बर्दिया राष्ट्रिय निकुञ्ज : पर्यावरणमा अनुपम

बर्दिया राष्ट्रिय निकुञ्ज : पर्यावरणमा अनुपम

बर्दिया : उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट। पूर्वमा बग्ने बबई नदीको तातो पानी अनि पश्चिममा बगेको सङ्लो कर्णालीको चिसो पानी। बीचमा जैविक विविधताले भरिपूर्ण प्रकृतिको वरदान बर्दिया राष्ट्रिय निकुञ्जको हरियाली। अनेकौं भौगोलिक विविधताको अनुपम समिश्रणका बीच पश्चिम नेपालकै सुन्दर पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जले जोकोहीको पनि मन लोभ्याउने गर्छ।

यहाँको प्राकृतिक विविधता मात्र होइन, जातीय विविधता पनि उत्तिकै मनमोहक छ। विभिन्न जातजातिबीच आफ्नो बेग्लै संस्कृति स्थापित गर्न सफल थारू समुदाय पर्यटकको सांस्कृतिक सन्तुष्टिका आधार हुन्। थारू परम्परा, वेशभूषा, कलासंस्कृतिसँगै परम्परागत थारू परिकार यहाँका पर्यापर्यटन प्रवद्र्धनका मुख्य विशेषता हुन्। बर्दियामा अधिकांश पर्यटक यहाँको संस्कृति, जैविक विविधतालगायत विश्वकै लोपोन्मुख पाटेबाघ, गैंडा, हात्ती, अजिंगर, चरा प्रजाति अनि वनस्पति अवलोकन र अध्ययनका लागि आउँछन्। बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटकीय गन्तव्यलगायत यहाँको पर्यापर्यटनलाई आर्थिक समृद्धिका रूपमा लिन सकिन्छ।

वाइल्ड लाइफ टुरिजम
बर्दिया राष्ट्रिय निकुञ्जमा ४ सय ३८ प्रजातिका चरा, १ सय २० जंगली हात्ती, ३७ वटा एकसिंगे गैंडालगायत ६२ भन्दा बढी वयस्क पाटेबाघ छन्। ‘निकुञ्जभित्रको घाँसे मैदान व्यवस्थापनसँगै बाघको आहारा वृद्धि र निकुञ्जमा पानीको व्यवस्थापन भएपछि बाघको मुभमेन्ट पनि बढेको छ’, निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी भन्छन्, ‘अधिकांश पर्यटक बाघ हेर्नकै लागि आउँछन्। र बाघ देखेपछि रमाएर जान्छन्।’

बर्दियामा पाइने वनस्पति प्रजातिले पनि पर्यटन प्रवद्र्धनमा थप सघाएको छ। यहाँ रहेका ठूला बबई, कर्णाली नदीलगायत जिल्लामा पाइने सालवनले बर्दियामा जैविक विविधताको उल्लेख्य आकर्षण बढाएको पाइन्छ। बर्दिया पश्चिम नेपालमै आकर्षक गन्तव्य रहेकाले यहाँको जैविक विविधता अवलोकन गर्न एउटै पर्यटक पटकपटक आउने गरेको समेत पाइन्छ। 

बर्दियामा बर्सेनि बाघको संख्या वृद्धि हुनुले यस क्षेत्रको वाइल्ड लाइफ टुरिजमलाई ठूलै पाइदा पुर्‍याएको छ। सन् २०१६ को बाघ अनुगमनका क्रममा बर्दियामा ५६ वटा वयस्क र २९ वटा बच्चा गरी ८५ पाटेबाघ भेटिएका थिए। सन् २०१७ को बाघ अनुगमनबाट ६२ वटा वयस्क पाटेबाघ बर्दियामा भेटिएका छन्। सन् २०१८ मा गरिएको अनुगमनबाट बर्दियामा बाघ बढ्ने अनुमान छ।

