हजारौँले हेरे डल्ले सराय: प्रथमलाई एक लाख पुरस्कार
प्यूठान : भाइटीकाको भोलिपल्ट लाग्ने ऐतिहासिक डल्ले सराय मेलामा यसवर्ष पनि दर्शकको उपस्थिति उल्लेखनीय रहेको छ। विगतदेखि प्रतियोगिताकै रुपमा सराय नाच संचालन भएपछि सयौंको संख्यामा स्थानीय उपस्थित हुने गरेका छन्।
जिल्लाको मध्यक्षेत्र प्यूठान नगरपालिका ७ मा संचालन हुने डल्ले सरायमा यसवर्ष आठ वटा समूहले सहभागीता जनाए। सात मिनेट समयसम्म प्रतियोगिले सरायको प्रस्तुती देखाए। वखै, वखै गर्दै हातमा तरबार लिएर मैदानमा सराय नाच देखाउदा उनीहरुलाई मोबाइलमा कैद नगर्ने दर्शक कमै देखिन्थे।
आयोजक प्यूठान नगरपालिकाले प्रथम हुने सराय प्रतियोगिलाई एक लाख रुपैयाँ नगद पुरस्कार व्यवस्था गरेको थियो। प्रथम पुरस्कार विजयनगरको सराय समूहले जितेको छ। ७५ हजार दोस्रो पुरस्कार पुण्यखोला र ५० हजारको तृतीय पुरस्कार थापडाँडा समूहले पाएकाे छ।
सहभागी सबैलाई प्रोत्साहन स्वरुप २०-२० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ। १५ जनाको समूह बनाएर सराय नाच प्रदर्शन गरिएको थियो। हजारौँ दर्शकले डल्ले सरायको अवलोकन गरेको आयोजकले जनाएको छ।
पूण्यखोला, सारीवाङ, पाण्डेडाँडा, जुम्रिकाडाका स्थानीयले समेत सराय प्रदर्शन गरेका थिए। नेपाली पोशाक, पञ्चेबाजा, बाद्यबादन, नित्यको तालमेल लगाएत क्षेत्रलाई आधार मानेर विजयी समूह छनोट गरिएको मूल्यांकन समितिका संयोजक हुकुमबहादुर विष्टले जानकारी दिए।
प्यूठान नगरपालिकाले चालु आर्थिक वर्षमा डल्ले सरायँका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताएका छन्। उनका अनुसार सरायलाई नगरपालिकाको साँस्कृतिक पर्यटन क्षेत्रमा डल्ले सरायँलाई विशेष प्राथमिकता दिएर नीति, तथा कार्यक्रम बनाएको छ।
डल्ले सराय प्यूठानीको पहिचानसँग जोडिएको छ। करिब सातसय वर्ष अघिदेखि जाँट वंशीय राजाको राक्षसी स्वभावविरुद्ध जनताले तरबार उठाएको घटानासँग सराय नाच जोडिएको छ। विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरेको सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सराय निकाल्ने गर्छन् । 
प्रतिक्रिया दिनुहोस !