गाउँपालिका अध्यक्ष कृषि पेसामा

गाउँपालिका अध्यक्ष कृषि पेसामा

सन्धिखर्क : पहिला व्यवहारमा उतारौं र अरुलाई पनि सिकाऔं । यसैका उदाहरणीय पात्र बनेका छन् पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम । उनले कृषि पेसाबाटै लाखौं आम्दानी गर्न सकिन्छ भन्ने गरेर देखाए । मुखले भनेर मात्र हुँदैन परिवर्तन आफैंबाट गर्नुपर्छ भन्ने मान्यतालाई उनले व्यवहारमा उतारे ।

विहान, बेलुका र विदाको समय उनी तरकारी खेती र कुखुरापालनमा बिताउने गर्छन् । ‘अरुले भाषण गर्छन्, म गरेर देखाउँछु’, उनले भने । काम नगर्ने प्रवृत्तिका कारण देश बिग्रिएको उनको भनाइ छ ।

२०३१ साल चैत ३० गते पोखराथोकमा जन्मिएका गौतम क्याम्पस पढ्दा पढ्दै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । नेविसंघ तथा कांग्रेसमा रहेर काम गर्दै गर्दा आठ वर्षअघि तत्कालीन पोखराथोक गाविसको नेपाली कांग्रेसको सभापति भए । गाविसको पाटी सभापति रहँदा उनी त्यस क्षेत्रको राम्रो नेताको रूपमा स्थापित भए । कार्यकर्ताले जागीर लगाइदिन आग्रह गर्दा उनले आफूलाई कृषि व्यवसायमा तल्लिन बनाएर सबैलाई उदाहरण बने ।

धेरै मानिसहरूले छोरा, छोरी र बुहारीलाई जागिरको माग गर्थे । तर उनले जागिरभन्दा आफैं केही गर्नुपर्छ । कृषि र पशुपालन व्यवसाय गरेमा जागिरमाभन्दा बढी आम्दानी गर्न सकिन्छ भनेर सम्झाउँथे । तर कृषि र पशुपालनमा कसैले ध्यान दिँदैनथे । हाम्रो समाजमा बरु चार, पाँच हजारको जागिर गर्न मन पराउने तरकारी खेती र कुखुरापालन गर्न हिच्किचाउने मानिस छन् । उनले भने, ‘अधिकांश मानिसहरूले जागिर भनेर छटपटाउने तर आफंै केही गर्नुपर्छ भनेर बुझाउँदा कसैले नगर्ने ।’ मनमा केही गरेर समाजलाइ देखाउनुपर्छ भन्ने सोच आयो र २०६८ सालदेखि उनले तरकारी खेती र कुखुरापालन सुरु गरे । अहिले नसोचेको आम्दानी दिएको छ । तरकारी खेती र कुखुरापालनबाट अहिले सन्तुष्टी छु । म मात्र हैन यस क्षेत्रका धेरैलाई कृषि पेसामा लाग्न प्रेरणा मिलेको छ ।

विदेश पलायन र जागिर मात्रै खानुपर्छ भन्ने युवाको सोचमा परिवर्तन गर्न र आफूले गरेपछि अरु पनि कृषि पेसामा लाग्न सक्छन् भन्ने लागेर तरकारी खेती र कुखुरापालनमा लागेको उनको भनाइ छ ।
अन्य समयमा सामाजिक काममा व्यस्त हुन्छन् । विहान, बेलुका र विदाको समय उनी तरकारी खेती र कुखुरापालनमा बिताउने गर्छन् ।

उनले अहिले कुखुरापालन र तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक १८ देखि २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । यो आम्दानीलाई हिसाब गर्दा मासिक एक लाख ६० हजारभन्दा बढी हुन आउँछ । यो आम्दानी कुनै जागिरबाट सम्भव छैन । उनी जिल्लाको पूर्वी क्षेत्रकै राम्रो नेता र समाजसेबीका रूपमा ख्याति कमाइरहेका छन् । पोखराथोकमा रहेको हरिहर संस्कृत तथा साधारण उच्च माध्यमिक विद्यालयका अध्यक्ष तथा अन्य समाजसेवाको कार्यमा पनि उनी अग्रसर भएर काम गरिरहे । जसका कारण गाउँपालिका अध्यक्षमा जित्न पनि सफल भए । उनी नेपाली कांग्रेसको क्षेत्रीय सभापति पनि हुन् ।