बाघको आहारा र वासस्थान निकुञ्जमा उपयुक्त हुँदै गएपछि बाघको गतिविधि बढेको छ। बाघ हेर्न आउने पर्यटकले दिनहुँ बाघ देख्ने गरेका छन्। चारैतिर बाघ देखिएपछि बाघ हेर्ने पारखी सन्तुष्ट हुने गरेको निकुञ्जका वरिष्ठ नेचर गाइड रामबहादुर शाही बताउँछन्।

बर्दिया र कैलालीको सिमानामा अवस्थित कर्णाली नदीलगायत शाखा नदीमा पाइने डल्फिन पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन्। हात्तीसार, खौराहा खोला, गोलाघाट, लालमाटी, मनाउघाटलगायत कोठियाघाटमा पाइने डल्फिन यस क्षेत्रका आकर्षण रहेको चोरीसिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्य बताउँछन्। बासस्थान र आहारा अभावमा पछिल्लो समय डल्फिन संकटापन्न अवस्थामा पुगेका छन्। सरकारी उदासीनता, चोरीसिकारलगायत नदी तटीय क्षेत्रमा खुलेका अव्यवस्थित होटल व्यवसायका कारण डल्फिन संकटको अवस्थामा पुगेका हुन्। 

डल्फिनका आहारा माछा पनि अभाव भएकाले थप संकटपूर्ण अवस्था आएको हो। नदी तटीय पर्यटकीय क्षेत्रमा खुलेका अव्यवस्थित होटल व्यवसाय डल्फिन संरक्षणको चुनौती बन्ने गरेका हुन्। बर्दियामा डल्फिनका लागि कुनै अनुसन्धान तथा संरक्षणका योजना अघि सारिएको पाइँदैन। माछाको चोरीसिकारका कारण डल्फिनको आहारामा कमी आउँदा आहारा संकटको अवस्था छ।

बर्दियामा पाइने मगर र घडियाल गोही पर्यटकको आकर्षण बन्ने गरेका छन्। बबई नदीको प्राकृतिक बासस्थानमा ३३ वटा घडियाल र ३१ वटा मगर गोही रेकर्ड गरिएको छ। नेपालमा घडियाल र मगर गरी दुई प्रजातिका गोही पाइन्छन्। नेपालबाट लोप हुन लागेपछि वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत वन्यजन्तु कृष्णसार बर्दियाको गुलरिया नगरपालिकाअन्र्तगत खैरापुरस्थित संरक्षित क्षेत्रको प्राकृतिक बासस्थानमा पाइन्छ। यसले पनि बर्दियाको वाइल्ड लाइफ टुरिजममा थप टेवा पुर्‍याएको छ।

पर्यटन व्यवसाय
पश्चिम नेपालकै पर्यटकीय गन्तव्यका रूपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका पर्यटन व्यवसायी यिनै विभिन्न प्याकेजमार्फत पर्यटकलाई सहुलियत दरमा पर्यटकीय गन्तव्यको अवलोकन गराउँदै आएका छन्। ‘पर्यटकीय अवलोकनका लागि बर्दिया आउने पर्यटकलाई विभिन्न प्याकेजमार्फत न्यूनतम सहुलियत दर कायम गरेका छौं’, ठाकुरद्वारास्थित जंगल हेवेन कटेजका सञ्चालक कृष्णप्रसाद भट्टराईले भने।

बर्दियामा गरिने थारू नृत्य। 

जंगल वाक, जिप तथा हात्ती सफारी, वाइल्ड लाइफ एन्ड बर्ड वाचिङलगातय लजिङ, फुडिङसहितको प्याकेज व्यवसायीले उपलब्ध गराउँदै आएका छन्। यसका साथै इलेफेन्ट वुकिङ, कल्चर प्रोग्राम यहाँका प्रमुख प्याकेजअन्तर्गत पर्छन्। आन्तरिक तथा बाह्य व्यक्तिका लागि काठमाडौं–नेपालगन्ज जहाज भाडामा विभेद रहेकाले पनि विदेशी पर्यटक यात्रा गर्न हिच्किचाउने गरेका छन्। ‘हवाई सेवा सञ्चालकहरूले यस्तो विभेदकारी नीति हटाउनुपर्छ’, भट्टराईले भने। 

