बाहिरिएको जनशक्ति भित्र्याउने कसरी?
पछिल्लो समय काम, पढाइ र व्यवसायका लागि विदेश पुग्ने नेपालीको संख्या तीव्र रूपमा बढिरहेको छ। जसले गर्दा नेपालमा दक्ष जनशक्तिको कमी छ। नेपालका अधिकांश शिक्षित वर्ग विदेशी भूमिमा आफ्नो सीप र समय खर्चिरहेका छन्। ‘मेरो यो देशको ग्रीनकार्ड छ’ भनेर गर्वसाथ आफन्तबीच फूर्ति पार्दै अन्यलाई विदेश जान आकर्षित गर्नेहरूको कमी छैन।
विदेशको भिसा हात परेपछि खुसीले बाबुआमा र देशप्रतिको कर्तव्य पनि हामी बिर्सन्छौं। र उतै बाँच्ने सपना बोकेर रमाउँदै युरोप, अमेरिका, क्यानडा वा अस्ट्रेलिया पुग्छौं। केही वर्षपछि घर, गाडी किन्छौं र फेसबुकमा फोटो अपलोड गर्छौं। सन्तानको खुसी र सम्पन्नता देखेर तिनका आमाबाबु मख्ख पर्छन् तर बुढेसकाल र रोगले च्याप्दै गएपछि उनीहरू नै सहाराविहीन हुन्छन्। नेपालमा यस्ता दृश्य सामान्य बन्न थालिसकेका छन्।
केही समयअघि पशुपतिमा बसेकी एक वृद्धालाई सोधेकी थिएँ, ‘आमा तपाईंका आफन्त कोही छैनन्?’ उनको जवाफ थियो, ‘मेरा दुई छोरा अमेरिकामा छन्, श्रीमान् बितिसके, म एक्लै छु।’ उनी मागेर गुजारा गरिरहेकी थिइन्। उनलाई जीवन होइन, मृत्यु प्यारो लाग्न थालिसकेको थियो। यस्तो पीडा भोगिरहेका आमाबाबु थुप्रै छन्। नेपालमा भविष्य छैन भन्नेहरू कि त विदेशमा बसिरहेका छन्, कि विदेश जाने मानसिकता बनाएर बसेका छन्।
अभिभावक पनि सन्तानले १२ कक्षा पास गर्नासाथ विदेश जाओस् भन्ने चाहना राख्छन्। आखिर सबैले सुनेका छन्, नेपालमा भविष्य राम्रो छैन, सुख र पैसाका लागि त विदेश नै जानुपर्छ। त्यसैले उनीहरू चर्को ब्याजमा ऋण काढेर सन्तानलाई विदेश पठाउँछन्।
विदेशमा बस्नेहरूले नै अभिभावकका मनमा सकेसम्म उतैको नागरिक बन्नुपर्छ, पीआर, ग्रीनकार्ड लिनुपर्छ भन्ने कुरा हालिदिएका छन्। पढ्नका लागि बाहिर पठाउने भन्दै खुलेका कन्सल्ट्यान्सीले पनि यस्तै काम गरेका छन्। त्यस्ता कन्सल्ट्यान्सी पढाइलाई भन्दा पनि विदेश गएर कति कमाउन सकिन्छ, कसरी काम गर्नेजस्ता तरिका विद्यार्थीको दिमागमा भरिरहेका हुन्छन्। जानेमध्ये अपवादबाहेक सबैको ध्यान पैसा कमाउने र ग्रीनकार्ड लिने हुन्छ। एकजना गएपछि अन्यलाई पनि तान्ने बाटो बन्छ। त्यसका लागि के गर्नुपर्छ, त्यो हामी गर्छौं।
कतिपय उच्चपदस्थ पनि जागिर छोडेर विदेश पलायन भएका छन्। फेरि तिनै भन्छन्, नेपालमा रोजगारको अवसर राम्रो छैन। हुन त आप्रवासन समयको माग हो। अवसरको खोजीमा विभिन्न मुलुक पुग्नु आजको युगमा सामान्य हो। यो व्यक्तिगत स्वतन्त्रतासँग पनि जोडिएको कुरा हो। तर देश विकासमा शून्य भूमिका भएकाले विदेशमा बसेर नेपालमा विकास हुन सकेन भन्नु उचित होइन।
हामी बिरुवा रोपेर त्यसको मलजल गर्न चाहन्नौं। बरु एकैपटक अरूले फलाएको फल खान खोज्छौं।
देश विकासका लागि दक्ष जनशक्तिको आवश्यकता हुन्छ। अहिले विश्वका अधिकांश देशले सकेसम्म उर्वर जनशक्तिलाई आफ्नो देशतर्फ आकर्षित गर्ने प्रयास गरिरहेका छन्। क्यानडा, अमेरिकाजस्ता देशले अदक्ष जनशक्तिलाई भिसा दिँदैन तर सक्षम जनशक्तिलाई सहज वातावरण बनाइदिएको हुन्छ। आप्रवासीका लागि उनीहरूले अनेक नीति तयार गरेका छन्।
