेका (मानित विश्वविद्यालय) पाँच वटा छन् । विश्वविद्यालय अनुदान आयोगका अनुसार ती विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा रहेका क्याम्पसहरूको संख्या एक हजार तीन सय नौ वटा छन् । त्यसबाहेक ती विश्वविद्यालयको आफ्नै आंगिक क्याम्पस ९८ वटा छन् । विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सोही विश्वविद्यालयको पाठ््यक्रमअनुसार पढाइ सञ्चालन गरिरहेका क्याम्पसहरूको संख्या मुलुकभर ४० को हारहारीमा छन् ।

यी सबै क्याम्पसमा व्यवस्थापन, कानुन, मानविकी तथा समाजशास्त्र, शिक्षा र विज्ञान तथा प्रविधिसँग सम्बन्धि विषयहरूको पढाइ भइरहेको छ । यस हिसाबले हेर्दा उच्च शिक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई अध्ययनका लागि आफूले भनेअनुसारकै विषय छान्ने अवसर प्रशस्तै छ । पढाइका लागि विषय छान्ने मात्र होइन, अध्ययन पूरा गरिसक्नेबित्तिकै रोजगारीमा जानका लागि पनि उनीहरूलाई पर्याप्त अवसरहरू छन् । अनगिन्ति विषय र अवसर रहे पनि क्याम्पस भर्ना हुनुअघि कसैको करकापमा नपरी आफ्नो भित्री इच्छा जुन विषयमा छ त्यही विषय रोज्न नसकेको अवस्थामा भविष्यको गोरेटो नै अन्धकार हुनेतर्फ पनि सचेत हुनु जरुरी छ ।

शिक्षाविद् तथा यस क्षेत्रका जानकारहरू पनि कसैको दबाब र प्रभावमा नपरी आनन्दसँग पढ्न सकिएमा शैक्षिक भविष्य सुनिश्चित हुने सुझाव दिन्छन् । यस्तै विद्यार्थीमध्येकी एक हुन श्रृष्टि अधिकारी । कक्षा १२ को नतिजामा विज्ञान समूहबाट ५९ प्रतिशत मात्र अंक ल्याएकी अधिकारीले दुइ वर्षअघिको एसईईमा ८३ प्रतिशत ल्याएकी थिइन् । एसईईमा राम्रो अंक ल्याए पनि सुरुका दिनमा उनलाई कक्षा ११ मा कुन विषय पढ्ने भन्ने निर्णय गर्न निकै कठिन भयो ।

आफ्नो भित्री इच्छा यही विषयमा छ भन्ने स्पष्ट हुन नसकेका कारण चिकित्सक बनाउने इच्छा राखेर आफन्तले उनलाई विज्ञान विषयमा भर्ना गरिदिए । कुन विषयमा भर्ना हुँदा राम्रो हुन्छ भन्नेमा उनलाई भने स्पष्ट ज्ञान नै थिएन । कक्षा १२ को नतिजा आएपछि भने चिकित्सक बनाउने परिवारको सपना पूरा नहुुने भयो । कक्षा १२ को कमजोर नतिजाका कारण अधिकारीले एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुने आँटै गरिनन् । कक्षा ११ मा भर्नाको समयमै कुन विषय पढ्दा भविष्यमा के फाइदा हुन्छ भनेर परामर्श लिन नसक्नु उनको कमजोरी थियो, जुन कमजोरीले उनलाई स्नातक तहको पढाइमा समेत अप्ठ्यारोमा पा¥यो ।

सामान्यता कक्षा ११ र १२ को पढाइलाई एसईईपछि उच्च शिक्षाको बाटो कोर्ने पहिलो खुड्किलो मानिन्छ । तर, सही खुुड्किलो पहिल्याउन नसक्दा श्रृष्टिजस्ता थुप्रै विद्यार्थी अहिले पनि पहिलेको बाटोबाट मोडिएर अर्को बाटो रोज्नुपर्ने बाध्यतामा पुगेका छन् ।

