नेपालगन्जमा करिडोर बनाउन पहल सुरु : मुख्यमन्त्री पोखरेल
नेपालगन्ज : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्जलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न पहल सुरु गरिएको बताएका छन् ।
नेपालगन्जको पुननिर्मित रानी तलाउ बोटिङ विहारको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले करिडोर विकासका लागि एसियाली विकास बैंकसँग छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘भैरहवा–बुटवल जस्तै नेपालगन्ज–कोहलपुरलाई विकास गर्न सकिन्छ । त्यसका लागि एसियाली विकास बैंकसँग छलफल भइरहेको छ ।’
बाँकेलाई औद्योगिक हबको रुपमा विकास गर्न नौबस्ताको निर्माणाधीन औद्योगिक क्षेत्रलाई एक हजार विगाहामा विस्तार गर्नुपर्ने उनको धारणा छ । पेखरेलले जग्गा अतिक्रमण गरेर बसेका व्यक्तिलाई मुअब्जा दिने भन्दा उनीहरुलाई स्वरोजगार हुने गरी औद्योगिक क्षेत्रमै व्यवस्थापन गर्न सकिने पनि बताएका छन् । अहिले निर्माणाधीन नौबस्ता औद्योगिक क्षेत्रको क्षेत्रफल भने अपर्याप्त भएको उनको भनाइ थियो ।
कार्यक्रममा पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, संघीय संसदका सदस्य महेश्वर गहतराज ‘अथक’, प्रदेशसभा सदस्य आइ.पी.खरेल लगायतले बाँकेको विकास निर्माणका विषयमा धारणा राखेका थिए ।