ग्रेडवृद्धि परीक्षाको मापदण्ड फेरियो

ग्रेडवृद्धि परीक्षाको मापदण्ड फेरियो

काठमाडौं  : कक्षा ११ को नतिजा प्रकाशनमा लापरवाहीको आरोप खेपिरहेको राष्ट्रिय परीक्षा बोर्डले फेरि अपरिपक्वता देखाएको छ। असोज २० गते प्रकाशित परीक्षाको नतिजाप्रति चित्त नबुझे ग्रेडवृद्धि परीक्षाका लागि यसअघि तोकिएको परीक्षा मिति स्थगन भएको छ। परीक्षा आउन दुई साताअघि मात्र स्थगन गरिएको सूचना जारी गरे पनि अर्को मिति तोकिएको छैन। नतिजा प्रकाशनका बेला बोर्डले मंसिर ८ गतेलाई ग्रेडवृद्धि परीक्षाको मिति तोकेको थियो। आइतबार जारी सूचनामा पुसमा परीक्षा सञ्चालन गर्ने बताइए पनि दिन भने तोकिएको छैन।

ग्रेडवृद्धि परीक्षामा बस्न चाहने विद्यार्थीका लागि यसअघि निर्धारित मापदण्डमा पनि परिवर्तन गरिएको छ। नतिजा प्रकाशन गर्दा असोज २० गतेको सूचनामा बोर्डले सबै विषयमा सी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित वा डी प्लस प्राप्त गरेका परीक्षार्थीले अनुपस्थित वा डी प्लस प्राप्त गरेको विषयमा ग्रेडवृद्धि र पूरक परीक्षामा सहभागी हुन सक्ने व्यवस्था गरेको थियो।

तर आइतबारको सूचनाअनुसार नतिजामा सी, डी प्लस, डी वा ई ग्रेड प्राप्त गरेका विषयमध्ये विद्यार्थीले आफूले ग्रेडवृद्धि गर्न चाहेका दुई विषयमा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको छ। बोर्डले यो वर्षदेखि पहिलो पटक कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो।

परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार पहिलो पटक तोकिएको मापदण्डअनुसार परीक्षा सञ्चालन भएको भए १ लाख ४ हजारको हाराहारीमा विद्यार्थी ग्रेडवृद्धि परीक्षामा बस्न पाउने थिए। नयाँ मापदण्डअनुसार दुई विषयको परीक्षा दिन पाउने भएपछि परीक्षा दिन पाउने विद्यार्थीको संख्या दुई लाख ९६ हजार पुग्ने उनले बताए। ‘असोजमा सार्वजनिक नतिजाको तथ्यांकलाई आधार मान्दा यस्तो देखिएको हो’, शर्माले भने। स्नातक तहमा भर्नाका लागि विश्वविद्यालयहरूको मापदण्डलाई आधार मान्दा बोर्डको नतिजाअनुसार उपस्थित थुपै्र विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुन सक्ने अवस्था आएकाले ग्रेडवृद्धि परीक्षाको मापदण्ड फेरिएको उनको दाबी छ। यस विषयमा थुपै्र विद्यार्थीबाट गुनासोसमेत आएकाले नयाँ मापदण्ड बनाइएको पनि उनले बताए।

तर नतिजा प्रकाशनपछि यस्तो समस्या आउन सक्छ भन्ने विषयमा पहिले नै अनुमान गर्न नसक्नु बोर्डको अपरिपक्वता भएको भन्दै आलोचना भएको छ। ‘पटकपटक परीक्षाको मिति तोक्नु र ग्रेडको विषयमा पनि नयाँनयाँ निर्णय गर्नुले परीक्षा बोर्डको अपरिपक्वता झल्किन्छ’, एक शिक्षाविद्ले भने।

असोज २० गते सार्वजनिक कक्षा ११ को परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा नौ तहमा वर्गीकरण गरेर सार्वजनिक भएको थियो। यसअनुसार नियमिततर्फ जीपीए ३ दशमलव ६१ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन्। जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० ल्याउने ८ हजार ९ सय ४९, जीपीए २ दशमलव ८१ देखि जीपीए ३ दशमलव २० ल्याउने २४ हजार ५ सय १५ विद्यार्थी छन्। त्यसैगरी २ दशमलव ४१ देखि २ दशमलव ८० ल्याउने ४८ हजार ७ सय ३१, जीपीए २ दशमलव १ देखि २ दशमलव ४० ल्याउने ८६ हजार ७ सय ७७, जीपीए १ दशमलव ६१ देखि २ ल्याउने ९२ हजार ५ सय ९३ छन्।

जीपीए १ दशमलव २१ देखि १ दशमलव ६० ल्याउने ४१ हजार ४ सय ६, जीपीए ० दशमलव ८१ देखि १ दशमलव २० ल्याउने ८ हजार १ सय २७ र जीपीए ० देखि ० दशमलव ८० ल्याउने २० हजार ६ सय ८५ जना थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.