धेरैलाई कक्षा ११ र १२ मा पढेकै विषय स्नातक तहमा पढे पनि केहीलाई भने सोचे अनुसारको नतिजा नआएर वा नतिजा आएर पनि नयाँं विषय पढ्न चाहनाले अलमलमा पारिरहेको छ ।

विश्वविद्यालय अनुदान आयोगको पछिल्लो तथ्यांकअनुसार मुलुकभरका विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूमा स्नातक तहमा मात्र साढे तीन लाखभन्दा धेरै विद्यार्थीहरू स्नातक तहमा पढिरहेका छन् । विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरूमा पढ्नेको संख्या पनि दिनप्रतिदिन बढिरहेकै छन् ।

कुन विश्वविद्यालयमा कुन विषय ?

कक्षा १२ पछि स्वदेशमै पढ्ने कि अन्तर्राष्ट्रिय डिग्री लिन विदेशतर्फ लाग्ने ? नर्सिङ् पढ्ने कि बीएस्सीका लागि भर्ना हुने ? शिक्षाशास्त्र विषय लिएर अध्यापक बन्ने वा व्यवस्थापन विषय लिएर कुशल व्यवस्थापक बन्ने ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत सजिलै बिकाउ हुने होटेल व्यवस्थापन विषय लिने वा बीबीएमा भर्ना हुने ? सरकारी क्याम्पसमा पढ्ने वा निजी शिक्षण संस्थामा भर्ना हुने ? स्नातक तहमा भर्ना हुनुअघि आम विद्यार्थी र तिनका अभिभावकको मनमा खेलिरहने साझा प्रश्न हुन् यी ।

नेपालमा स्नातक तहमा चिकित्सा विज्ञान, इन्जिनियरिङ, मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, कृषि, वन, आयुर्वेदिक, संस्कृत र कानुन संकायको पढाइ भइरहेको छ । ११ वटै विश्वविद्यालय, शैक्षिक प्रतिष्ठान र अन्य संस्थामा स्नातक तहमा तीनदेखि पाँच वर्षसम्मका कार्यक्रमहरू सञ्चालनमा छन् ।

विद्यार्थी संख्याका आधारमा सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय हो । त्रिविले स्नातक तहमा नर्सिङ, आयुर्वेद (बीएएमएस), एमबीबीएस, बी फार्मेसी, बी फर्मा, बीएन, बीई (सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, मेकानिकल, कम्प्युुटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स­), बी टेक, बीएस्सी टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट, बीएस्सी न्युट्रिसन एन्ड डाइटिटिक्स), बीएस्सी एजी, बीएस्सी फरेस्ट, बीबीए, बीए, बीएडलगायत विषय सञ्चालन गर्दै आएको छ ।

कक्षा १२ उत्तीर्ण विद्यार्थीले स्नातक तहमा नेपाल संस्कृत विश्वविद्यालयमा भर्ना हुुन पाउँदैन । सो विश्वविद्यालयमा स्नातकमा भर्ना हुन उत्तरमध्यमा तह उत्तीर्ण भएकै हुनुपर्छ । उत्तरमध्यमा पूरा गरेकाहरूले ‘क’ वर्ग (धर्मशास्त्र, न्याय, ज्योतिषलगायत) र ‘ख’ वर्ग (नेपाली, राजनीतिकशास्त्र, अर्थशास्त्रलगायत) विषय अध्ययन गर्न पाउँछन् । नेसंविमा पढ्दा भर्ना र परीक्षाबाहेक अन्य शुल्क लाग्दैन ।