तरकारी खेतीबाटै वार्षिक १० लाख

उनले आफ्नो भिरालो पाखोबारीमा बनाइएका १२ वटा टनेलमा टमाटर उत्पादन गरेका छन् । टमाटर खेतीबाट उनले राम्रो आम्दानी गरिरहेका छन् । काँक्रा, घिरौला, लौका, मुला, टमाटार, बन्दा, सागलगायत तरकारी उत्पादन भएका छन् । उत्पादन भएको तरकारी स्थानीय बजार र बुटबलको सब्जी मण्डीमा बिक्री हुने गरेको गौतमले बताए । तरकारी खेती गरेका उनलाई बजारको पनि समस्या छैन ।

तरकारी खेतीबाटै वार्षिक उनले आठदेखि १० लाख आम्दानी लिने गरेका छन् । परि श्रम गरे यहीँको माटोमा सुन फलाउन सकिन्छ भन्ने मान्यताका साथ सुरु गरेको व्यवसायले अहिले सोचेभन्दा बढी फाइदा दिएको उनले बताए ।

‘खेती गर्न जग्गा राम्रो छैन । पाखोबारीमा के खेती हुन्छ र गर्नु ? सदरमुकाम र बजारनजिक छैन भनेर भन्ने कुरा बहाना मात्र हो’, उनले भने, ‘हेर्नुस् यो पनि पाखोबारी नै हो । गरे त हुन्छ नि, हामी नेपालीको बानी कुरा गर्ने काम नगर्ने गर्दा देश बिग्रिएको छ ।’ टमाटर बेचे पैसो, खुर्सानी बेचे पैसो, बन्दा बेचे पैसो, साग बेचे पैसो । उत्पादन गर्न सके हुन्छ, जेमा पनि पैसो छ । उनले भने, ‘काम गरौं उत्पादन बढाऔं । पैसाका लागि कही कतै भौतारिनु पर्दैन ।’

अन्डा बेचेर वार्षिक १५ देखि २० लाख

अन्डा उत्पादन गर्ने कुखुरापालन पनि उनले सँगसँगै अगाडि बढाएका छन् । उनको कुखुरा फर्ममा अहिले ३५ सय अन्डा उत्पादन गर्र्ने कुखुरा छन् । एक दिनमा तीन हजार हाराहारीमा अन्डा उत्पादन हुन्छ । अन्डा उत्पादनबाट वार्षिक रूपमा कम्तीमा १५ देखि २० लाखसम्म आम्दानी हुने गौतमको भनाइ छ ।

सुरुमा ब्रोइलर कुखुरा पालेका गौतमले गत वर्षदेखि अन्डा उत्पादन गर्ने कुखुरापालन गर्न सुरु गरेका हुन् । ब्रोइलर कुखुराको आम्दानी लिन दुइ महिना कुर्नुपर्ने तर अन्डाले दैनिक आम्दानी हुने भएपछि उनी अन्डा उत्पादन गर्ने कुखुरापालनमा लागेका हुन् ।

मनमा साहस र शरीरमा जागर हुनेले पैसाका लागि जागिर र विदेश नै जानुपर्दैन भन्ने उदाहरणीय पात्र बनेका गौतमले गरेको कृषि क्रान्ति साच्चिकै नमुना छ ।

आसपासको क्षेत्रका एक सय युवाहरु कृषि क्रान्तिमा

तिन÷चार वर्ष पहिलासम्म घरगाँउमा बसेर तरकारी खेती, कुखुरापालन, गाईभैंसीपालन गरे इज्जत जाने डरले रोजगारीका लागि बैदेसिक रोजगारीमा जाने युवा अहिले घटेका छन् । केही विदेश नै नगइकन त केही विदेश गएर हन्डर खाएपछि अच्युतको कृषि क्रान्ति देखेर व्यावसायिक तरकारी खेती, पशुपालन र कुखुरापालनमा लागेका छन् ।

पोखराथोक, पणेना, मैदान पटौटी, खिदिम, अडगुरी, धातीबाङ, पालीलगायत स्थानमा उनीबाटै प्रभावित भएर झन्डै एक सय युवा व्यावसायिक तरकारी खेती र कुखुरापालनमा लागेका छन् ।

विदेश पलायन र जागिर मात्रै खानुपर्छ भन्ने युवाको सोचमा परिवर्तन गर्न र आफूले गरेपछि अरु पनि कृषि पेसामा लाग्न सक्छन् भन्ने लागेर तरकारी खेती र कुखुरापालनमा लागेको उनको भनाइ छ । कृषि पेसाबाट राम्रो आम्दानी हुन्छ भनेर सुनाउँदा नपत्याएपछि युवालाई प्रेरणा र जागरुक बनाउन आफैं कृषिमा लागेको उनले बताए । उनलाई पाणिनी गाउँपालिका मात्र हैन नेपालकै नमुना कृषकको रूपमा लिन सकिन्छ ।

