बस खेतमा खस्दा २२ यात्रु घाइते
दमौली : लमजुङको बेसिसहरबाट नारायणगढतर्फ गइरहेको यात्रुबाहक बस तनहुँ आबुखैरेनी गाउँपालिका–२ नारीघाटमा पल्टँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर खेतमा खसेको तनहुँका ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर क्षेत्रीले बताए।
दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको गोरखा, आठ जनाको भरतपुर तथा अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको ट्राफिक प्रहरी प्रमुख क्षेत्रीले जानकारी दिएका छन् ।
बसमा सवार अधिकांश दसैं मनाएर घर तथा काममा फर्किएका यात्रु थिए । जिल्लामा दसैंका बेला अन्य दुर्घटना नभएको भएपनि टीकालगत्तै यो घटना घटेको ट्राफिक प्रहरी प्रमुख क्षेत्रीले बताए।