घुम्ती शिविरबाट नागरिकता वितरण, ७० वर्षीयले पनि बल्ल पाए
डोटी : डोटीको बोगटान गाउँपालिकाले शिविर सञ्चालन गरी स्थानीयलाई नागरिकता वितरण गरेको छ । गाउँपालिकामा संचालन गरिएको एकीकृत घुम्ती सेवा शिविरबाटै सात सय ३३ स्थानीयले एक दिनमै नागरिकता पाए ।
७० वर्षीय बृद्धदेखि युवासम्मले यहाँबाट एकै पटक नागकिता पाएका हुन् । बोगटान गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा संचालन गरिएको एकीकृत घुम्ती शिविरबाट यहाँ पहिलो पटक नागरिकता वितरण भएको हो ।
नागरिकता लिन पिठ्यूँ चढेर बसेर शिविरमा पुगेका वडा नं. ४ सात्फरीका ७० वर्षीय भीमबहादुर दमाई गाउँमै नागरिकता लिन पाउँदा खुसी लागेको बताउँछन् । अपाङ्ग रहेका दमाई जिल्ला सदरमुकाम जान नसक्ने भएका कारण अहिलेसम्म नागरिकता लिन पाएका थिएनन् । ‘आधा बाटोसम्म छोरा भजिताले बोकेर ल्याए त्यहाँबाट गाउँपालिकाको गाडीले ल्याइदियो, बल्ल नागरिकता पाइयो ।’ भीमबहादुरले भने ।
उनलाई प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले नागरिकता हस्तान्तरण गरेका हुन् । जिल्ला सदरमुकाम जान नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता वितरण गर्ने कार्यक्रम बनाएको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।
प्रजिअ सुवेदीले भने, ‘सबै नागरिक प्रशासनको पहुँचमा पुग्न सक्दैनन्, सबै नागरिकको घरसम्म हामी पनि पुग्न सकेका हुँदैनौँ । त्यसैले गाउँपालिकाको पहलमा शिविर संचालन गर्ने कार्यले नागरिकलाई फाइदा भएको छ ।’
शिविरमा मतदाता परिचयपत्र पनि वितरण भएको थियो । यस क्रममा चार सय ५० मतदाता परिचयपत्र वितरण भएको हो । मंसिर ७ र ८ गते सञ्चालन भएको शिविरमा सेवाग्राहीको चाप धेरै भएपछि एक दिन थप गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार जिल्लाका ग्रामिण भेगमा .सञ्चालन गरिएका शिविरमध्ये सबै भन्दा बढी यस पटक नागरिकता वितरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको सहायतामा स्थानीय सरकारले डोटीमा पहिलो पटक एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो ।