बलात्कार : शिक्षा र सजाय

बलात्कार : शिक्षा र सजाय

स्त्री–पुरुष सम्बन्ध बहुआयामिक छ। यसको एक सुन्दर स्वरुप हो– प्रेम। विकृत अवस्था हो– बलात्कार। संसारमा अनेकथरि अपराध–कर्म छन्। बलात्कार निकृष्ट श्रेणीको हो। यसको निन्दा जति गरे पनि कम हुन्छ। गर्नै पर्छ। तब न विषय प्रकाशमा आउँछ। तर निन्दा, आवेश र सजाय मात्र  पर्याप्त छैन। हामीले समाजलाई बलात्कारबाट मुक्त राख्ने हो भने नयाँ तरिकाबाट यसमा बहस र काम गर्नु जरुरी छ।

‘महिला हिंसा सचेतना र रोकथाम’ शीर्षकको नाममा संसारमा पर्याप्त रकम खर्च भइसक्दा पनि अपेक्षित परिणाम आइरहेका छैनन्। के तपाईंलाई थाहा छ– संसारमा महिला बलात्कारका घटना हुने ‘शीर्ष दश’ देश कुन हुन् ? के तपाईंलाई थाहा छ– बलात्कारका बहुआयामिक पक्षहरू के के हुन् ? के यसको समाधान प्रशासकीय दण्डको मात्रामा बढोत्तर गरेर मात्र सम्भव छ ? अथवा बदलिँदो परिवेशमा थप अन्य उपाय पनि आवश्यक छन् ?

नेपालमा कार्यरत देशी–विदेशी र स्वयम्सेवी तिनैथरि संस्थाहरू वा तिनका स्थानीय ‘प्रोजेक्ट पार्टनर’ले आमजनतालाई यस विषयमा खासै धेरै बताएका छैनन्। जनस्तरसम्म यो कुरा पुगेकै छैन वा जनताले कुरा बुझेकै छैनन् ? कुरा के हो ?    

थाहा पाएर छक्क पर्नुहोला, महिला बलात्कृत हुने ‘शीर्ष दश’ देशमा बहुमत–विकसित र शिक्षित देशको छ। अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, स्वीडेन आदि यसै ‘शीर्ष दश’मा पर्छन्। दक्षिण एसियामा श्रीलंका अग्रपंक्तिमा छ। भारत पनि यो सूचिमा पर्छ।

पुराना दिनमा संसारमा बलात्कारका घटनालाई बढी लुकाइने गरिन्थ्यो। आजभोलि यी घटनाहरू बढी मात्रामा प्रकाशमा आइरहेका छन्। साथै पाश्चात्य जगतमा ‘बलात्कारको झुटो आरोप’ लगाउने चलन पनि बढ्दै छ। बलात्कार यदि जघन्य आरोप हो भने कसैलाई ‘बलात्कारको झुटो आरोप’ लगाउनु झन् संगीन र निन्दनीय कर्म हो। अब जब हामी बलात्कार बापतको दण्ड पुनरावलोकन गर्नेछौं, कानुन निर्माताहरूले त्यही अनुपातमा पछिल्लो अपराधको निम्ति पनि कानुनी व्यवस्था मिलाउनुपर्ने जरुरी देखिन्छ।

‘निर्मला’ प्रकरणले नेपालमा महिला बलात्कारको विषयलाई सबैले देख्ने चौबाटोमा राखिदिएको छ। यो प्रकरणले अनेक विषय उजागर गरेको छ। त्यसबाट नजर अन्त राखेर भाग्ने अवस्था छैन। अपराधी यथाशिघ्र कानुनी दायरामा ल्याइयोस् भन्ने आमजनताको माग छ। शनिबार बिहानदेखि स्वयम् प्रधानमन्त्रीजी र प्रचण्डजीको अग्रसरतामा यसबारे कदमहरू चाल्न सुरु भएको छ। यसलाई यथाशिघ्र निर्णायक विन्दुमा पुर्‍याइयोस्।

सरकार, राजनीतिक दल, यस क्षेत्रमा काम गर्दै आएका सरोकारवालाहरू र आम जनता सबैले ‘निर्मला प्रकरण’बाट शिक्षा लिएर महिला हिंसाको रोकथामका निम्ति युगान्तकारी पाइला चाल्ने अवसर हो।

यसका लागि सबैभन्दा पहिले बृहद् पृष्ठभूमिको मौलिक ज्ञान अनिवार्य छ। टुक्रे विकासे सेमिनारे गफ गरेर धेरै टाढा पुगिन्न। यदि संसारका सबैभन्दा विकसित, शिक्षित, धेरै सक्षम र आधुनिक सुरक्षा प्रणाली भएका देशमा पनि बलात्कार बढिरहेको छ भने स्थितिको जटिलता सहजै अनुमान गर्न सकिन्छ।

हाम्रो अगाडि दोबाटो प्रस्ट छ। पहिलो बाटो, अपराधीको निन्दा–सजाय माग गर्ने र सजाय दिलाउने। दोस्रो बाटोचाहिँ यत्तिमै सीमित हुँदैन। यो टाढासम्म जाने राजमार्ग हो। समय अलि लाग्छ तर नतिजा राम्रो हुन्छ। त्यसका लागि सबैभन्दा पहिलो कुरा– जटिल समस्याको सतही समाधान खोज्ने रोगबाट हामी मुक्त हुनुपर्छ।

बलात्कार एक जटिल र बहुआयामिक अपराध हो। यसको एकाङ्गी र सरल समाधान उपलब्ध हुँदो हो त आजसम्म पुरै समाधान भइसक्थ्यो। यस विषयका सरोकारवाला विज्ञ एवम् जानकारहरूले अबका दिनमा हामी सामान्यजनलाई बलात्कार अपराध र अपराधीका आयामबारे सुसूचित गरुन्। अहिले पनि केही सूचना र बहस नभएका होइनन्। तर, तिनको दायरा फराकिलो र गहिरो पार्नु जरुरी छ। 

सबैभन्दा धेरै महिला बलात्कार हुनेमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र स्वीडेनजस्ता देश पर्छन् भने थोरै बलात्कार हुनेमा मुश्लिम देशको बाहुल्य छ। एक हिसाबले त खुल्ला समाजमा बलात्कार कम हुनुपर्ने हो। तर, तथ्याङ्कले त्यस्तो देखाउँदैन।

सबैभन्दा धेरै महिला बलात्कार हुनेमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र स्वीडेनजस्ता देश पर्छन् भने थोरै बलात्कार हुनेमा मुश्लिम देशको बाहुल्य छ। एक हिसाबले त खुल्ला समाजमा बलात्कार कम हुनुपर्ने हो। तर, तथ्याङ्कले त्यस्तो देखाउँदैन। त्यसको कारण, सरोकारवाला विज्ञहरूले बताउन सक्लान्, सायद। मुश्लिम देशमा बलात्कारीलाई सजायस्वरुप टाउको काटेर तत्काल मृत्युदण्ड दिने व्यवस्था छ। त्यसबाहेक ती देशमा महिला र पुरुषबीच प्रत्यक्ष भेटघाट र संवाद हुन सजिलो छैन। पश्चिमा देशमा झैं बलात्कार भइहाले प्रहरीमा उजुरी गर्ने वातावरण पनि मुश्लिम देशमा अलि कमै छ। तर, कानुन अत्याधिक कठोर छ। स्त्री–पुरुष भेटघाट र नजिकिने अवसर पनि कमै छन्।  

बलात्कार गर्ने अपराधिक मानसिकता कुनै क्षणभरको आवेगमा उत्पन्न हुन्छ वा यो अपराधिक प्रवृत्ति छिपेर स्थायी रुपमै व्यक्ति विशेषमा लुकेको हुन्छ भन्नेबारे मनोवैज्ञानिकका धारणा एकमतमा छैनन्। यस विषयमा पनि समाजमा थप जानकारी र छलफल भए उचित हुनेछ। 

‘बलात्कार गरेर मलाई केही हुन्न, म फुत्किइहाल्छु, केटीले केही गर्न सक्दिन’ भन्ने सोचाई पनि कयौं बलात्कारीमा पाइएको छ। अबदेखि हामी नेपालमा बलात्कारीलाई यस्तो सजाय दिउँ, ताकि सबैले देखुन्– अबको नेपालमा बलात्कारको दुस्साहस गर्नेले त्यसको भयानक मूल्य चुकाउनुपर्ने छ।

सजायको डरले एक निश्चित स्थितिको निर्माण त गर्नेछ तर पनि जोडिएका कयौं समस्या कायमै रहने छन्। हामीले यौनलाई कानेखुुसीको गोप्य र चर्चा गर्नै नहुने विषय बनाएर लामो समयदेखि समाजमा राखिआएका छौँ। अब जब समाजमा व्यापक आर्थिक–सामाजिक रुपान्तरण भइसकेको छ, तब हामीले स्वस्थ तरिकाले समाजमा यौन चर्चाको वातावरणलाई प्रोत्साहित गर्नुपर्छ।

