पप्पुका मालिकसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा

पप्पुका मालिकसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा

 काठमाडौं  : पप्पु कन्स्ट्रक्सनका सञ्चालक र तिनलाई सघाउने सरकारी अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठूला सरकारी ठेक्का समयमै पूरा नगरी अलपत्र छाड्ने पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियार, छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

हरिनारायण संघीय समाजादी फोरमका सांसद हुन् । मुद्दा दायर भएसँगै उनी सांसदबाट स्वतः निलम्बनमा परेका छन् । अभियुक्त सबै फरार छन् । अख्तियारले उनीहरूसँग ९० करोड ८९ लाख २ हजार ५ सय ८ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट बबई पुल निर्माणमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्षसहित १२ विरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

सबैसँग छुट्टाछुट्टै बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । बबई पुल निर्माण नसकिँदै भास्सिएपछि पप्पुको अनियमितता बाहिर आएको हो । अख्तियारले अभियुक्तलाई २ देखि ३ वर्षसम्म जेल सजाय हुनुपर्छ भनेको छ । पप्पु कस्ट्रक्सनले देशभर ११ अर्बभन्दा बढीको ठेक्का पाएको छ ।

पप्पुसँगै डिभिजन सडक कार्यालय नेपालगन्जका तत्कालीन डिभिजन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ, राजेशकुमार यादव र निमित्त डिभिजन प्रमुख नवराज केसीलाई पनि अख्तियारले अभियोग लगाएको छ । इन्जिनियर प्रेमप्रसाद चुवाई, हरिबहादुर खड्का, दीपेन्द्रबहादुर विष्ट तथा सब इन्जिनियर कार्मा तेन्जिङ तामाङ, गोविन्द गैरे र एभरेस्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

सरकारी अधिकारी पनि स्वतः निलम्बनमा परेका छन् । अख्तियारले कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण र उनका छोरा तथा हालका अध्यक्ष सुमित रौनियारबाट छुट्टाछुट्टै १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँको बिगो भराउन माग दाबी गरेको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) बमोजिमको सजाय मागिएको छ । यसअनुसार दोषी प्रमाणित भए उनीहरूले दुई वर्ष जेल बस्नुपर्नेछ भने बिगोबमोजिम जरिवाना गरी बिगो जफतसमेत हुने कानुनी प्रावधान छ ।

कन्स्ट्रक्सनबाट निर्मित जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदा बांगो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्ने उजुरी आयोगमा परेपछि छानबिन थालिएको थियो ।

छानबिनमा निर्माणमा संलग्न सबै प्राविधिक कर्मचारीबाट लाइन लेभल तथा पियर हाइट कायम गर्दा गम्भीर लापरबाही र अनियमितता भएको अख्तियारको दाबी छ । अनियमिततालाई गुपचुप राखिएको र फिल्डको नापजाँच हचुवामा गरिएको, स्पेसिफिकेसन्सको क्लज ११२ बमोजिम नभएको पाइएको छ । स्पेसिफिकेसन्सकै क्लज १०४ बमोजिम निर्माण व्यवसायीबाट क्वालिटी एसुरेन्स प्लान (क्यूएपी) पेस गर्न लगाइएको, निर्माण सामग्रीको गुणस्तर प्रभावकारी नभए पनि स्वीकृत गरिएको र गुणस्तर प्रमाणित नगरी डिभिजन कार्यालयले भुक्तानी गरी अनियमितता गरेको पाइएको अख्तियारको भनाइ छ ।

पक्राउ परेका छैनन् आरोपी

अख्तियारले दोषीलाई भ्रष्टाचारमा मुद्दा दायर गरेको छ । तर उनीहरू पक्राउ परेका छैनन् । अख्तियारले सांसद रौनियारमाथि भ्रष्टाचार मुद्दा दायर भएकाले उनी निलम्बनमा परेको शुक्रबार नै संसद् सचिवालयलाई जानकारी गराएको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए । मुद्दा दायर गरिएकाहरूलाई पक्राउ गरी बयान लिने काम विशेष अदालतको भएको उनको भनाइ छ ।

माग गरिएको बिगो र कारवाही

हरिनारायणप्रसाद साह रौनियार –१९ करोड ३२ लाख २५ हजार– २ वर्ष कैद

सुमित रौनियार – १९ करोड ३२ लाख २५ हजार – २ वर्ष कैद

कार्मा तेन्जिङ तामाङ – १५ करोड ८ लाख ८४ हजार – ३ वर्षसम्म कैद

मनोज श्रेष्ठ – ९ करोड २४ लाख २४ हजार– ३ वर्षसम्म कैद

हरिबहादुर खड्का – ७ करोड ५४ लाख ४८ हजार – ३ वर्षसम्म कैद

नवराज केसी – ६ करोड ९२ लाख ४६ हजार – ३ वर्षसम्म कैद

राजेशकुमार यादव – ३ करोड ८८ लाख ७२ हजार –३ वर्षसम्म कैद

प्रेमप्रसाद चुवाई – ३ करोड १९ लाख ३८ हजार – ३ वर्षसम्म कैद

भानु जोशी – १ करोड ९७ लाख १३ हजार –३ वर्षसम्म कैद

गोविन्द गैरे –१ करोड ९५ लाख ८८ हजार – ३ वर्षसम्म कैद

दीपेन्द्रबहादुर विष्ट – १ करोड ६१ लाख ८३ हजार – ३ वर्षसम्म कैद

कृष्णदेव यादव – १ लाख ४१ हजार – २ वर्ष सम्म कैद


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.