सस्तोमै सुविधा सम्पन्न सुजुकीका नयाँ कार
काठमाडौं : आम मानिसको सपना हुन्छ, कार चढ्ने। यो सपना पूरा गर्ने सबैको क्षमता नपुग्न सक्छ। हिजोआज केही कम्पनीहरूले मध्यम आयस्तरका ग्राहकलाई लक्ष्य गरेर सस्ता कारहरू उत्पादन गर्न थालेका छन्। ती मध्ये सुजुकी कम्पनी पनि एक हो। सुजुकीका कार सस्तो, सानो र पारिवारिक गाडी चढ्न रुचाउनेको रोजाइमा पर्ने गरेको छ। उच्च माइलेज र मर्मत खर्च सस्तो पर्ने भएकाले ग्राहकको रोजाइमा सुजुकीका गाडी पर्ने गरेको सीजी मोटोकर्पकी म्यानेजर अनुजा श्रेष्ठ बताउँछिन्।
ग्राहकको मागलाई ध्यानमा राखी सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले असार पहिलो साता द अल न्यु स्विफ्ट ‘भीएक्सआई’ र ‘जेडएक्सआई’ बजारमा ल्याएको छ। ‘गाडी स्पोर्टी र मस्कुलर डिजाइनमा छ। गाडीको डिजाइनका कारण ग्राहकले स्पोर्टी कार चलाएको अनुभूति प्रदान गर्छ’, श्रेष्ठले भनिन्, ‘सानो र हलुका भएकाले गाडी नेपालको सडक सुहाँउदो छ।’
शक्तिशाली इन्जिन र स्पोर्टी तथा मस्कुलर डिजाइनका यी कारले अन्य गाडीजस्तै रुचाइने कम्पनीको विश्वास छ। नेपालको सडक सुहाउँदो ‘भीएक्सआई’ र ‘जेडएक्सआई’ भएको श्रेष्ठको दाबी छ। ‘नेपालका सडक अस्तव्यस्त र साँघुरा छन्। चालकले फराकिला सडकमा मात्र गाडी कुदाउँछन् भन्ने छैन। सानो बनोट र शक्तिशाली इन्जिन भएकाले गल्ली र भीडभाडमा पनि बिनाकठिनाइ गाडी गुडाउन सकिन्छ’, उनले भनिन्।
नेपालको सार्वजनिक यातायात निकै अस्तव्यस्त छ। दुईपांग्रेबाट चारपांग्रे सवारीमा अपग्रेड हुन चाहने ग्राहकले परिवारसहित यात्रा गर्न सानो गाडी रोज्ने गरेका छन्। त्यस्ता ग्राहकलाई ध्यानमा राखेर सुजुकीले नेपाली बजारमा साना गाडी बिक्री गरिरहेको श्रेष्ठ बताउँछिन्। पछिल्लो समय चारपांग्रे सवारी चढ्ने ग्राहकको संख्या पनि बढिरहेको छ। यातायात व्यवस्था विभागको तथ्यांकले नेपालीहरूमा चारपांग्रे सवारीप्रतिको आकर्षण बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष ०७३÷७४ को तुलनामा गत आवमा सवारी दर्ताको संख्या तीन हजार ४६ ले बढेको थियो। गत आर्थिक वर्ष २४ हजार तीन सय ३८ चारपांग्रे सवारी दर्ता भए भने २०७३÷७४ मा २१ हजार दुई सय ९२ दर्ता भएका थिए।
चारपांग्रेको यात्रालाई मानिसको प्रतिष्ठासँग पनि जोड्ने गरिएको छ। आफूलाई समाजमा अन्यभन्दा भिन्न र शक्तिशाली देखाउन पनि चारपांग्रे सवारी चढ्ने ग्राहक संख्या प्रत्येक वर्ष बढिरहेको छ। साथै दुईपांग्रे सवारीको तुलनामा चारपांग्रेको यात्रा सुरक्षित हुने भएकाले पनि त्यसतर्फ ग्राहकको आकर्षण बढिरहेको श्रेष्ठ बताउँछिन्।
