भवन बनेपछि विद्यालयमा खुसीयाली

भवन बनेपछि विद्यालयमा खुसीयाली

स्याङ्जा : २०७२ सालको भूकम्पले भत्किएको विद्यालयमा नयाँ भवन तयार भएपछि विद्यालयले खुसीयाली मनाएको छ। राष्ट्रिय पुननिर्माण आयोजना कार्यान्वयन इकाइ शिक्षा स्याङ्जाले पुतलीबजार नगरपालिका–३ स्थित पुण्यशिला आधारभूत विद्यालय भवन निर्माण पुरा गरी हस्तान्तरण गरेपछि विद्यालयले नाचगानसहित खुसीयाली मनाएको हो।

आयोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुख बाबुराम बरालले बिद्यालयका प्रधानाध्यापक लेखनाथ शर्मा र व्यवस्थापन समितिका अध्यक्ष रामजी उपाध्यायलाई सोमबार भवन हस्तान्तरण गरेका हुन्। नवनिर्मित भवन हस्तान्तरण गर्दै अभिभावक, विद्यार्थी र शिक्षकको सहयोगले मात्र बिद्यालयको गुणस्तर वृद्धि हुने बताए। भवनको सम्पूर्ण संरक्षकत्व ग्रहण गर्दै विद्यालय परिवारले संरक्षणको जिम्मेवारी लिनुपर्ने प्रमुख बरालले जोड दिए।

तीन कोठे भवन ३१ लाख ७५ हजार रुपैयाँको लागतमा तत्कालीन शिक्षा विभाग तथा समन्वय इकाइको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण पुरा भएको हो। असारमा निर्माण सम्पन्न भएपछि विद्यार्थी सोही भवनमा बसेर अध्ययन गर्दै आएका छन्। इँटाको गाह्रो र पिल्लरसहित स्टील, ट्रस, रंगीनजस्ताले छाएको भवन निर्माण गरिएको इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए। ‘बालमैत्री, अपांगमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ। यसमा विद्यालयलाई कत्ति पनि आर्थिक भार परेको छैन’, इन्जिनियर श्रेष्ठले भने।

विद्यालय परिवारले छात्रछात्रालाई ओतको समस्या हुने गरेकोमा नयाँ भवन बनेपछि बिद्यार्थी, शिक्षक र अभिभावक खुसी भएका छन्। यस विद्यालयमा एक सय २२ विद्यार्थी अध्ययनरत छन्। भर्ना भएका विद्यार्थी १६ तर नियमित आउने ३ जना विद्यार्थी भएपछि बिद्यालय मर्जको अवस्थामा पुगेको थियो।

विद्यालयले २०७३ सालमा पुनर्मिलन कार्यक्रम सञ्चालन गरेपछि विद्यालयको आर्थिक तथा भौतिकस्तर वृद्धि भई विद्यार्थी संख्या बढेको प्रधानाध्यापक लेखनाथ शर्माले बताए। ‘विद्यालयले अंग्रेजी माध्यममा पढाइसहित मन्टेसरी कक्षा सञ्चालनमा ल्याएपछि विद्यार्थी संख्या बढेको छ’, प्रअ शर्माले भने, ‘हामीलाई अवसर र चुनौती दुवै थपिएको छ।’

भूकम्पले भत्काएको कक्षामा बसेर पढ्नु पर्दा विद्यार्थी डराउँथे। ‘पढाइभन्दा बढी डर हुन्थ्यो। हावाहुरी र पानी पर्दा दुख हुन्थ्यो। तर नयाँ भवनमा पढ्न थालेपछि पढाइमा ध्यान केन्द्रित हुन थालेका छौं’, कक्षा ५ मा अध्ययरत सन्ध्या मरासिनीले भनिन्। सन्ध्याजस्तै धेरै विद्यार्थीको भनाइ उस्तै छ। ‘शिक्षकले पढाए पनि हावाहुरी र पानी पर्दा पढाइमा ध्यान दिन गाह्रो हुन्थ्यो। कहिले कक्षा सकिएला र घर जानुजस्तो लाग्थ्यो’, विगत सम्झँदै उनले भनिन्।

कार्यक्रममा पुतलीबजार नगर शिक्षा प्रमुख नीलकण्ठ ढकाल, वडाध्यक्ष अमृतप्रसाद श्रेष्ठ, स्रोतव्यक्ति ऋषिराम शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष श्रीराम उपाध्याय, शिक्षिका वन्दना लम्साललगायतले विद्यालयको शैक्षिक स्तर विकास गर्न भौतिक संरचनाको पनि विकास हुनु्पर्नेमा जोड दिए। इकाइ कार्यालयले पुतलीबजार नगरपालिकामा हस्तान्तरण गरेको यो पहिलो विद्यालय हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.