बुटवल धागो कारखाना सञ्चालनका लागि अध्ययन
बुटवल : बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा केही दिनभित्रै टुंगो लगाउने तयारी गरिएको छ। आठ वर्षअघिदेखि बुटवल धागो बन्द छ। हेटौंडा कपडा उद्योग सञ्चालनपछि धागो कारखानाको टुंगो लगाइनेछ।
अहिले बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग दुवै बन्द अवस्थामा छन्। हालै सरकारले हेटौंडा कपडा कारखाना सञ्चालन गर्न प्रक्रिया अघि बढाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको कार्यदलले कपडा उद्योगको अध्ययन गरी सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो।
हेटौंडा कपडा उद्योग सञ्चालनपछि बुटवल धागो कारखानाको अध्ययन गरिने पुडासैनीले बताए। ‘अहिले हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सकिने गरी अघि बढेका छौं। उद्योग सञ्चालनमा आएपछि बुटवल धागो कारखानाको पनि स्थलगत अध्ययन गर्नेछौं’, उनले भने, ‘राम्रोसँग फिल्ड भिजिट गरेर मेसिनरी अवस्थाको अध्ययन गरेपछि मात्र धागो कारखाना सञ्चालन हुन्छ की हुँदैने टुंगो लाग्छ।’
कपडा उद्योग सञ्चालनका लागि धागो कच्चा पदार्थ हो। त्यसका लागि स्वदेशी कच्चा पदार्थ उपयोगमा ल्याउन बुटवल धागो कारखाना सञ्चालन उपयुक्त हुन्छ। ‘सुरुमा बाहिरबाट कच्चा पदार्थ ल्याएर कपडा उद्योग सञ्चालन हुन्छ। कच्च पदार्थको माग बढेमा बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याउन प्रयास हुनेछ’, सहसचिव पुडासैनीले भने, ‘धागो कारखाना सञ्चालन गर्नुपर्र्यो भने कपास पनि उत्पादन गर्नुपर्ने हुन्छ। त्यसका लागि ठाउँको व्यवस्थापन गर्नुपर्छ।’
विगतमा धागो कारखाना स्थापना हुँदा नेपालगञ्जको खजुरामा कपास खेती हुने गर्दथ्यो। आयात प्रतिस्थापन गर्ने र मुलुकलाई आत्मनिर्भर गराउने नीतिअनुसार तत्कालीन अवस्थामा सरकारले बुटवलमा धागो उत्पादनसँगै नेपालगञ्जको खजुरामा कपासखेती र हेटौंडामा कपडा उद्योग सञ्चालन गरेको थियो।
हाल एक सय ४४ रोपनी जग्गा र कारखानाको भवन प्रयोगविहीन छ।
बुटवल धागो कारखाना करिब एक दशकदेखि अलपत्र अवस्थामा छ। २०६४ सालबाट कारखाना पूर्णरूपमा बन्द छ। कारखानाका करोडौंका मेसिन जीर्ण र बेवारिसे बनेको छ। २०३९ सालमा स्थापना भएको धागो कारखानाले २०४८ सालबाट व्यावसायिक रूपमा धागो उत्पादन सुरु गरेको थियो। २०६६ सालमा धागो कारखानाका साढे चार सय कर्मचारीलाई बिदा गरिएको थियो। हाल एक सय ४४ रोपनी जग्गा र कारखानाको भवन प्रयोगविहीन छ।
बुटवका धागो कारखानाका सम्बन्धमा सरकारी स्तरमा बेलाबेलामा कुरा उठे पनि सञ्चालन गर्ने कि खारेज गर्ने भन्ने कुनै ठोस निर्णय हुन सकेको छैन। यसको अध्ययन गर्न उद्योग र अर्थ मन्त्रालयबाट विभिन्न समिति पनि बने। निजी क्षेत्रलाई दिने भनेर अर्थ मन्त्रालयमा फाइल पनि पुगेको थियो। धागो कारखाना अवलोकन गर्न थुप्रै उद्योग मन्त्री आए। तर कुनै टुंगो लागेको छैन।
वर्षौं पुराना र जिर्ण मेसिनका कारण मेसीनहरु थपेर चलाउन सकिने बुटवल धागो कारखानाका निमीत्त महाप्रबन्धक डोलराज शर्मा बताउँछन्। ‘चलाउन नसकिने भन्ने होइन, तर यथास्थीतिमा चल्दैन’, उनले भने, ‘सबै पुरानो मेसिनबाट उत्पादन बढी हुँदैन, केही पुराना र बाँकी नयाँ मेसिन थपेर चलाउन सकिन्छ।’ धागो कारखाना सञ्चालन गर्न ठाउँ र पूर्वाधार पर्याप्त छ केही मेसिन मात्र थपी क्षमता विस्तार गरी सञ्चालनमा ल्याउन सकिने उनले बताए। नयाँ मेसिन थप्दा ४० देखि ५० करोडसम्म थप खर्च हुन सक्ने निमित्त महाप्रबन्धक शर्माको भनाइ छ।
‘यसको प्राविधिक सर्वेक्षण गरेर, निजी क्षेत्रलाई चलाउन दिएपनि हुन्छ, अथवा सरकार आफैले चलाउन पनि सक्छ’, उनले भने। बुटवल धागो कारखानामा ६० प्रतिशत सरकारको लगानी छ। आठ प्रतिशत सर्वसाधारणको पनि सेयर छ। बाँकी साल्ट ट्रेडिङ, जनकपुर चुरोट कारखाना, खेतान समूहलगायतको छ।
रुपन्देहीका पनि थुप्रै व्यवसायीको धागो कारखानामा सेयर छ। बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठले सार्वजनिक–निजी साझेदारीमा धागो कारखाना सञ्चालन गर्न सकिने बताए। ‘सरकारले मात्र चलाउन सक्दैन, ५० प्रतिशत सरकारी ५० प्रतिसत वा त्योभन्दा बढी निजी क्षेत्रले लगानी गरेर चलाउन सकिन्छ।’
प्रतिक्रिया दिनुहोस !