सिमेन्ट उद्योगको प्रमुख केन्द्र बन्दै दाङ
तुलसीपुर : कुनै समय औद्योगिक विकासमा पछि परेको दाङ अहिले सिमेन्ट उत्पादनको केन्द्र बनेको छ। पहाडी भेगमा रहेको चुुनढुंगा खानीलाई मुख्य केन्द्र बनाउँदै जिल्लाको तराई क्षेत्रमा सानाठूला सिमेन्ट उद्योग खेल्ने क्रम बढिरहेको छ। यसले दाङलाई सिमेन्ट उद्योगको हबका रूपमा चिनाउँदै छ।
२०६५ सालदेखि दाङमा सिमेन्ट उद्योग खुल्न थालेका हुन्। १० वर्षको अवधिमै सात सिमेन्ट उद्योग सञ्चालनमा आइसकेका छन्। यीमध्य केहीले उत्पादनसमेत थालिसकेका छन् भने केही तयारीमा छन्। जिल्लामा स्थापित उद्योग १ अर्बदेखि १३ अर्ब रुपैयाँसम्मको लगानीमा छन्। जिल्लामा सिमेन्ट उद्योगमा मात्रै हालसम्म ५८ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
जिल्लामा स्थापित घोराही सिमेन्ट, सोनापुर सिमेन्ट र सम्राट् सिमेन्ट उद्योगले आफ्ना उत्पादन केही वर्ष अघिदेखि नै बजारमा ल्याइसेका छन्। दाङलाई आधार बनाएको तर पूर्वाधार अर्घाखाँचीमा स्थापना भएको शुभ श्री अग्नि सिमेन्टले पनि आफ्नो उत्पादन बजारमा ल्याइसकेको जानकारी दिएको छ।
रोल्पा सिमेन्टले पनि उत्पादन बजारमा ल्याएको छ। जिल्लामा स्थापित दाङ सिमेन्ट उद्योग, अरनिको आँबुखैरेनी सिमेन्ट उद्योग भने सञ्चालनमा आउन सकेका छैनन्। जिल्लामा सञ्चालित सिमेन्ट उद्योगले जिल्लालाई सिमेन्टमा आत्मनिर्भरसमेत बनाएका छन्।
जिल्लामा आफ्नो उत्पादन गरिरहेका उद्योगले पनि स्थापनाको तुलनामा दोब्बर उत्पादन गर्न थालेका छन्। साथै यिनले लगानीसमेत दोब्बर बढाएका छन्। ४ अर्ब रुपैयाँबाट सुरु गरेको सोनापुर सिमेन्टले लगानी बढाएर अहिले १० अर्ब पुर्याएको छ। उत्पादन पनि दैनिक ८ हजार बोराबाट बढाएर २० हजार पुर्याएको उद्योगका महाप्रबन्धक हरि पाठकले जानकारी दिए। उद्योगले क्लिंकर उत्पादन पनि दोब्बर बढाएको पाठकको भनाइ छ। उद्योगमा १ हजार ५ सय व्यक्तिले प्रत्यक्ष एवं परोक्ष रूपमा रोजगारी पाएका छन्।
६ अर्ब रुपैयाँबाट उत्पादन सुरु गरेको घोराही सिमेन्ट उद्योगले पनि आफ्नो स्थापनाभन्दा आफ्नो लगानी र उत्पादन बढाएको बताएको छ। उद्योगका जनसम्पर्क अधिकृत विकास शर्माले आयात प्रतिस्थापन गर्ने उद्देश्यले उद्योगले उत्पादन बढाइरहेको जानकारी दिए। त्यतिकै मात्रामा क्लिंकर उत्पादन पनि बढाएको उनले जानकारी दिए। उद्योगको लगानी ६ सय करोड स्थिर पुँजी रहेका उनको भनाइ छ। उद्योगमा एक हजार व्यक्ति रोजगारीमा छन्।
१० वर्षको अवधिमै सात सिमेन्ट उद्योग सञ्चालनमा आइसकेका छन्। यीमध्य केहीले उत्पादनसमेत थालिसकेका छन् भने केही तयारीमा छन्।
सम्राट् सिमेन्ट उद्योगले पनि आधुनिक जर्मन प्रविधि प्रयोग गरी गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेको जनाएको छ। पहिलो चरणमा सिमेन्ट मिल मात्रै सञ्चालन गर्न लागेको सम्राट्ले झन्डै २ अर्ब रुपैयाँ लगानी सिमेन्टमा गरेको छ। क्लिंकर उत्पादनमा मात्रै ११ अर्ब रुपैयाँ लगानी गरेको सञ्चालक करण शर्माले जानकारी दिए। दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगले पहिलो चरणमा ३० हजार बोरा उत्पादन गरिरहेको छ। क्लिंकर उत्पादन पनि सुरु गरेको उनले बताए। अहिले उद्योग फुलफेजमा सञ्चालन नभएको र अब छिट्टै फुल फेजमा उत्पादन थाल्ने उनको भनाइ छ।
रोल्पा सिमेन्टले आफ्नो उत्पादनलाई अहिले नियमित गरेको छ। उद्योगको उप्त्पादन बढिरहेको र अहिले दैनिक ३ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको उद्योगका जनरल म्यानेजर दीपक घिमिरेले जानकारी दिए। उद्योगको उत्पादनले राप्ती अञ्चलको मागलाई सम्बोधन गरिरहेको उनको दाबी छ।
