भविष्य विद्युतीय सवारीको
काठमाडौं : विद्युतीय सवारीसाधनको माग विश्वभर बढेको छ। धुँवा नफाल्ने र पेट्रोल÷डिजेल पनि नचाहिँने भएपछि अहिले गाडी पारखीको रोजाइमा यही गाडी पर्ने गरेको छ। वातावरणका हिसाबले पनि यो गाडी निकै उपयोगी मानिन्छ। फोलिस फ्युलबाट चल्ने गाडी उत्पादन गर्ने अटोमोबाइल्स कम्पनी पनि विद्युतीय सवारीतर्फ लगानी गर्न थालेका छन्। भारत, चीन, युरोपेली देशलगायते २०३० पछि पेट्रोल र डिजेलका गाडी उत्पादन बन्द गर्ने घोषणा गरिसकेका छन्।
नेपाल आफैले गाडी उत्पादन गर्दैन। अन्य मुलुकबाट आयात गरेर गाडी चढ्ने गरिन्छ। विश्वका अधिकांश कम्पनीले निश्चित समय सीमा तोकेर फोसिल फ्युलबाट चल्ने गाडी उत्पादन बन्द गर्ने घोषणा गरिसकेको अवस्थामा नेपाललाई विद्युतीय गाडीमा जानुको विकल्प छैन। पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युतीय सवारी प्रयोग गर्न थालिसकेका छन्।
फोसिल फ्युलबाट चल्ने गाडीबाट निस्किने धुँवाका कारण हुने वायु प्रदूषण घटाउन आम नेपालीलाई प्रेरणा दिने उद्देश्यले राष्ट्र प्रमुखले विद्युतीय गाडी खरिद गरेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी केशवकुमार घिमिरे बताउँछन्। ‘नेपालले पनि पेट्रोलियमबाट चल्ने सवारी हटाउने निर्णय गरिसकेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्मा सरकारले पनि विद्युतीय सवारी प्रबद्र्धन गर्ने नीति अवलम्बन गरेको बताउँछन्। सवारी नीतिअनुसार सन् २०२० सम्ममा विद्युतीय सवारी २० प्रतिशतभन्दा बढी पुर्याइनेछ। ‘सरकारले विद्युतीय सवारीमा १ देखि १० प्रतिशतसम्म मात्र भन्सार शुल्क लिँदै आएको छ। ‘फोसिल फ्युलबाट चल्ने सवारीमा दुई ३० प्रतिशतसम्म भन्सार शुल्क छ’, शर्माले भने, ‘सरकारको विद्युतीय सवारी प्रवद्र्धन गर्ने नीतिका बाबजुत पनि लागतमूल्य बढी छ। लक्ष्य हासिल गर्न सरकारले ठूला गाडीमा अनुदानको व्यवस्था गर्न आवश्यक छ। यस्तो व्यवस्था लागू गर्न सकिए सरकारको लक्ष्य पूरा हुने उनी बताउँछन्।
राष्ट्रप्रमुख र ऊर्जा मन्त्रीले विद्युतीय सवारी प्रयोगमा ल्याउने कार्य स्वागतयोग्य भएको वातावरण तथा विद्युतीय सवारीका अभियन्ता पूर्ण रञ्जितकार बताउँछन्। ‘राष्ट्रप्रमुख र ऊर्जा मन्त्रीले मात्रै विद्युतीय गाडी चढेर पुग्दैन। सम्पूर्ण देशवासीका लागि विद्युतीय सवारी चढ्ने वातावरण सिर्जना गनुपर्छ’, रञ्जितकार भन्छन्, ‘मुलुकमा अहिले शक्तिशाली सरकार छ। जनता र राज्यको हितका लागि धेरै काम गर्न सकिन्छ। त्यसको सुरुवात विद्युतीय सवारीबाट हुन सक्छ।’
भारत, चीन, युरोपेली देशलगायते २०३० पछि पेट्रोल र डिजेलका गाडी उत्पादन बन्द गर्ने घोषणा गरिसकेका छन्।
