जगंली हात्तीले बाली नष्ट
महेन्द्रनगर : कञ्चनपुर जिल्लामा जंगली हात्तीले बाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेको छ । सातादेखि जिल्लामा जंगली हात्तीले दुःख दिइरहेको छ । प्रायः राति आउने हात्तीको बथानले खेतबारीमा लगाएको धानबाली र उखुबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा सीमावर्ती भारतीय दुधुवा नेसनल पार्कबाट आएका जंगली हात्तीको बथानले कञ्चनपुरमा आतंक मच्चाएको छ ।
शुक्लाफाटाँ राष्ट्रिय निकुञ्जबाट नजिकका बस्तीमा आउने हात्तीको बथानले निकुञ्जसँग जोडिएका ठाउँमा सबैभन्दा धेरै धानबाली नष्ट गरेको छ । पुनर्वास, शुक्लाफाँटा, वेदकोट, भीमदत्त र महाकाली नगरपालिका तथा वेल्डाँडी गाउँपालिका क्षेत्रमा जंगली हात्तीको बथान पसेको छ ।
‘जंगली हात्तीको ठूलै बथान आएर दुःख दिइरहेको छ’, जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले भने, ‘धेरै स्थानमा किसानको पाक्न लागेको बाली नै नष्ट गरिदिएको छ ।’ उनले बढीजसो निकुञ्जको मध्यवर्ती क्षेत्र र भारतीय दुधुवा नेसनल पार्कबाट पसेको हात्तीले सीमावर्ती गाउँमा दुःख दिइरहेको बताए ।
वेदकोट नगरपालिका क्षेत्रका ६ ठाउँमा हात्तीले धानबाली र उखुबाली नष्ट गरेको नगरप्रमुख अशोक चन्दले बताए । ‘राति आएर धानबाली र उखुबाली नष्ट गरिरहेको थियो’, उनले भने, ‘मंगलबार रातिदेखि त स्थानीयका घरसमेत भत्काउन थाल्यो ।’
वेदकोट नगरपालिका क्षेत्रको वडा नम्बर १ को हात्तीथला, चम्फापुर, रडारा र १० नम्बर वडाको नयाँगाउँ, चतरा, रानादैजी टोललगायत क्षेत्रमा हात्तीको बथानले किसानको बाली नष्ट गरिरहेको नगर प्रमुख चन्दले जानकारी दिए । हात्ती नियन्त्रण गर्न गाउँमा स्थानीयले आगो बाल्ने, पटाका पड्काउने गरेको उनले बताए ।
हात्ती आतंक रोक्न शुक्लाफाँटा नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको छ । शुक्लाफाँटा नगरपालिका–५ का अध्यक्ष कमल गिरीले सो बजेटबाट विद्युतीय तारबार गर्ने बताए ।
हात्तीले स्थानीयको घरमा पुर्याएको क्षति