कुपनबाट एक करोड संकलन
गोरखा : मनास्लु पर्यटन पदमार्गमा लागू गरिएको कुपन सिस्टमबाट एक करोड रुपैयाँभन्दा धेरै रकम संकलन भएको छ। विदेशी पर्यटकका गाइड तथा भरियालाई खाना खुवाएका मनास्लु क्षेत्रका करिब एक सयवटा होटलबाट सो रकम संकलन भएको मनास्लु पर्यटन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्कीले जानकारी दिए।
कार्कीका अनुसार असोज १ गतेदेखि कुपन सिस्टम लागू गरिएको थियो। ‘साढे दुई महिनामै एक करोड उठ्यो’, कार्कीले भने, ‘हामीले सो रकम चुमनुब्री गाउँपालिका ३ फिलिममा भर्खरै स्थापना गरिएको कुमारी बैंकमा बचत गरेका छौं।’ पुस १२ गते होटल व्यवसायीको बृहत् भेला गरेर दामासाहीले रकम बाँडफाँट गर्ने उनले बताए।
यसअघि गाइडले होटलमा निःशुल्क खाने गरेका थिए। ‘हामीले पाहुना ल्याइदिएका छौं भनेर गाइडहरूले निःशुल्क खाने चलन थियो’, अध्यक्ष कार्कीले भने, ‘त्यसो गर्दा व्यवसायीलाई मर्का परेकाले यो वर्षदेखि पर्यटक प्रवेश गर्ने ठाउँ जगत चेकपोस्टमा नै गाइडसँग खानाको पैसा लिएर कुपन दिने सिस्टम लागू गरेका हौं।’ मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को चेकपोस्टमा पर्यटकको विवरण दर्ता गरेपछि सँगै रहेको होटल व्यवसायीको कार्यालयले कुपन काट्नुपर्ने नियम अनिवार्य गरिएको उनले बताए।
मनास्लु क्षेत्रमा रहने पर्यटकबाट दिनको प्रतिछाक दुई सय रुपैयाँका दरले शुल्क लिने गरेको समितिले जनाएको छ। जगतदेखि चुमभ्याली र नुब्री भ्यालीभरिका होटलका लागि कुपन लागू गरिएको हो।
संकलित रकम व्यापारीले मात्र नलिई सामाजिक काममा पनि खर्च गरिने समितिले जनाएको छ। ‘कार्यालयको भाडा, दुई जना कर्मचारीको तलबमा केही रकम जान्छ’, समितिका अध्यक्ष कार्कीले भने, ‘बाँकी रहेको रकमबाट मनास्लु क्षेत्रमा गाइड तथा भरिया बिरामी भए भने उपचार खर्चका लागि कोष खडा गर्छौं। त्यसबाट बचेको पैसा व्यवसायीलाई बाँड्छौं।’
जगतदेखि चुम र नुब्रीपुसम्म करिब एक सय २० होटल रहेको अनुमान गरिएको छ। पुस १२ गते हुने भेलाले व्यवसायलाई व्यवस्थित बनाउन थप निर्णय पनि गर्ने उनले बताए।