अरुण सिमेन्ट उद्योग पनि लमही नगरपालिका क्षेत्रमा पूर्वाधार निर्माणको तयारीमा जुटेको उद्योगले बताएको छ। उद्योग सञ्चालन गर्न जग्गा खरिद र व्यवस्थापनको काम भइरकेको र केही दिनभित्र आवश्यक पूर्वाधार निर्माण सुरु हुने उद्योगका धीरेन्द्र मल्लिकले जानकारी दिए।
भनेजति चुनढुंगा
दाङको उत्तर-दक्षिण पहाड चुनढुंगामय छन्। यहाँको चुनढुंगाले अहिलेका उद्योगलाई सयौं वर्षसम्म धान्न सक्ने सर्भेले देखाएको छ।
जिल्लामा रहेको एक उद्योगले प्रयोग गर्ने चुनढुंगा खानी कम्तीमा पनि ५ सय वर्षलाई पुग्ने क्षेत्र रहेको सर्भेमा रहेका अधिकारीहरूले बताउने गरेका छन्। यसलाई देखेर पनि दाङमा सिमेन्ट उद्योग स्थापना हुने क्रम बढिरहेको छ। उद्योग स्थापना मात्रै होइन, दर्ताको क्रम पनि त्यत्तिकै छ।
आयात घट्यो
जिल्लामा सिमेन्ट उद्योग बढ्दै गएपछि सिमेन्ट आयात घटेको छ। जिल्ला सिमेन्टमा आत्मनिर्भर भएको र यहाँ उत्पादित सिमेन्ट अन्य जिल्लामा निकासी भइरहेको उद्योगले बताएका छन्। उद्योग सञ्चालकहरूले उद्योग सञ्चालनमा सरकारी पूर्वाधार पूरा नहुँदा केही समस्या भएकोसमेत बताउँदै आएका छन्।
बिजुली र खानीसम्मको सडक नहुँदा उद्योग सञ्चालनमा केही समस्या आएको उद्योगले कठिनाइ भाग्नुपरेको उनीहरूको भनाइ छ। लगानी बढे पनि वातावरण अझै सहज र सरल बनन नसकेको सचालकहरूको गुनासो छ।
आर्थिक सबलीकरण
जिल्लामा धमाधम ठूला उद्योग सञ्चालन हुन थाले पनि जिल्लाको आर्थिक सबलीकरण पनि बढ्दो छ। सामान्य र साना उद्योगले मात्रै टिकेको दाङ अहिले सिमेन्ट उद्योगले भरिभराउ छ। सिमेन्टकै लागि बाहिरिने अबौँ रकम जिल्लामै छ। दाङ आर्थिक सबलीकरणतर्फ गइरहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए।
उद्योग छरिएर रहे पनि अब औद्योगिक क्षेत्रको स्थापना हुन थालेकाले अझ बलियो बन्ने उनको भनाइ छ। उद्योग कलकारखाना र व्यवसायले अर्थतन्त्रमा टेवा पुर्याइरहेको चेम्बर अफ कमर्स दाङका अध्यक्ष दीपक सुवेदीले बताए। ‘आर्थिक रूपमा सम्पन्न बन्न उद्योग व्यवसाय सञ्चालन अत्यावश्यक हुन्छ’, उनले भने, ‘अब त्यस्तो वातावरण बन्दै छ। जिल्ला पनि आर्थिक रूपमा बलियो बन्दै छ।’
औद्योगिक केन्द्र
जति बेला देशमा युद्ध चलिरहेको थियो, त्यति बेलासम्म जिल्लामा कुनै पनि उद्योग, कलकारखाना सञ्चालनमा आउन सकेनन्। पहिलेदेखि सञ्चालित केही साना उद्योगसमेत बन्द हुने अवस्थामा रहे। जसले दाङ औद्योगिक विकासमा पछि पर्यो। यो अवस्था धेरै भने टिकेन। देशमा शान्तिप्रक्रिया सुरु भएसँगै जिल्लामा ठूला तथा साना उद्योग स्थापना हुन थाले, जसले दाङलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्यो। २०६५ सालपछि जिल्लालाई चिनाउने एउटा माध्यम औद्योगिक क्षेत्र पनि बनेको छ।
जिल्लामा घरेलु उद्योगका रूपमा ३ हजार उद्योग सञ्चालनमा छन् भने ५ अर्ब लागानी गरिएको छ। औद्योगिक क्षेत्र फस्टाउँदै गएको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएको छ। जिल्लामा साना तथा घरेलु उद्योगमा ५० हजारदेखि ५ करोड रुपैयाँसम्मको लगानीमा उद्योग स्थापना हुँदै गएका छन्, जसका कारण दाङको औद्योगिक क्रान्तिको विकास तीव्र बन्दै गएको छ। साथै महिला पनि औद्योगिक विकासतर्फ उन्मुख छन्। पछिल्लो समयमा दाङमा उत्पादनमूलक, सेवामूलक, कृषि तथा वनजन्य उद्योग र पर्यटन उद्योगको विकास उदीयमान अवस्थामा छ, जसले दाङको आर्थिक समृद्धिलाई उत्तिकै मात्रामा सघाएको छ।
औद्योगिक वातावरणले बढ्यो सहरीकरण
जिल्ला सिमेन्टको हब बन्दै गर्दा त्यसको प्रभाव सहरीकरणको विस्तारमा पनि देखिएको छ। औद्योगिक क्षेत्रमा अहिले सानाठूला सहर स्थापना भएका छन्।
जिल्लामा पुराना र नयाँ सहरको विस्तार बढिरहेको छ। तुलसीपुर, घोराही, लमहीमा आवादी बढेको छ। नारायणपुर, भालुवाङ, बिजौरी, दूधरास, गोग्ली, हापुरे र गढवा उदाउँदो सरहका रूपमा अघि बढ्दै छन्।