ऊनी कपडाले बजार पाएन
रुकुमकोट : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ शेराका ५५ वर्षीय थपन घर्तीको मूल पेसा हो, भेडापालन। यो पुर्खौली पेसा हो। घर्तीसँगै शेरा र वडा– १० का अरु पनि भेडापालनमा छन्। भेडाको ऊनबाट हातले बुनेर कपडा बनाउने र भेडा बेचेर उनीहरूले जीविका चलाउँदै आएका छन्।
बजारमा सबै वस्तुको मूल्य बढ्यो। तर थपनले पालेका भेडा र ऊनबाट बनेका सामानको मूल्य कहिल्यै बढेन। ‘मैले थाहा पाउने उमेर भएदेखि न भेडाको मूल्य बढ्यो न ऊनको’, घर्तीले गुनासो गरे। भेडाको ऊनबाट बनेका धेरै स्थानीय उत्पादन अहिले बजार अभावका कारण घर–घरमै थन्किएका छन्।
पुथा उत्तरगंगा १० र ११ तकसेराका गाउँमा मात्रै लगभग १० हजार भेडा छन्। अरु वडामा थप ६ सय भेडा छन्। बर्खा र गर्मी याममा ढोरपाटन शिकार आरक्ष नजिकै रहेको बुकी पाटनको चरण क्षेत्रमा राखिने भेडा हाल बुकीमा चिसो हुने र हिउँसमेत पर्ने भएकाले औल अर्थात् बेसीतिर झार्ने गरेको स्थानीय भेडापालक कृषक टेकबहादुर घर्तीले बताए।
भेडालाई जाडोबाट जोगाउन दाङसम्म झरेको अनुभव उनीसँग छ। ‘मौसमअनुसार भेडालाई लेख–औल गराउनुपर्छ’, उनी भन्छन्, ‘भेडाको वथान लिएर लेकबेसी गर्दै जिन्दगी बितिरहेको छ।’ वर्षमा दुईपटक असोज र फागुनमा भेडाको रौं काटिन्छ। यही रौंबाट बनाउन सकिन्छ, न्याना कपडा। ऊनको खपत सदुपयोग हुन सकेको छैन भने बनेका वस्तुसमेत घरमै थन्किएका छन्। एक किलो ऊनलाई भेडापालक कृषकले एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा बेच्ने गरेका छन्। यति थोरै मूल्यमा ऊन बिक्री गर्न पाउँदा पनि उनीहरू खुसी थिए। तर अहिले त्यही मूल्यमा पनि बिक्री भएको छैन। भेडाको मूल्य भने पहिलेको तुलनामा केही बढेको छ। अहिले एउटा भेडालाई १० देखि १५ हजारसम्ममा बेच्न सकिन्छ।
भेडापालक कृषकले हाते सीपको प्रयोग गरी ओछ्याउने कम्बल, राडी, पाखी, सिरक, डस्ना बनाउँछन्। यसबाहेक ऊनबाट जाडोमा लगाउने न्यानो ज्याकेट पनि बनाउन सकिन्छ। यसका लागि रौंलाई जमाउने प्रविधि आवश्यक पर्छ जो गाउँमा छैन। ऊनबाटै टोपी, स्विटर, पञ्जा, स्टकोट, मोजा र जुत्ताचप्पलसमेत बनाउन सकिन्छ। प्रविधि र सीप नभएपछि परम्परागत रूपमा बनिरहेका कम्बल, राडी र पाखी मात्रै पाइन्छन्।
भेडाको ऊनबाट बनेका धेरै स्थानीय उत्पादन अहिले बजार अभावका कारण घर–घरमै थन्किएका छन्।
थुप्रो परेको ऊनलाई हातैले जोडेर स–सानो धागोको जस्तै डोरी बनाइ काठको तानमा राखेर कम्बल बुन्न सकिन्छ। घरबुना उत्पादनलाई आयातित गलैंचा र कार्पेटले विस्थापित गरिदिँदा उत्त्पादक चिन्तामा छन्। पुरुषले भेडा पालेर ऊनको जोहो गरिदिएपछि महिला घरमा बसेर ऊनको कम्मललगायत सामग्री बनाउँछन्।
तकसेराका प्रत्येक घरमा अहिले कम्तीमा १०/१५ थान कम्बल तयारी अवस्थामा रहेको स्थानीय लालपुरा बुढा बताउँछिन्। वर्षभरिको मेहनत बजारमा बिक्री नहुँदा उनलाई चिन्ता छ। ‘हामी हात खाली नराखेर कम्बल बनाउँछौ। तर बेच्ने ठाउँ छैन’, बुढा प्रश्न गर्दै भन्छिन्, ‘मसँग मात्रै ६० थान कम्बल छ तर कहाँ लगेर बेच्ने ? बजार छैन।’
एउटा कम्बललाई दुईदेखि ६ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेको उनीहरू बताउँछन्। एउटा कम्बल तयार गर्न १० देखि २५ दिन लाग्छ। हालको मूल्यमा बेच्दा लगानीसमेत उठ्न धौ–धौ हुने गरको स्थानीय बूढीमाया बूढाको भनाइ छ। परम्परागत भेडापालन पेसालाई व्यावसायिक बनाउन सरकारको सहयोग चाहिने गाउँपालिका सदस्य जिताराम कामी बताउँछन्। ‘भेडाको ऊनबाट स्थानीय उत्पादनमा जोड दिन आवश्यक छ। यसका लागि बजार र प्रविधि दुवैमा स्थानीय सरकारले जोड दिनुपर्छ।’