बालबालिकाले चाहेको देश
काठमाडौं : १ देखि ५ कक्षामा पढ्ने बालबालिकाले देशलाई कसरी परिभाषित गर्लान ? देशलाई परिभाषित गर्न उनीहरूले गीतको सहारा लिए ।
जावलाखेलस्थित सेन्ट मेरिज स्कुलका १ देखि ५ कक्षा पढ्ने नानीहरूले शनिबार बिहान ‘हाम्रो देश यस्तो होस्’ भन्दै नृत्य गर्दै देशको परिभाषित गर्दा उपस्थित अभिभावक स्तब्ध भएका थिए ।
उनीहरूले चाहेको देशमा छोरीले बलात्कारको शिकार हुनु हुँदैन थियो । छोरा अपहरणमा पर्नु हुँदैन थियो । रोजगारीका लागि युवाहरू खाडी मुलुक भासिनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने थियो । आफ्नै देशमा पाखुरी बर्जान पाउने वातावरण उनीहरूको माग थियो ।
नेपालमा नै पसिना बगाउनु पर्ने चाहना उनीहरूको थियो । स्टेजमा कलिला नानीले यस्तो भावको गीतमा नृत्य गरिरहँदा वातावरण स्तब्ध भएको थियो । जब उनीहरूले नृत्य सकेर निहुरिँदै बिदा माग्न थाले, तालीको गड्गडाहट सुरु भयो ।
जावलाखेलस्थित उक्त स्कुलका विद्यार्थीले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमको अवसरमा त्यस्तो भावको गीतमा नृत्य गरेका थिए । उनीहरूले नेपाल विविधताभित्र एकता भएको मुलुक भएको बताउँदै मैथिली, नेवारी भाषाको गीतमा समेत नृत्य गरे । बेली नृत्य अत्यन्तै मनमोहक थियो । राष्ट्रियता र विश्व शान्तिको कामना गर्दै गाएका गीतले दर्शक दीर्घामा बसेका अभिभावक र शिक्षकहरू भावुक बनेका थिए । निकै आत्मविश्वासी देखिएका बालिकाहरूले गीत मार्फत् आफू स्वतन्त्र भएर बाँच्न चाहेको सन्देश दिएका थिए ।
हत्या, बलात्कार जस्ता घटनाले आफूहरूलाई त्रसित बनाएको बताउँदै त्यस्तो वातावरण अन्त्यको माग समेत गरे । कार्यक्रममा स्कुलका प्रिन्सिपल सिस्टर मेरियट सि जेले प्रत्येक विद्यार्थीलाई प्रस्तुतिमा सहभागी गराएको बताइन् ।
लामो तयारी र मिहिनेतले सबैलाई सहभागी गराउन सकिएको बताउँदै शिक्षिाकाहरूको लगावको प्रशंसा गरिन् । उनले सांस्कृतिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । कार्यक्रममा रिजनल सुपेरियर सिस्टर जेसी सि जेको समेत उपस्थिति थियो ।