नेपालमा अब ‘रेडलाइट एरिया’ र यौनकर्मीलाई कानुनी मान्यता दिनेबेला भइसकेको छ कि भन्ने कुरा सोच्नुपर्छ। हर हातमा मोबाइल छ। इन्टरनेटमा सबैभन्दा बढी हेरिने कुरा पोर्नोग्राफी भएको छ। समाजको बास्तविक यथार्थ, पुराना सामाजिक मान्यता र चालु कानुनबीच एक न्यूनतम तादम्यता भएन भने कानुनका अक्षर पाखण्डका अक्षरमा परिणत हुन्छन्। जुन देशमा कानुनको किताबमा लेखिएका अक्षर वास्तविक जीवनमा लागू हुँदैनन्, त्योभन्दा ठूलो कानुनको अपमान अरु केही हुन सक्दैन। म नेपाल सरकार, सबै राजनीतिक दल र समाजसँग यो विषयमा गम्भीरतापूर्वक सोच्न र छलफल अगाडि बढाउन आग्रह गर्छु।

म यो भनिरहेको छुइनँ कि ‘रेडलाइट एरिया’ र यौनकर्मीको पेशालाई कानुनी मान्यता दिनेबित्तिकै बलात्कारको समस्या समाधान हुन्छ। यौनको पाशविक भोकका कारण मात्र बलात्कार हँुदैनन्। त्यसैले त अमेरिका, फ्रान्स, जर्मनी, बेलायत आदि देशमा यौनकर्मीलाई कानुनी मान्यता दिइएको भए पनि बलात्कारको गति कायमै छ। रेडलाइट एरियाको स्थापना र यौनकर्मीलाई कानुनी मान्यताको व्यवस्था गरिए सानो हदमै भए पनि यसको सकारात्मक प्रभाव पर्नेछ। हामीले भुल्नु हुन्न, संसारमा सबैभन्दा बढ्ता खोजिएको र सबैभन्दा कम बुझिएको विषयमध्ये यौन एक हो।

हामीले धेरै कालसम्म यौनका विषयमा दुईमुखे अतिवादी धारणा बनायौँ। पहिलो यसको विषयमा चर्चा गर्नै नहुने रे ! दोस्रो यो एक खितखिते हाँसो वा अश्लिल तरिकाले मात्र व्यक्त गर्ने विषय हो रे ! अब हामीले यी दुवै अतिवादबाट हटेर यौन शिक्षालाई पाठ्यक्रममा समावेश गराउनुपर्छ। जीवन र पाठ्यक्रमबीच न्यूनतम हदभन्दा धेरै दुरी भए त्यो शिक्षा होइन, पाखण्ड हुन्छ। 

अरू धेरै कुरा गर्न सकिन्छ होला। एउटा स्वस्थ चर्चाको थालनी गरौँ। बलात्कारको अपराधका केही पक्षहरू मान्छेको विकृत यौन मनोविज्ञानसँग पनि जोडिएको छ। ती पाटाहरूको सन्दर्भमा मात्र यी कुरा गरिएका हुन्। बलात्कारसम्बन्धी कानुनलाई अझ कडा बनाउने भन्ने विषयमा त देशको मूड एकमत छँदै छ। संसदमा माननीय बिन्दा पाण्डेजीको संकल्प प्रस्ताव पारित भएको छ। प्रतिपक्षको पनि यस बिषयमा पुरै साथ छ। 

अन्त्यमा म आफ्नै ट्विटर ह्यान्डलमा लेखिएका शब्द दोहोर्‍याउन चाहन्छु, ‘कति रोयौ होला...कति छटपटायौ होला...जुन वेदना हामी सोच्न पनि सक्दैनौँ...त्यो पिडा तिमीले कसरी भोग्यौ होला..सिरिङ्ग हुन्छ !

म तिम्रो निम्ति मात्र न्याय मागिरहेको छुँइन निर्मला। समाजको सामूहिक चेतनाको निम्ति न्यायको याचना गर्दै छु।’

मलाई आफ्ना जनप्रतिनिधिहरूको सामूहिक विवेकमा अझै विश्वास छ। हामी निर्मलाको ज्यान फिर्ता ल्याउन सक्दैनौँ। तर, हामी उनको बलिदानबाट भविष्यका निम्ति गोरेटो निर्माण गर्न सक्छौँ। एक यस्तो बाटो, जसमा नेपाली नारीहरू निर्भय भएर जीवन–यात्रा गर्न सकून्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.