सरकारले विद्युतीय सवारी चलाउने निर्णय गरेमा कसैको पनि रोजीरोटी नखोसिने उनको तर्क छ। ‘विदेशी कम्पनीले उत्पादन गरेका गाडी नेपालमा बिक्री हुने हो, नेपालमा बिक्री हुने अधिकांश कम्पनीले विद्युतीय सवारी उत्पादन गर्छन्, विद्युतीय सवारीको बिक्रीवितरण गर्न कसैलाई मर्का पर्दैन। यसले आगामी पुस्ताको भविष्य सुरक्षित राख्छ’, रञ्जितकार भन्छन्।
काठमाडौंको भृकुटी मण्डपमा जारी १३ औं नाडा अटो सोमा चार कम्पनीले विद्युतीय कार सार्वजनिक गरेका छन्। हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘आयोनिक’, महिन्द्रा गाडीको नेपालको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटले ‘इभिटारो’, टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टिगोर ईभी’ र रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले ‘जोए’ सार्वजनिक गरेका छन्। हुन्डाई, टाटा र रेनोले पहिलोपटक नेपाली बजारमा विद्युतीय सवारी ल्याएका हुन्। महिन्द्राले यस अघि नै दुईवटा विद्युतीय सवारी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ। सिप्रदी ट्रेडिङका महाप्रबन्धक प्रवीण सुवेदीका अनुसार विद्युतीय सवारी प्रतिग्राहकको बढ्दो रुचिलाई सम्बोधन गर्न टिगोर ईभी बजारमा ल्याइएको बताउँछन्। यीबाहेक नेपाली बजारमा किया सोल र बीवाईडीले चारपांग्रे विद्युतीय सवारी बिक्रीवितरण गर्दै आएका छन्। २९ लाख रुपैयाँदेखि ६० लाख रुपैयाँसम्ममा नेपालमै विद्युतीय सवारी खरिद गर्न सकिन्छ।
भीमोटा, एभोन, टेर्रा, प्राइम बिजनेस, फेरालगायत २० भन्दा धेरै दुई पांग्रे सवारी नेपाली बजारमा उपलब्ध छन्। तिनमा कोल्ड मोड, डबल डिक्स, मोबाइल चार्ज पोर्टलगायत सुविधा रहेको कम्पनीको भनाइ छ। यी गाडीको मूल्य ९० हजार रुपैयाँदेखि दुई लाख ६० हजारसम्म तोकिएको छ। सबै ब्रान्डका स्कुटर विभिन्न वाटमा उपलब्ध छन्। वाटअनुसार सुविधा र मूल्य फरक÷फरक हुने व्यवसायी बताउँछन्। वाटका आधारमा स्कुटरको गति, माइलेज फरकफरक हुने गर्छ। स्कुटरले ९० किलोमिटरदेखि एक ८० किलोमिटरसम्म माइलेज दिने कम्पनीका प्रतिनिधि बताउँछन्। पछिल्ला दिनमा विद्युतीय सवारी खरिद गर्ने ग्राहकको संख्या बढेको उनीहरूको भनाइ छ।
नाडाका अध्यक्ष शम्भु दाहालले भने, ‘विद्युतीय युगको प्रारम्भ भइसकेको छ, विद्युती गाडी आवश्यकता भइसक्यो, ग्राहकदेखि वितरक सबैको रोजाइमा विद्युतीय गाडी परेको छ। अन्य कम्पनीले पनि क्रमिक रूपमा विद्युतीय गाडी भिœयाउनेछन्।’