निजीक्षेत्रबाट महँगो लगानी भए पनि राज्यले बेवास्ता गरेका कारण प्राकृतिक गन्तव्य ओझेलमा पारिएको गैंडा क्याम्पका सञ्चालक रामजी थापा बताउँछन्। ‘पोखरा, चितवन आउने पर्यटकलाई बर्दिया ल्याउन सरकारले कुनै पनि पहल गर्दैन। हवाई उडानलगायत पर्यटकीय बसको समस्याका कारण बर्दियाको पर्यटन व्यवसाय ओझेलमा परेको हो’, उनले भने। 
पछिल्लो समय ठाकुरबाबा क्षेत्रमा भएका होटलमा पर्यटकीय सुविधा थपिएपछि पर्यटकलाई सजिलो भएको छ। पर्यटकीय ठाकुरबाबादेखि राजधानीसम्म सुविधासम्पन्न बस सेवा सञ्चालन भएकाले पनि पर्यटकीय आगमनमा वृद्धि भएको उनको बुझाइ छ। 
पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न हालै मात्र निकुञ्जले चार स्थानीय तहबाट निकुञ्जभित्र प्रवेश गर्ने द्वार सञ्चालनमा ल्याएको छ। यससँगै निकुञ्जको पर्यापर्यटनमा बाहिरी लगानी वृद्धि हुने बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारू बताउँछन्। नगरपालिकाको रम्भापुर प्रवेशद्वारमा रहने नेचर गाइड, होटल व्यवसायीलगायतलाई नगरपालिकाले आवश्यक तालिमको बन्दोवस्त गरेको छ। पर्यटकलाई निकुञ्ज प्रवेश अनुमति लिन निकुञ्ज मुख्यालय पुग्नुपर्ने समस्या मुक्त भएको छ। पुरानै जनशक्ति र पूर्वाधारलाई निकुञ्जले व्यवस्थापन गरेको छ। गत वर्ष २० हजार पर्यटक भित्रिएको निकुञ्जमा दोब्बर पर्यटक भित्र्याउने निकुञ्जको लक्ष्य छ। 

बर्दिया राष्ट्रिय निकुञ्ज पश्चिम तराईकै प्राकृतिक मनोरम पर्यटकीय गन्तव्य हो। यहाँ खुलेका नयाँ प्रवेशद्वारले निकुञ्जभित्र लामो दूरीमा रहेका गन्तव्यलाई नजिक्याएका छन्। यसले जंगलको मानवीय कोलाहल नियन्त्रण गर्दै शान्त वातावरण निर्माण गर्नेछ। स्थानीय पर्यापर्यटन वृद्धि गर्दै आयआर्जनका माध्यमबाट बर्दियाको समृद्धि हुनेमा स्थानीय आशावादी छन्। 

जैविक विविधता अवलोकनका लागि बर्दिया आउने पर्यटकलाई लक्ष्य गर्दै विभिन्न स्थानमा होमस्टे सञ्चालनमा रहनुले पनि बर्दियामा पर्यटकीय चाप रहेको बुझ्न सकिन्छ। निकुञ्जसँगै जोडिएको खाता जैविक मार्गमा सञ्चालित डल्ला होमस्टे, पाताभारको जयनगर होमस्टे, धधवारको सत्खलुवा होमस्टे र खैरापुरमा सञ्चालित यादव होमस्टेले थारू, पहाडी तथा यादव कलासंस्कृति प्रवद्र्धन गर्दै स्वदेशी तथा विदेशी पाहुनालाई स्वागतसत्कार गर्ने गरेका छन्।

गन्तव्य थुप्रै
बर्दियामा थुप्रै पर्यटकीय गन्तव्य छन्। बर्दिया निकुञ्जभित्र अवस्थित सुन्दर बबई उपत्यका देशकै अनुपम गन्तव्यका रूपमा परिचित छ। कर्णाली नदी र त्यसको शाखा खौराहा खोला र्‍याफ्टिङका लागि उपयुक्त गन्तव्य हुँदै गएको छ। बर्दियामा नेपालकै लामो गेरुवा (कर्णाली) पुल तथा एसियामै उत्कृष्ट कर्णाली पुल पर्यटकको आकर्षणका रूपमा रहेको पाइन्छ। त्यस्तै सत्खलुवाताल, बढैयाताल, ताराताल, भगरताल पर्यटकीय दृष्टिकोणले रमणीय छन्। यी ताल रैथाने र आगन्तुक चराका बासस्थान मानिन्छन्।

