कोटेश्वर र बानेश्वरमा अन्डरपास : पाँच परामर्शदाता प्राविधिक रूपमा योग्य

कोटेश्वर र बानेश्वरमा अन्डरपास : पाँच परामर्शदाता प्राविधिक रूपमा योग्य

काठमाडौं : कोटेश्वर र बानेश्वरमा निर्माण हुने अन्डरपासको डिजाइन तयार गर्न पाँचवटा परामर्शदाता योग्य देखिएका छन्। सडक विभागअन्तर्गतको पुल महाशाखाको मूल्यांकनमा पाँच परामर्शदाता प्राविधिक रूपमा सक्षम देखिएका हुन्। सवारी आवागमन सहज बनाउन सरकारले कोटेश्वर, बोनेश्वर र महाराजगन्जमा अन्डरपास बनाउने तयारी गरेको छ।

कलंकीदेखि महाराजगन्जसम्म चीन सरकारले चक्रपथ विस्तार गर्ने भएकाले महाराजगन्जको अन्डरपास पनि चीन सरकारले बनाइ दिने भएको छ। हाल कोटेश्वरदेखि सातदोबाटो हुँदै कलंकीसम्मका १० किलोमिटर सडक र कलंकीको अन्डरपास चीनले नै बनाइदिएको हो। अन्डरपास सञ्चालनमा आए पनि अहिलेसम्म हस्तान्तरण भएको छैन।

महाशाखाले २०७४ पुसमा अन्डरपास बनाउन इच्छुक परामर्शदाताबारे जानकारी लिन आशयपत्र आह्वान गरेको थियो। त्यस समय अन्डरपासको डिजाइन बनाउन १३ परामर्शदाताले इच्छा देखाएका थिए। तीमध्ये मूल्यांकनमा ६ परामर्शदाता अब्बल ठहरिएका थिए। अन्डरपासको डिजाइन बनाउन चीनको बेइजिङ चाइना हाइवे इन्जिनियरिङ एन्ड कन्सल्टिङ तथा नेपाली परामर्शदाता बिल्डिङ डिजाइन अथोरिटी र बीएन कन्सल्टेन्सी सक्षम देखिएका थिए।

सवारी आवागमन सहज बनाउन सरकारले कोटेश्वर, बोनेश्वर र महाराजगन्जमा अन्डरपास बनाउने तयारी गरेको छ।

यस्तै नेपाली परामर्शदातामा सिभिल इफर्मेटिक्स एन्ड सोलुसन, जीईओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्ट, जीओसी–जीआईडीए–एपेक्स जेभी, आईटीईसीओ नेपाल जेभी सीएआरडी कन्सल्ट एन्ड होमल्यान्ड इन्जिनियरिङ कन्सल्टेन्सी, टीएसई जेभी जीओकम इन्टरनेसनल एन्ड सिभिल इन्जिनियरिङ रिसर्च एन्ड कन्सल्टेन्सी पनि सक्षम देखिएका हुन्। यी परामर्शदातासँग गत वैशाखमा प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरिएको थियो। ती परामर्शदाताले जेठमा प्रस्ताव बुझाएका थिए।

महाशाखाले तीन महिना लगाएर प्रस्तावको प्राविधिक मूल्यांकन गरेको हो। ‘अन्डरपासको डिजाइन बनाउन पाँच परामर्शदाता छनोट भएका छन्’, महाशाखाका उपनिर्देशक अर्जुनजंग थापाले भने, ‘छनोट भएका परामर्शदाताको आर्थिक प्रस्ताव खोल्न पत्र पठाउने तयारीमा छौं, एक साताको समय दिएर पत्र पठाइनेछ। सस्तो मूल्यको आर्थिक प्रस्ताव गर्ने परामर्शदाताले अन्डरपासको डिजाइन बनाउने ठेक्का पाउनेछ।’

महाशाखाले एउटा अन्डरपास निर्माण गर्न ९० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ। जापानी सहयोग नियोग (जाइका)सँग अन्डरपास बनाउन आर्थिक सहयोग माग गरिएको थियो। त्यसमा जाइका सकारात्मक नदेखिएको थापाको भनाइ छ। वैदेशिक सहयोग प्राप्त नभएकाले सरकारी रकममै अन्डरपास बन्ने उनको दाबी छ। तीन वर्षभित्रमा अन्डरपास बन्नेछ।

बिजुलीबजारको धोवीखोला पुलदेखि बाग्मती पुलसम्मको साढे एक किलोमिटर र कोटेश्वर चोकदेखि भक्तपुर, सातदोबाटो र तीनकुनेतर्फ पाँच सय मिटर अन्डरपासको लम्बाई हुनेछ। बाग्मती पुलदेखि बिजुलीबजारतर्फ जाने गाडी अन्डरपास हुँदै जानेछन्। शंखमूल वा पुरानो बानेश्वरतर्फ जाने सवारीसाधन अन्डरपास माथि गुड्नेछन्। यस्तै कोटेश्वरबाट भक्तपुर, सातदोबाटो र तीनकुनेतर्फ जाने सवारी अन्डरपास भित्रबाट जानेछन्। कोटेश्वरको बस्तीतर्फ जाने सवारीसाधन अन्डरपास माथिबाट गुड्नेछन्। यसरी गाडी गुडाउँदा बानेश्वर र कोटेश्वर चोकमा हालको जस्तो अव्यवस्थित जाम नहुने महाशाखाको अपेक्षा छ।

अन्डरपासभित्र एक्जिट वे (बाहिर निस्किने बाटो) हुने छैन। एकपटक अन्डरपासभित्र गाडी छिरेपछि अन्तिम विन्दुमा पुगेर मात्र बाहिर निस्किन पाउँछन्। अन्डरपासभित्र प्रवेश गर्नुअघि नै सवारीसाधनले आफ्नो गन्तव्य तय गर्नुपर्ने हुन्छ। यसअघि सरकारले बानेश्वरमा फ्लाइओभर बनाउने योजना अघि सारेको थियो। सम्भाव्यता अध्ययन गर्दा माटोमा कमजोरी भेटिएपछि अन्डरपास बनाउने तय गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.