रामेछाप प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट
![रामेछाप प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट](https://annapurnapost.prixacdn.net/media/albums/Ramechhap-Police_20181127121548_AeniAD4QhY.jpg)
रामेछाप : जिल्ला प्रहरी कार्यालय रामेछापले अवैध घरेलु मदिरा तथा विष्फोटक पदार्थ नष्ट गरेको छ। विभिन्न मितिमा बरामत गरिएको अवैध घरेलु मदिरा तथा साना पटकालाई प्रहरीले मंगलबार स्थानीय रणजोर खोला नजिकै नष्ट गरेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी शेख अदालतका अनुसार प्रहरीको टोलीले गत शनिबार मन्थली नगरपालिका वडा नम्बर ६ सेलेघाटबाट १२० लिटर अवैध घरेलु मदिरा बरामत गरेको थियो।
प्रहरीले सदरमुकाम मन्थली वरिपरि सञ्चालित होटलबाटसमेत विभिन्न मितिमा ठुलो परिमाणमा अवैध मदिरा बरामत गरेको थियो। यसैगरी जिल्ला प्रहरी कार्यालय रामेछापले सिन्धुलीको खुर्कोट नाका हुँदै रामेछाप भित्रने सवारी साधन चेकजाँचको क्रममा अवैध रुपमा भित्र्याइएका ८० प्याकेट साना पटका पनि नष्ट गरेको छ।
रामेछापको सदरमुकाम मन्थली बजारलगाएत रामेछाप, धोबी, खिम्ती र दोरम्बा बजार क्षेत्रमा अवैध मदिराको प्रहरीले विशेष निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी अदालतले जानकारी दिए। अवैध मदिरा उत्पादन, ओसारपसार र बिक्री वितरण निरुत्साहित गरि समाजमा आपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले मदिरा नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)