डोकोमा सुन्तला बेच्नेलाई १० रुपैयाँ कर

डोकोमा सुन्तला बेच्नेलाई १० रुपैयाँ कर

पोखरा : फेदीखोला गाउँपालिकाले डोकोमा सुन्तला बेच्न हिँड्नेसँग प्रतिडोको प्रतिदिन १० रुपैयाँ कर लिने नीति बनाएको छ । तरकारी होस् या अरु कुनै चिज डोकोमा बेच्नेहरुलाई उक्त गाउँपालिकामा त्यति नै कर लाग्छ । खाद्यान्न वा लत्ता कपडा भ्यानमा गुडाउँदै बेच्नेलाई प्रतिदिन १०० रुपैयाँ कर गाउँपालिकाले तोकेको छ । सिद्धार्थ राजमार्गको कुभिन्डे हुँदै गाउँपालिकाको नुवाकोटतिर जाने सडकमा गुड्ने सवारी साधनले दैनिक कर तिर्नुपर्छ । त्यो सडकमा पटके सवारी कर उठाउन भनेर वार्षिक ३ लाखमा फेदीखोलाले ठेक्का लगाएको छ । त्यस्तो पटके सवारी कर कास्कीको अन्नपूर्ण, माछापुच्छे«, मादी र रुपा गाउँपालिकामा पनि छ । यी स्थानीय तहले हलुवा सवारी साधनलाई दैनिक २० रुपैयाँदेखि ठूलालाई १०० रुपैयाँसम्म लिन ठेक्का लगाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कास्की, स्याङ्जा, पर्वत र तनहुँका केही स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरुलाई करबारे छलफलका लागि बुधबार पोखरा डाकेको थियो । सहभागीहरुले आआफ्ना स्थानीय तहले लगाएको करबारे जानकारी दिएपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्यालले संघ र प्रदेशको बजेट आइसकेपछि आर्थिक ऐन हेरेर कर लगाउनुपर्नेमा त्यस्तो नभएको बताए । ‘संघको बजेट जेठ १५, प्रदेशको असार १ र स्थानीय तहको असार १० गते बजेट ल्याउनुपर्छ’, उनले भने, ‘स्थानीय तहले सबैभन्दा पछि बजेट ल्याउने हुँदा प्रदेश र संघको आर्थिक ऐन हरिसक्नुपथ्र्याे ।’

अर्यालले पटके सवारी साधन करलाई अहिलेको कानुनले नचिन्ने जानकारी दिए । ‘पहिला स्थानीय निकायमा सवारी साधन कर पाउँदैनथे, अहिले आयोगको सिफारिसमा सवारी साधन कर आउँछ’, उनले भने, ‘स्थानीय तहले त्यत्तिकै कर लगाउने होइन, संघ र प्रदेशलाई फलो गर्नुपर्छ ।’ सचिव अर्यालले आफूले दिने सेवा र सुविधा हेरी कर लगाउन सुझाए । उनले कर संकलनको स्रोत र कर तिर्नसक्ने जनताको सामथ्र्य हेर्नुपर्ने खाँचो औंल्याए । पोखरा लेखनाथ महानगरपालिका लगायतले एकीकृत सम्पति करमा सम्पतिको वर्गीकरबिना कर लगाइरहेकोमा सचिव अर्यालले आवासीय रुपमा प्रयोग हुने घरमा थोरै कर लगाउनुपर्ने बताए । आयोगका सहसचिव गोपीकृष्ण खनालले पनि आम्दानी नदिने सम्पतिमा कर थोरै लगाउने विश्वव्यापी प्रचलन रहेको सुनाए । ‘पोखराको न्युरोडमा घर छ तर आम्दानी दिँदैन भने त्यस्तालाई र व्यापारिक प्रयोजनमा प्रयोगमा हुने घरलाई करको दर एउटै हुनुहुँदैन’, उनले भने ।

गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मुक्ति पाण्डेले पनि पटके सवारी कर तुरुन्तै रद्द गर्न सुझाए । उनले भने, ‘बरु पार्किङ शुल्कचाहिँ लिन मिल्छ ।’ व्यास नगरपालिकाका प्रतिनिधिले व्यक्ति डेरावालसँग ५ र संस्था डेरावाल भए १० प्रतिशत बहाल कर उठाउँदै आएको जानकारी दिएका थिए । सचिव पाण्डेले घरभाडा व्यवसाय नै गर्नेसँग कर कार्यालयले लिने तर अरु सबै बहाल कर स्थानीय तहले उठाउनुपर्ने बताए । उनले भने, ‘बहाल कर भाडामा बस्नेसँग होइन भाडामा दिनेसँग लिने हो र व्यक्ति र संस्था भन्ने होइन ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णुदत्त गौतमले व्यवसाय कर लिँदा हचुवामा नलिई कागजात हेर्नुपर्ने खाँचो औल्याए । त्यसबारे कार्यविधि बनाएर ७५३ वटै स्थानीय तहमा पठाउने जानकारी पनि उनले दिए । ढुंगागिटी बालुवा सम्बन्धमा प्रदेशले बनाएको कार्यविधिमा मापन एकाइ क्युबफिट राखिँदा अप्ठेरो परेको व्यास नगरपालिकाका हेमन्त गुरुङले बताए । उनले चुनढुंगा र डोलामाइटमा पनि त्यस्तै समस्या भएको सुनाए ।

पर्वतको कुस्मा नगरपालिकाका टेकनारायण सुवेदीले ढुंगागिटी र बालुवा उत्खनन् गर्दा वातावरणीय मूल्यांकन गरी एक्साभेटर जस्ता हेभी उपकरण प्रयोग गर्न मिल्ने कार्यविधि प्रदेशबाट आएको बताए । तर उनकै भनाइमा यसअघि उच्च अदालत पोखराको बागलुङ इजलासले हेभी उपकरणमा रोक आदेश गरेको हुँदा दोधार परेको छ । आयोगका सहसचिव खनालले त्यस्तो हुँदा अदालतकै आदेशको मान्यता हुने जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.