गुणस्तरीय शिक्षामा कहलिएको काठमाडौं विश्वविद्यालयले बीएस्सी इन एप्लाइड फिजिक्स, बीएस्सी फार्मेसी, बीएस्सी इन इन्भारोमेन्टल साइन्स, बीएस्सी इन हुमन बाइलोजी, बीई (सिभिल, कम्प्युटर, मेकानिकल, जियोम्याटिक्स), बीए बुद्धिस्ट इस्टडिज, बीए फाइन आर्टस्, एमबीबीएस, बीएस्सी नर्सिङ, बीडीएसलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले बीए एलएलबी, बीबीए, बीएचएम, बीटीटी (ट्राभल एन्ड टुरिज्म), बीएफडी (फेसन डिजाइन), बीएमटी (मेडिया टेक्नोलोजी), बीजेएमसी (जर्नलिज्म एन्ड मास कम्युनिकेसन्स), बीई (सिभिल, कम्प्युटर, आर्किटेक्ट, बायोमेडिकल), बीएस्सी बायोटेक्नोलोजी, बीपीएच, बीएस्सी नर्सिङ, बीफार्मेसीलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पोखरा विश्वविद्यालयले बीई (सिभिल, सिभिल एन्ड रुरल, सफ्टवेयर, आर्किटेक्ट), पब्लिक हेल्थ, नर्सिङ, फर्मास्युटिकल्स साइन्स, बीबीए, बीएचएम, बीसीआईएस, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट, ब्याचलर अफ डेभलपमेन्ट स्टडिजलगायत विषयमा पठनपाठन गर्दै आएको छ । पोखरा विश्वविद्यालयले गत वर्ष स्नातक तहमा झण्डै १५ हजार विद्यार्थी भर्ना लिएको थियो ।

कृषि तथा वन विश्वविद्यालयले बीएस्सी एजी, बीएस्सी फरेस्ट्री तथा बीएस्सी भेटनरी साइन्स एन्ड एनिमल हस्वेन्डरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीबीएस, बीए, बीएस्सी तथा बीएड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीएड, बीबीएस, बीए र बीएस्सी कम्प्युटर साइन्स विषयमा पठनपाठन सुरु गरेका छन् । सूप विश्वविद्यालयले बीबीएस र बीए चार बर्से अनर्स, बीएस्सी र बीई सिभिल कार्यक्रम चलाएको छ ।

शुल्क कति ?

विद्यार्थीले रुचाएको विषय पढ्न विश्वविद्यालयअनुुसार शुुल्क पनि फरक फरक तिर्नुुपर्छ । मुुलुुकमा हालसम्म सबै भन्दा महँगो पढाइको रूपमा स्नातकमा एमबीबीएसलाई लिइन्छ । यो विषय हरेक वर्ष शुुल्कको विषयमा विवादितसमेत हुुने गरेको छ । यस विषय अध्ययन गर्न ६० लाख रुपैयाँसम्म कलेज सञ्चालकहरूले लिने गरेका छन् । इन्जिनियरिङ विषय अध्ययन गर्दा सरदर सात लाख रुपियाँ लाग्छ । इन्जिनियरिङमा विद्यार्थीको सबैभन्दा बढी चाप सिभिल, आर्किटेक्ट र कम्प्युटरमा छ । सबैभन्दा कम खर्चिलो शिक्षा त्रिविको मानविकी र शिक्षाशास्त्र हो । विज्ञान, व्यवस्थापनलगायत संकायमा विषय र कलेज हेरी १० हजारदेखि पाँच लाख रुपियाँसम्म खर्च लाग्छ ।

पोखरा विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजले बीईमा कुल विद्यार्थी भर्नाको पाँच प्रतिशतलाई र बाँकी विश्वविद्यालयका कलेजहरूले १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराउने गरेका छन् । शिक्षा मन्त्रालयले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएन, बीएएमएस, बीफार्मेसी, बीपीएच र बीफरेस्ट्री विषयमा बर्सेनि सरदर साढे तीन सय विद्यार्थी छनोट गरी छात्रवृत्तिका लागि सिफारिस गर्ने गरेको छ । मन्त्रालयले नेपालका कलेजबाहेक पाकिस्तान, चीन र रुसमा पनि छात्रवृत्तिमा नेपाली विद्यार्थी पठाउने गरेको छ । भारत, जापानलगायत मुुलुुकहरूले आफंैले विद्यार्थी छनोट गरी स्नातक तहमा विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.