सुजुकीका नयाँ गाडी खरिद गर्ने ग्राहकले दुई वर्षसम्म निःशुल्क सर्भिसङ र चार वर्षसम्मको वारेन्टी सुविधा पाउँछन्। सुजुकीले आफ्ना ग्राहकको गाडीमा आउने समस्या समाधान गर्न मुलुकभर २३ वटा सिर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
चार सिलिन्डर भएको गाडीमा एक हजार एक सय ९७ सीसीको शक्तिशाली इन्जिन छ। पाँच सिट क्षमताका यी दुवै गाडी ह्याच ब्याक सेग्मेन्टका हुन्। भीएक्सआईको मूल्य २९ लाख ४९ हजार रुपैयाँ र जेडएक्सआईको मूल्य ३२ लाख ४९ हजार रुपैयाँ छ। ‘दुवै गाडीको शक्ति र माइलेज उस्तै छ। भीएक्सआईको तुलनामा जेडएक्सआईमा केही थप फिचर छन्। त्यसैले जेडएक्सआईको मूल्य अलिक धेरै छ’, श्रेष्ठले भनिन्। गाडीको इन्जिनले ६१ किलोवाटमा ६ हजार आरपीएम पावर दिन्छ। साथै, एक सय १३ एनमा चार हजार दुई सय आरपीएममा टर्क उत्पादन गर्छ। लम्बाई ३८४० एमएम, चौडाई १७३५ एमएम र उचाई २४५० एमएम छ। सानो बनोटका कारण गाडी सहजै गल्लीको बाटोमा पनि चलाउन सकिन्छ।
गाडीको ग्राउन्ड क्लियरेन्स एक सय ६३ एमएम छ। खाल्डाखुल्डी सडकमा चलाउँदा पनि तल्लो भागमा ठोक्किने सम्भावना कम हुन्छ। गाडीमा दुई सय ६८ एमएमको डिक्की दिइएको छ। प्रतिलिटर १५ माइलेज दिने गाडीमा ३७ लिटरसम्म पेट्रोल अटाउँछ।
गाडी सोलिड फायर रेड, पर्ल आर्टिक ह्वाइट, मेटालिक सिल्की सिल्भर, मेटालिक मग्मा ग्रे, पर्ल मेटालिक मिडनाइट ब्लू र पर्ल मेटालिक लुसेन्ट ओरेन्ज रङमा बजारमा उपलब्ध छ। निकै आकर्षक डिजाइनमा प्रस्तुत गरिएको गाडीमा एलईडी रियर कम्बिनेसन ल्याप दिइएको छ। भीएक्सआईमा स्टिल र जेडएक्सआईमा आल्मुनियम एल्वोईले गाडी सुसज्जित छ।
गाडीमा सुरक्षा
पारिवारिक प्रयोजनका लागि प्रयोग गरिने गाडीमा सुरक्षामा विशेष ध्यान दिइएको छ। गाडी दुर्घटनाबाट हुन सक्ने मानवीय क्षतीलाई न्यूनीकरण गर्न ड्युल फ्रन्ट एयर ब्याग राखिएको छ। गाडीलाई सुरक्षित रूपमा निश्चित ठाउँमा रोक्नका लागि एन्टी ब्रेक लक (एबीएस)का साथै इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी) र ब्रेक एसिस्टेन्ट छ। गाडी चोरी रोक्न सेक्युरिटी अलार्म सिस्टम छ। सिट बेल्ट सेन्सर फोर्स सिस्टमको छ। पैदल यात्रीबाट सुरक्षाका लागि गाडीमा पेडेस्ट्रेन प्रोटेक्सन कम्प्लाइन्स पनि दिइएको छ। यो गाडी चलेको पाँच सेकेन्ड तथा २० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्दा अटोमेटिक ढोका बन्द हुन्छ। ड्राइभरलाई सिटबेल्ट लगाउन गाडीले सूचना दिन्छ। यी सुरक्षा सामग्री दुवै गाडीमा उपलब्ध छ। बालबालिका पनि गाडीमा सवार गर्ने भएकाले ढोका बन्द गर्न बिर्सिएर हुन सक्ने मानवीय दुर्घटना न्यूनीकरण हुने श्रेष्ठको भनाइ छ। रात र दिनको उज्यालोअनुरूप गाडीभित्रको सिसा मिलाउन सकिन्छ।
