लोकवार्ता विषयको पठनपाठन माग
भोजपुर : त्रिभुवन विश्वविद्यालयमा यथाशीघ्र लोकवार्ता विषयको पठनपाठन सञ्चालन गर्न माग गरिएको छ। यस विषयको पाठ्यक्रम तर्जुमा भइसके पनि पठनपाठन भएको छैन। नौ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न लोकवार्ता परिषद्को तीनदिने आठौं राष्ट्रिय सम्मेलनले यस्तो माग गरेको हो। त्रिभुवन विश्वविद्यालयले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्नातकोत्तर तहमा लोकवार्ता विषय पठनपाठन गर्ने गराउने निर्णय गरेकोमा सम्मेलनले आभार प्रकट गरेको छ।
घोषणापत्रमा षडानन्द र योगमायाको योगदानको कदर गर्दै भोजपुरमा षडानन्द–योगमाया विश्वविद्यालय वा कुनै उच्च शैक्षिक–प्राज्ञिक प्रतिष्ठान स्थापना गरी यस क्षेत्रको महत्व अभिवृद्धि गर्न पहल गर्नुपर्ने उल्लेख छ।सम्मेलनमा लोकवार्ता केन्द्रित ८४ वटा कार्यपत्र छानिएकामा ६१ वटा कार्यपत्र प्रस्तुत गरिए। अमेरिका, अस्टे«लिया भारतको दार्जिलिङ, सिक्किम, आसामका सहभागीले कार्यपत्र प्रस्तुत गरे। सोमबार धरानको विमल गुरुङ स्मृति पुस्तकालयबाट अनौपचारिक कार्यक्रम सुरु भई भोजपुर बहुमुखी क्याम्पसमा समापन भएको थियो।
मंगलबार भोजपुरको सदरमुकाममा सांस्कृतिक झाँकीका साथ नगर परिक्रमा गरी टुँडिखेलमा औपचारिक रूपमा कार्यक्रम आयोजना गरियो। उद्घाटन सत्रका प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले देशविदेशका लोकसंस्कृतिकर्मी भोजपुरमा जम्मा भई ऐतिहासिक कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे। समापन सत्रका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले देशका विभिन्न भेगमा लोकवार्ता परिषद्ले नियमित गोष्ठी गरी कार्यपत्रको संकलनसमेत प्रकाशित गर्ने कार्य प्रशंसनीय रहेको बताए।
लेप्चाहरूको लोककथाबारे कार्यपत्र प्रस्तुत गरेका सिक्किम केन्द्रीय विश्वविद्यालयका सहप्राध्यापक बलराम पाण्डेले भने, ‘नेपालका लोकसंस्कृतिकर्मीले झैं भारतका नेपालीभाषी लोकसंस्कृतिकर्मीले पनि यस्तो सम्मेलन गर्ने सोच बनाएका छन्।’ उनले भूगोलले विभाजन गरे पनि दुवै देशको कतिपय लोकसंस्कृति एउटै रहेकाले मिलेर अनुसन्धानमा लाग्नुपर्ने विचार राखे।
सिक्किमको लोकनाटकबारे कार्यपत्र प्रस्तुत गरेकी नीलम गुरुङले आफू पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सम्मेलनमा सहभागी भएको बताइन्। उनले अग्रजहरूलाई युवा अनुसन्धानकर्मी अघि बढ्ने बाटो बनाउन आग्रह गरिन्। त्यस अवसरमा योगमाया उपन्यासकी लेखिका नीलम कार्की निहारिका, नेपाली लोकदोहरीमा विद्यावारिधि गरेकी अमेरिकी आना स्टिर, भोजपुरका लोकगायक सुरेन्द्र पुलामी, करुवालगायत हस्तकलाका निर्माता टक्सारका बुद्धरत्न शाक्य आदिलाई सम्मान गरियो।
कार्यक्रमका सहभागीले राणाकालमै मुद्रा छापिने टक्सार क्षेत्र र राणाकालमै निजी स्कुल खोली शिक्षामा लागेका आवाल ब्रह्मचारी षडानन्द अधिकारीको आ श्रम क्षेत्र पनि अवलोकन गरे। उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष डम्बर श्रेष्ठले लोकसंस्कृतिकर्मीलाई मायाको चिनोस्वरूप संघका तर्फबाट भोजपुरे खुकुरी उपहार प्रदान गरे।
अध्यक्षमा पुनः खत्री
सम्मेलनले अध्यक्षमा पुनः प्राडा प्रेमकुमार खत्रीलाई सर्वसम्मत चयन गरेको छ। १७ सदस्यीय समितिको उपाध्यक्षमा कपिल लामिछाने र यज्ञराज उपाध्याय, महासचिवमा भक्त राई, सचिवमा शीतल गिरी र कोषाध्यक्षमा ध्रुव भट्टराई छन्।
सदस्यमा भवेश्वर पंगेनी, धु्रव घिमिरे, दिव्यश्वरी जोशी, केबी सिम्पल, मनोहर लामिछाने, गायत्री पराजुली, अम्बादत्त भट्ट, मुकुन्द शर्मा, धनेश्वर नेपाल र प्रवीण पुमा छन्। परिषद्को नवौं राष्ट्रिय सम्मेलन आगामी वर्ष दसैं र तिहारको बीचमा बमकुमारी बुढाको संयोजनमा रोल्पामा हुने भएको छ।
प्रतिक्रिया दिनुहोस !