भौतिकपूर्वाधार तथा यातायात पूर्वसचिव तुलसी सिटौला विद्युतीय सवारीले वातावरण बचाउनका साथै मूलुकको व्यापार घाटा न्यूनीकरण गर्न सहयोगी हुने बताउँछन्। ‘विद्युतीय गाडीले डिजेल र पेट्रोल खाँदैन। इन्धन आयातमै राज्यको अर्बौं बाहिरिने गरेको छ’, सिटौलाले भने, ‘विद्युत् नेपालमै उत्पादन हुन्छ।’ नेपालले गत आर्थिक वर्ष एक खर्ब ५५ अर्ब रुपैयाँको इन्धन आयात गरेको छ। इन्धनका लागि भारतको भर पर्नुपर्ने अवस्था छ। भारतसँगको कुल व्यापार घाटामा सबैभन्दा ठूलो हिस्सा इन्धनले ओगटेको छ। इन्धनको आयातदर प्रतिस्थापन गर्न सकिए व्यापार घाटा कम हुने निश्चित छ। २०७२ साल असोजमा भारतले लगाएको नाकाबन्दीको समयमा नेपालमा इन्धनको ठूलो हाहाकार मचिएको थियो। विद्युतीय सवारीको प्रयोग बढाउन सके भारतको परनिर्भतामा रहनुपर्ने बाध्यता घट्नेछ।
‘पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीको सञ्चालन खर्च सस्तो छ’, सिटौला भन्छन्, ‘पेट्रोल, मर्मत, सर्भिसिङ, क्लच, गियर, मोबिललगायतको खर्च बचत हुन्छ। दीर्घकालीन सोच राख्नेका लागि विद्युतीय गाडी सस्तो छ।’ विलासिता र आरामको मामिलामा विद्युतीय गाडी फोसिल फ्युलका सवारीभन्दा कमजोर भए पनि यो महँगो हुने प्रयोगकर्ता भनाइ छ। ‘विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीका कारण लागत मूल्य महँगो भएको हो। ब्याट्रीका विषयमा विभिन्न अनुसन्धान र अन्वेषण भइरहेका छन्’, अभियान्ता रञ्जितकारले भने, ‘वैज्ञानिकको सफलतासँगै विद्युतीय सवारीको लागत मूल्य पनि कम हुँदै जान्छ।’ विद्युतीय सवारीमा विशेषगरी दुई प्रकारको ब्याट्रीको प्रयोग हुन्छ। लिथियम आयोन र लिड एसिड। लिड एसिड ब्याट्रीबाट गुड्ने सवारीको गड्ने क्षमता र लागत मूल्य सस्तो छ। लिथियम आयोनको शक्ति र मूल्य दुवै उच्च छ। फोसिल फ्युलबाट सञ्चालन हुने सवारी इतिहासको बन्न मात्र बाँकी रहेको बताउँछन्।
यातायात इन्जिनियर आशीष गजुरेल विद्युतीय गाडीको भविष्य नेपालमा उज्वल भएको बताउँछन्। ‘विद्युतीण् सवारी सञ्चालनका लागि विद्युत् चाहिन्छ। पर्याप्त मात्रामा राज्यले विद्युत् उपलब्ध गराउनुपर्छ’, गजुरेल भन्छन्, ‘आवश्यकताअनुसार विभिन्न ठाउँमा विद्युती सवारी चार्जिङ स्टेसन चाहिन्छ।’
नेपालले तीन वर्षमा तीन हजार मेगावट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। नेपालमा उत्पादन हुने जल विद्युतको उच्चतम प्रयोग गर्न पनि विद्युतीय सवारी अत्यावश्यक भइसकेको छ। केही समयमा माथिल्लो तामाकोसीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि बर्खायाममा खेर जाने बिजुली जोगाउन पनि विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक छ। तामाकोसी जलविद्युत् आयोजना पूर्णरूपमा सञ्चालनमा आएसँगै नेपाल विद्युत्मा आत्मनिर्भर हुनेछ। तामाकोसी चार सय ५६ मेगावाटको आयोजना हो। हाल नेपालले वर्षायामा एक सय २० मेगाहर्ज र सुक्खायाममा चार सय ५० मेगावाट विद्युत् दैनिक रूपमा भारतबाट आयात हुँदै आएको छ। ‘तामाकोसीलगायत परियोजनासँग नेपालमा खतपभन्दा विद्युत् आपूर्ति धेरै हुन्छ। खेर जाने विद्युत् यातायात र घरायसी प्रयोजनमा प्रयोग गर्नुपर्छ’, गजुरेलले भने।