राजापुरको गणेश मन्दिर, गुलरियाको बगलामुखी र कोटही मन्दिर, ठाकुरद्वाराको ठाकुरबाबा मन्दिरले धार्मिक पर्यटन बढाएका छन्। निकुञ्ज परिसरको थारू सांस्कृतिक संग्राहलय पर्यटकको रोजाइमा छ। ठाकुरद्वारा क्षेत्रको समग्र पर्यटकीय विकासका लागि भौतिक पूर्वाधार निर्माणमा ठाकुरबाबा नगरपालिकाले अध्ययनसमेत थालेको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज पश्चिम तराईकै प्राकृतिक मनोरम पर्यटकीय गन्तव्य हो। यहाँ खुलेका नयाँ प्रवेशद्वारले निकुञ्जभित्र लामो दूरीमा रहेका गन्तव्यलाई नजिक्याएका छन्।
 

ठाकुरबाबा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजनाअन्तर्गत रिङरोडको डीपीआर तयार पारिएको नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए। थारू संस्कृति प्रवद्र्धन, निकुञ्जमा नाइट सफारी, सामुदायिक वन जोड्ने सडक सञ्जाल पनि निर्माण हुन थालेका छन्।

बेलायती राजकुमार ह्यारीले अवलोकन गरेको जैविक मार्गमा अवस्थित डल्लाको थारू होमस्टेलाई प्रवद्र्धन गर्ने नगरपालिकाको योजना छ। त्यस्तै त्यस क्षेत्रमा रहने नेचर गाइडलगायत होटल व्यवसायीलाई आवश्यक तालिम दिने तयारी गरेको श्रेष्ठ बताउँछन्। स्थानीय तहको प्रत्यक्ष सहभागितामा समुदायको आयस्तर बढाउँदै बर्दियालाई समृद्धितर्फ लैजाने ठाकुरबाबा नगरपालिकाको योजना छ।

चुनौती र सम्भावना
जैविक विविधता संरक्षण अभियान र वन्यजन्तुको संख्यात्मक वृद्धिसँगै मानव वन्यजन्तुबीचको द्वन्द्व पनि बढेको छ। वन्यजन्तुबाट मानवीय तथा मानबबाट वन्यजन्तुको जीवन, बासस्थानलगायत आहारामा क्षति गर्ने क्रम बढेपछि मानव–वन्यजन्तुबीच द्वन्द्व चर्किएको छ। तराईकै ठूलो बर्दिया राष्ट्रिय निकुञ्जमा हिंस्रक वन्यजन्तुको संख्या बढ्दो छ। हात्ती, बाघ, गैंडालगायत वन्यजन्तुको संख्यामा उल्लेख्य वृद्धि भएपछि द्वन्द्वको समस्या चुलिएको संरक्षणकर्मी बताउँछन्। 

मानव–वन्यजन्तुबीच सहअस्तित्व कायम राख्न उनीहरूको वासस्थान र आहाराजन्य प्रजातिको अतिक्रमण प्रमुख कारण हो। जंगल क्षेत्रमा वन्यजन्तुको वासस्थानमा परिवर्तन आएसँगै उनीहरू मानव बस्तीतर्फ आउनु सामान्य कुरा हो। निकुञ्जले वन्यजन्तुलाई निकुञ्जबाट बाहिर ननिस्कने गरी विद्युतीय, पक्की र कच्ची तारबारलगायत बासस्थान व्यवस्थापनतर्फको कार्यक्रम लागू गरेको छ। निकुञ्जको तथ्यांकअनुसार बर्दियामा ०५३ सालदेखि ०७३ सालसम्म १८ जना पुरुष तथा १४ जना महिला गरी ३२ जनाले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका छन्। 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.