गाैतमले ताके अब बाँके ३

गाैतमले ताके अब बाँके ३

काठमाडौं : गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ । त्यसका लागि डोल्पामा ठाउँ खाली गराउन खोजियो । त्यहाँका कार्यकर्ताले मानेनन् । अब पार्टीको ध्यान बाँके ३ मा केन्द्रित भएको छ । त्यो मिलाइदिन महासचिव विष्णु पौडेल लागिपरेका छन् ।

पौडेलले वाके ३ का सांसद नन्दलाल रोकायलाई शुक्रबार बोलाएर ठाँउ खाली गरिदिन आग्रह गरेका छन् । रोकायले यसको पुष्टि गरेका छन् । उनले पौडेललाई पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ दिएका थिए ।

‘वामदेवजीलाई संसदमा ल्याउनैपर्ने राष्ट्रिय आवश्यकता हो भने र त्यसमा पार्टीले निर्णय गर्छ भने म छोड्न तयार छु भनेर मैले जवाफ फर्काएको छु,’ अन्नपूर्ण पोस्टसँग उनले भने, ‘व्यक्तिगत हिसाबले म छोड्न तयार छैन, तर पार्टीले निर्णय गरे छोडछु ।’

महासचिव पौडेलले भने गौतमलाई चुनाव लडाउने÷नलडाउने भन्ने विषयमा पार्टीले निर्णय लिने बताए । ‘उहाँ उठने हुनुभयो भने हामी अािधकारिक निर्णय गरेरै सार्वजनिक गर्छौं नि’, उनले भने । रोकायसँग शुक्रवार उनले गरेको कुराकानीलाई भने उनले इन्कार गरे । ‘तपाईलाई यो कुरा कसले भन्यो, यस विषयमा कुनै छलफल र निर्णय भएको छैन’, उनले भने ।

गत प्रतिनिधिसभा चुनावमा देशभर वामपन्थी उम्मेदवारले जितिरहँदा वर्दिया १ बाट गौतम पराजित भएका थिए । उनलाई कांग्रेसका सञ्जयकुमार गौतमले हराएका थिए । बाँके ३ त्यसमै जोडिएको क्षेत्र हो । हारमा उनले ‘अन्र्तघात’ लाई दोष दिँदै आएका छन् । पार्टीका दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) सँग संसदमा आफनो आवश्यकताकबारे सोच्न कुरा राख्दै आएका थिए ।

अन्नपूर्णसँग शनिवार छोटो प्रतिक्रियामा गौतमले निर्वाचन लड्ने रुचीका विषयमा खासै जवाफ नै दिएनन् । उनले भने– ‘यस विषयमा मलाई अहिले जानकारी नै छैन ।’ नेकपाभित्रै सचिवालय सदस्य गौतम उपचुनावमार्फत संसद छिर्ने विषयमा मतएकता देखिएको छैन । यसबारे सचिवालय वैठकमा एकपटक सामान्य छलफल चलेपनि निर्णयकै तहमा भने पुग्न सकेको छैन । अध्यक्ष ओलीले यसमा मुख खोलिसकेका छैनन् । अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल यसमा सकारात्मक छन् ।

ओलीले भने निकट नेताहरुसँग गौतमलाई चुनावै लडनुपर्ने आवश्यकता किन प¥यो भन्ने आधारविना निर्णयमा नजाने बताएको नेकपा स्रोतले जनायो । डोल्पाका सांसद धनबहादुर बुढा वामदेवलाई ठाउँ छोड्न तयार थिए । तर स्थानीय नेता, कार्यकर्ता त्यसमा असहमत रहे । त्यहाँको प्रयास असफल भएपछि उनी प्यूठानकी राजमो सांसद दुर्गा पौडेललाई राजीनामा गराउने प्रयासमा लागे । त्यो पनि सफल भएन । पौडेल नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंहकी श्रीमती हुन् । यसपछि रुकुम पूर्वबाट तत्कालीन माओवादी केन्द्रकी कमला रोकालाई राजीनामा गराउने चर्चा चल्यो । रोकाले यस विषयमा पार्टीले निर्णय गरे पनि अश्वीकार गर्ने सार्वजनिक रुपमै वताइन् ।

ललितपुरमा नवराज सिलवाललाई घरमै बोलाएर वामदेवले आग्रह गरे । तर त्यही पदका लागि एमाले बनेका सिलवालले छोड्ने कुरै भएन । त्यसपछि गौतमको दृष्टि प¥यो नवलपुर (पूर्वी नवलपरासी) । नवलपुरका तिलक महतलाई राजीनामा गराउने योजनापनि पूरा भएन । र, पुगे– बाँके ।

कम्प्युनिस्टको प्रभाव क्षेत्र रहेको बाँके ३ का तीन वटै स्थानीय तह खजुरा, वैजनाथ र जानकी नेकपा (त्यसमा पनि तत्कालीन एमाले) ले जितेको छ । गत निर्वाचनमा रोकायले कांग्रेसका बादसाह कुर्मीलाई करिब पाँच हजार मतान्तरले हराएका थिए । रोकायले ३१ हजार ६ सय १ मत ल्याएका थिए भने कुर्मीले २६ हजार ६ सय १७ । त्यहाँको प्रदेश सभामा पनि दुवै क्षेत्रमा नेकपाले जितेको छ ।

२०७० को निर्वाचन एमालेका दलबहादुर सुनार र २०६४ मा तत्कालिन माओवादीकी पूर्णाकुमारी सुवेदी (पूर्व उपसभामुख) उक्त क्षेत्रबाट विजयी भएका थिए । पुराना वामपन्थी नेता रोकाय राजनीतिमा वामदेवका समकालीन हुन् । उनी पञ्चायतकालमा साविकको सीतापुर गाउँ पञ्चायतबाट जनपक्षीय उम्मेदवारका रुपमा प्रधानपञ्च भएका थिए । उनी इमान्दार र पुराना नेता मानिन्छन् । उनी एमाले बाँकेका निवर्तमान अध्यक्षसमेत हुन् । माक्सवाद दर्शनका ज्ञातासमेत रहेका रोकाय अध्यक्ष हुँदा बाँकेका तत्कालिन चारवटा मध्ये तीन क्षेत्रमा एमालेले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.