जैविक इन्जिनबाट चल्ने सवारीसाधनबाट निस्किने धुँवाबाट काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहर प्राभावित छन्। वातावरण विभागको तथ्यांकअनुसार देशमा वायु प्रदूषणको स्तर राष्ट्रिय मापदण्डभन्दा तेब्बर बढी छ। वायु प्रदूषणमा ३८ प्रतिशत कारकतत्व सवारीसाधनबाट निस्कने धुवाँ रहेको अनुसन्धानले देखाएको छ। पीएम २ दशमलव ५ भन्दा सानो धुलोका कणको स्रोत पेट्रोल÷डिजेलबाट चल्ने सवारीसाधनको धुवाँ नै हो। वातावरण विद् तुलाधर वातावरण जोगाउन विद्युतीय सवारी उपयोगी हुने बताउँछन्। ‘निजी प्रयोजनका साथै सार्वजनिक यातायात पनि विद्युतीय सवारीको प्रयोग गर्नुपर्छ। त्यसका लागि सरकारले प्रोत्साहन गर्नुपर्छ’, भुसालले भने, ‘फोसिल फ्युलबाट चल्ने गाडीभन्दा ठूला विद्युतीय गाडीको मूल्य अधिक छ। ठूला गाडी भिœयाउन चाहने ग्राहकलाई भन्सार छुटका साथै अनुदान दिनुपर्छ।’ हाल साझाले सञ्चालन गरिरहेको गाडीको मूल्य ३० लाख रुपैयाँ बराबरको छ। तर, चीनबाट खरिद गरेर ल्याउन लागिएको विद्युतीय गाडीको मूल्य दुईदेखि तीन करोड रुपैयाँसम्म पर्छ। सरकारले सहुलिय र अनुदान दिएको खण्डमा निजी क्षेत्र पनि विद्युतीय सवारी सञ्चालन गर्न आकर्षित हुने उनको दाबी छ।
सरकारी स्तरबाट विद्युतीय सवारीसाधन प्रयोग गर्ने राष्ट्रिय योजना आयोग हो। गत वर्ष पुसमा आयोगका उपाध्यक्ष हुँदा डा.स्वर्णिम वाग्लेले चिनियाँ कम्पनीसँग ५५ लाख रुपैयाँमा विद्युतीय गाडी खरिद गरेका थिए। पूर्वअर्थ सचिव खनाल दुई वर्षदेखि विद्युतीय कार चढिरहेका छन्। उनी कोरियन अटोमोबाइल्स कम्पनी कियाको विद्युतीय सोल कार चढ्छन्। यस्तै गाडीका सौखिन मानिने पूर्वराजा ज्ञानेन्द्र शाह पनि विद्युतीय कार चढ्छन्। उनीसँग कियाको दुईवटा विद्युतीय कार छन्।
विद्युतीय सवारीको प्रयोग बढाउन धेरै व्यक्तिले आवश्यक पूर्वाधार निर्माणमा जोड दिइरहेका छन्। नेपालमा हाल पाँच हजारको हाराहारीमा विद्युतीय सवारी सञ्चालनमा छन्। त्यसको अधिकतम हिस्सा काठमाडांै उपत्यकाले ओगटेको छ। सबै निजी प्रयोगजनका विद्युतीय सवारी हुन्। दिउँसोको समय सवारी चलाउने र रातको समयमा चार्ज गर्ने गरेका छन्। साथै, विद्युत् प्राधिकरणले र चिनियाँ कम्पनी बीवाइडी अटोसँग सहकार्य गरेर राजधानीका पाँच स्थानमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ। रत्नपार्क, सिंहदरबार, थापाथली, नक्साल र सीतापाइलामा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिएको छ।