जेडएक्सआईका थप फिचर
भीएक्सआईको तुलनामा जेडएक्सआईको मूल्य तीन लाख अधिक छ। गाडीमा राखिएका केही विशेष फिचरका कारण मूल्य धेरै भएको श्रेष्ठ बताउँछिन्। जेडएक्सआईको स्टेरिङमा लेदरको प्रयोग गरिएको छ। जेडएक्सआईमा गाडीमा स्वचालित रूपमै बाहिरको तापक्रमबारे जानकारी पाइन्छ। रियर डिफोगर, रियर वाइपर एन्ड वासर पनि राखिएको छ। ६० प्रतिशतसम्म गाडीको सिटलाई तलमाथि गर्न सकिन्छ। गाडीको डिक्कीमा बत्ती र स्मार्ट साँचो प्रयोग गरिएको छ। साँचोको प्रयोगबिना गाडी बन्द गर्न र खोल्न सकिन्छ। पार्किङ गर्दा ठोक्किनबाट बचाउन रिभर्स पार्किङ सेन्सर छ। सिटलाई ड्राइभरले औलाले छोएर खोल्न सक्छन्।
मनोरन्जक र आरामदायी
ग्राहकहरू गाडी खरिद गर्ने मामिलामा निकै चुजी हुन्छन्। चढ्नका लागि मात्रै गाडी किनिँदैन। आरामदायी चाहिँयो र त्यसमा मनोरन्जनका सामग्री पनि हुनुपर्छ। गाडीमा रहेको अडियो प्लेयर, सीडी प्लेयर, एमपी थ्री र एफएम रेडियोबाट मनोरन्जन लिन सकिन्छ। चालकले आफ्नो उचाईअनुसार गाडीको स्टेरिङलाई पायक पर्ने गरी राख्न मिल्छ। भीएक्सआईमा म्यानुअल एयर कन्डिसन र भीएक्सआईमा अटोमेटिक एयरकन्डिसन छ। गाडीबाहिरको सिसा पनि इलेक्ट्रिकल्ली सेट गर्न मिल्छ।
सुजुकीका गाडी नै किन
सुजुकीका नयाँ गाडी खरिद गर्ने ग्राहकले दुई वर्षसम्म निःशुल्क सर्भिसङ र चार वर्षसम्मको वारेन्टी सुविधा पाउँछन्। सुजुकीले आफ्ना ग्राहकको गाडीमा आउने समस्या समाधान गर्न मुलुकभर २३ वटा सिर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले तीन सय ६५ दिन नै एक्सचेन्ज सुविधा दिने र वर्षको तीन पटक मेला आयोजना गरिरहेको छ। साथै, अन्य कम्पनीका गाडी पनि सुजुकीका गाडीसँग एक्सचेन्ज गर्न मिल्ने श्रेष्ठ बताउँछिन्। सुजुकीको एक्सचेन्ज भ्यालुएसन बजारभन्दा उच्च हुने पनि उनको दाबी छ। साथै एक मुष्ठ रकम बुझाउन नसक्ने ग्राहकलाई कम्पनीमा फाइनान्सको पनि व्यवस्था छ। ग्राहकले ३५ प्रतिशत डाउन पेमेन्टसहित फाइनान्स सुविधा पनि लिन सक्नेछन्। ११.९ प्रतिशत ब्याजदरमा ग्राहकले सात वर्षको किस्ताबन्दीमा गाडी खरिद गर्न सक्ने श्रेष्ठ बताउँछिन्।