गाउँपालिका अध्यक्ष भए पनि कृषिलाई निरन्तरता

अधिकांश नगरपालिका र गाउँपालिका अध्यक्षहरू भाषण गरेर अरुलाई सिकाउँछन् । तर गौतमले काम नगरी बस्ने तथा विदेशको मुख ताक्ने युवाका लागि अभियानमा छन् ।

अन्य समयमा सामाजिक काममा व्यस्त हुन्छन् । विहान, बेलुका र विदाको समय उनी तरकारी खेती र कुखुरापालनमा बिताउने गर्छन् । ‘अरुले भाषण गर्छन्, म गरेर देखाउँछु’, उनले भने, ‘नगरी हँुदैन । कुरा गर्ने काम नगर्ने प्रवृत्तिका कारण देश बिग्रिएको हो । हामी सबै लागेर राम्रो बनाउनुपर्छ ।’

राजनीति गर्ने मानिसले अरुलाई देखाउन पनि केही गरेर देखाउनुपर्छ । राजनीति गर्न आफू सक्षम हुनुपर्छ । आफैं गरे मात्र अरुलाई सिकाउन सकिन्छ ।

पाँच जनालाई रोजगारी

उनी आफू मात्रै कमाएका छैनन् । तरकारी खेती र कुखुरापालनमा पाँच जनालाई रोजगारी पनि दिएका छन् ।

पाँच जना मासिक तलबमा काम गर्छन् भने दैनिक ५,६ जना ज्यालादारीमा पनि छन् । उनको तरकारी खेती र कुखुरापालनले १० परिवारको रोजीरोटी पनि चलेको छ । कामका लागि बाहिर जानु परेन गाउँमै काम पाउँदा उनीहरू पनि खुसी छन् ।

कृषि र पशुपालनमा नमुना गाउँ बनाउने अभियान

कृषि र पशुपालनमा प्रबल सम्भावना बोकेको पाणिनी गाउँपालिकालाई कृषि र पशुपालनमा नमुना बनाउने अभियानमा उनी लागेका छन् । गाउँ सभाले कृषि र पशुपालनमा काम गर्न यस वर्षका लागि दुई करोड १२ लाख बजेट विनियोजन गरेको छ ।

गत आर्थिक वर्ष २०७४÷७५ मा पनि कृषि र पशुपालनमा धेरै बजेट छुट्टाएर काम गरेका थिए । पालिकाले गत वर्ष कृषिमा आधुनिकीकरण गर्न ४३ वटा हाते ट्र्याक्टर कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । गाउँपालिकाले व्यावसायिक गाईपालन गर्ने कृषकलाई प्रोत्साहन गर्न ३५ कृषकलाई प्रतिकृषक २० हजारका दरले अनुदान दियो ।

प्लास्टिकको घरभित्र टमाटर खेती गर्न दुई सय प्लास्टिकका टनेल, ६० स्पेयर, गोठ सुधार, भकारो सुधार, खोर सुधारलगायत कार्यक्रमका लागि अनुदान वितरण गरिएको छ । बाख्रापालनमा अनुदान, बोका वितरणसँगै स्थानीय जातका ५० वटा लोकल कुखुरा पाल्ने कृषकलाई प्रतिकृषक १० हजारका दरले अनुदान दिएको अध्यक्ष गौतमको भनाइ छ ।

उत्पादन मात्र हैन बजारका लागि पनि योजना बनाएर पालिकाले काम गरिरहेको छ । दूध उत्पादनका लागि गाई किन्न र उत्पादित दूध तथा दुग्धजन्य पदार्थ बिक्रीका लागि दूध डेरीलाई अनुदान दिएको छ ।

यो वर्ष कृषकलाई राहत पुग्ने कार्यक्रम सञ्चालनका लागि सबैभन्दा बढी दुई करोड १२ लाख बजेट विनियोजन गरेका उनले उत्कृष्ट काम गरेर देखाउने योजना बनाएका छन् ।

जनप्रतिनिधिबारे समय समयमा नकारात्मक खबर सुन्ने गरिन्छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष गौतमको कृषि क्रान्ति साच्चीकै नमुना छ । यीनको कृषि क्रान्ति हेरेर अन्यले पनि केही गरेर देखाउन सके जनप्रतिनिधिप्रति रहेको आम धारणामा परिवर्तन आउन सक्छ । देश विकासका लागि गरेर देखाउनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.