महिला हिंसा बढेको भन्दै प्रदेशसभामा चिन्ता

महिला हिंसा बढेको भन्दै प्रदेशसभामा चिन्ता

पोखरा : लामाचौरकी १४ वर्षीया पुष्पा केसीको मृत्युको कारण पत्ता लगाउनदेखि कञ्चनपुरकी निर्मला पन्तका बलात्कारी र हत्यारा खोजी गरी कारबाही गर्न गण्डकी प्रदेशका सांसदले माग गरेका छन्। सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसदले सोमबारको प्रदेशसभा बैठकमा महिला हिंसा बढ्दै गइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराए।

‘हाम्रो संस्कृति, सभ्यता र धर्मग्रन्थले महिलालाई देवी मान्न सिकायो हामीलाई’, कांग्रेस सांसद कुमार खड्काले भने, ‘भोक लाग्दा अन्नपूर्ण, ज्ञान चाहिँदा सरस्वती, धनमाग्दा लक्ष्मी र शक्ति चाहिँदा दुर्गा गुहार्ने अद्वितीय परम्परामा हुर्केको नेपाली समाज अहिले फोटोको देवी पुज्ने र घरको देवी चुट्ने विनाशकारी मार्गतिर अग्रसर भइरहको छ।’

उनले छोरीलाई भ्रुणमै हत्या गरिदिने, जिउँदै जलाउने, एसिड हाल्ने, जस्ता निन्दनीय घटना पश्चात साढे २ वर्षकी बालिकादेखि ७६ वर्षकी हजुरआमासमेत बलात्कारको सिकार बनिरहेको घटना कहालीलाग्दो भएको बताए।

हत्याकाण्डका दोषीलाई कानुनी कठघरामा उभ्याउनुको साटो पीडित परिवारलाई मानसिक यातना दिने, गलत किटानी जाहेरी गर्न बाध्य पार्न खोज्ने प्रयास भएको खड्काले त्यसको भत्र्सना गरे। ‘पालोपालो गरेर ३ जना मानसिक बिरामीलाई बिना प्रमाण अपराधी सावित गराउन सम्पूर्ण राज्य संयन्त्र नै परिचालित हुनु झन निन्दनीय प्रयत्न थियो’, उनले भने।

आफ्नो पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टको सरकार आयो भने रून पनि पाइँदैन भनेको स्मरण गरे। ‘हाम्रो नेताको अभिव्यक्तिले शालिनताको लक्ष्मणरेखा नाघेको जस्तो हामीलाई पनि लागेको थियो। तर, पुष्टि हुँदैछ कति दुरदर्शी रहेछन् हाम्रा नेता, खोइ रून पाइएको नेकपाको राज्यमा ? ’, उनले सोधे।

बहिनी बलात्कृत भइन, छोरी मारिइन् भनेर शान्तिपूर्ण तरिकाले न्याय माग्दै सडकमा रुँदै निस्केका नागरिकमाथि सरकारले बर्बर दमन गरेको खड्काको आरोप थियो। ‘अझ बिडम्बना त के भने लोकतन्त्रका लागि १४ वर्ष जेल बसेका सम्मानीय व्यक्ति केपी ओली प्रधानमन्त्री भएका बेला १४ वर्षीय बालकको छातीमा गोली हानेर मारिनु अकल्पनीय छ’, सांसद खड्काले भने, ‘बालकको शरीरसँगसँगै सम्माननीय प्रधानमन्त्री ओलीको त्याग बलिदान, संघर्ष र राष्ट्र अनि जनताप्रतिको निष्ठा पनि त्यही चितामा जलेर खरानी भयो।’

नेकपाकी सांसद पुष्पा केसी भण्डारी र कृष्णबहादुर थापाले पनि पोखरा लामाचौरकी पुष्पा केसीको मृत्युबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरे। ‘कोही दोषी छ भने कारबाही गर्न माग गर्छौं’, उनीहरूले भने। अर्की सत्तापक्षीय सांसद मीना गुरुङले महिलाविरुद्ध भइरहेका हिंसाका घटनाका दोषी प्रहरीले पत्ता लगाउन नसक्नुको कारण सोधिन्।

‘महिलामाथिको हिंसाले हामीलाई विक्षिप्त बनाएको छ’, उनले भनिन्। विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, कांग्रेस सांसद मेखलाल श्रेष्ठ, नेकपा सांसद मोहन रेग्मी, नयाँ शक्तिका हरिशरण आचार्यलगायतले सोमबार संसद्मा बोलेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.