विकसित मुलुकका जनता पनि आफ्नो सीप र क्षमतालाई देश हितमा प्रयोग गरिरहेका हुन्छन्। तर नेपालको अवस्था त्यो छैन। सरकारी छात्रवृत्तिमा पढेकादेखि सीप र पैसा भएकाहरू अधिकांशमा विदेशमोह छ। युरोप, अमेरिका जानेहरू अधिकांश मध्यमवर्गीय या उच्च वर्गका शिक्षितहरू छन्। निम्न वर्गका प्रायः मानिस खाडी मुलुक गएका छन्।
विकसित देश जानेहरू देशमा भएको सम्पत्ति पनि बेचेर उतै घरजम गर्ने सोचमा हुन्छन् भने खाडी मुलुक जानेहरूले नेपालमा घरखेत जोडेर परिवारको भविष्य बनाउने उद्देश्य लिएका हुन्छन्। यहाँको सर्वस्व बेचेर जानेहरूले नेपालबारे बोल्नुको कुनै औचित्य हुँदैन। देशको समृद्धि चाहनेले यहीं बसेर देशलाई सघाउँछ। तिनलाई देशको माया हुन्थ्यो भने यो देश छाड्ने थिएनन्। सन्तानले पहिले बाउले घर बनाओस् अनि मात्रै घरमा बस्न आउँछु भन्न सुहाउँदैन। बरु घर बनाउने काममा सहयोग गर्नुपर्छ।
विदेशमा बस्ने धेरै नेपालीबाट सुनिन्छ, नेपालमा विकास भएन, सुविधा भए हामी पनि नेपालमै बस्न चाहन्छौं। फोहोर छ, धुलो छ र बाटोमा खाल्डाखुल्डी छ। तर देशको ऊर्जावान् जनशक्ति नै पलायन भएपछि विकास कसरी सम्भव छ? विदेशमा बसेर नेपालको विकास भएन भन्नेहरूले यो कुरा बुझ्न आवश्यक छ। देशको अवस्थाले विदेशिन बाध्य भएँ भन्नु बहाना मात्र हो। अमेरिका छिर्न कम्तीमा चौध–पन्ध्र लाख खर्च गर्नुपर्ने हुन्छ। त्यहाँ गएर काम खोज्न पनि सहज छैन।
प्रशस्त दुःख गरेपछि मात्र कमाइ हुन थाल्छ। कमाउन थालेपछि ग्रीनकार्डको चक्कर सुरु हुन्छ, वकिल राख्नुपर्यो, खर्च गर्नुपर्यो। त्यही लगानी नेपालमा गर्ने हो र त्यति नै मेहनत गर्ने हो भने एउटा परिवारले सहज जीविकोपार्जन गर्न सक्छ, जसबाट सबैको हित हुन्छ। तर हामी बिरुवा रोपेर त्यसको मलजल गर्न चाहन्नौं। बरु एकैपटक अरूले फलाएको फल खान खोज्छौं। यसले पनि देश विकासमा चुनौती थपिदिएको छ।
पछिल्लो समय सरकारले कर बढायो, प्रदेशले कर बढायो, जनता मारमा परे भन्दै सामाजिक सञ्जालमा हल्ला गर्नेहरूमा विदेश बस्नेहरू धेरै छन्। जसलाई कर बढाएको र देश विकास नभएको चिन्ता त छ तर सरकारको आम्दानी बढाउने चिन्ता छैन। सरकारको वास्ताविक आम्दानी भनेकै जनताले तिरेको कर हो।
अनुदान लिए मगन्ते भन्ने, ऋण लिए देश डुबाउने भयो भन्ने चलन छ। तर वृद्धभत्ता बढाउनुपर्छ, बेरोजगार भत्ता दिनुपर्छ, बाटोघाटो चिल्लो बनाउनुपर्छ, पुल बनाउनुपर्छ, गरिबी हटाउनुपर्छ, निःशुल्क स्वास्थ्य तथा शिक्षा पाउनुपर्छ पनि भन्छौं। यो विरोधाभास किन? किनभने हामीले नागरिकका रूपमा देशप्रतिको उत्तरदायित्व भुलेका छौं। सामाजिक सञ्जालमा गुनासो गरेर देशप्रतिको उत्तरदायित्व पूरा हुँदैन। यहीं आएर आफ्नो सीप र क्षमता खर्च गर्नुपर्छ अनि मात्रै हुन्छ देशको विकास। विदेशमा बस्नेहरूले नेपाल विकसित बनेपछि फर्किने सोच राख्नुहुन्न बरु फर्केर यसलाई कसरी विकसित बनाउन सकिन्छ, त्यसतर्फ काम गर्न आवश्यक छ।
प्रतिक्रिया दिनुहोस !