व्यापार मार्ग बन्दै पकली–कञ्चनपुर सडक
![व्यापार मार्ग बन्दै पकली–कञ्चनपुर सडक](https://annapurnapost.prixacdn.net/media/albums/Koshi-Road_20181218082049_xomao6Qurs.jpg)
काठमाडौं : पूर्वपश्चिम राजमार्गमा कोसी ब्यारेज हुँदै चल्ने सवारीसाधन अब वैकल्पिक सडक भएर चल्न सक्छन्। निकट भविष्यमा कोसी ब्यारेजको मर्मत सम्भार गर्नुपर्ने भएकाले सुनसरीको पकलीदेखि सप्तरीको कञ्चनपुरसम्म जोड्ने सडकमार्ग प्रयोगमा आउनेछ।
पकली–नदाहा १२ किमि खण्डबाहेक नदाहादेखि चतरा हुँदै उदयपुरका बेलका तथा चौदण्डी नगरपालिका र सप्तरीका सप्तकोसी र कञ्चनरूप नगरपालिका हुँदै पूर्वपश्चिम राजमार्गमा पर्ने कञ्चनपुर जोड्ने ६१.२४ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। नदाहा–कञ्चनपुर सडक औपचारिकरुपमा सरकारलाई हस्तान्तरण नभइसकेको भए पनि सञ्चालनमा भने आइसकेको छ।
मेची र कोसी अञ्चल जोड्ने कोसी ब्यारेजको विकल्पमा निर्माण गरिएको यो सडकको रणनीतिक महत्व पनि त्यत्तिकै छ। यो सडकसँग मदनभण्डारी राजमार्ग अन्तर्गत धरान–चतरा–हेटौंडा सडकखण्डको अधिकांश हिस्सा यसै सडकसँग सामेल हुन्छ। यस्तै, उत्तर–दक्षिण जोड्ने निर्माणाधीन कोसी करिडोर पनि यसै सडकसँग चतरास्थित सप्तकोसी पुलमा जोडिन्छ।
दक्षिणमा विराटनगरको रानीदेखि उत्तरमा संखुवासभाको किमाथांका जोड्ने कोसी राजमार्गसँगै मदन भण्डारी राजमार्ग र कोसी ब्यारेजको वैकल्पिक मार्गका रूपमा तयार भएको यो सडक राष्ट्रिय सडक सञ्जालमा जीवनाधार हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोज प्रधान बताउँछन्। पकलीदेखि नदाहासम्मको १२ किमि खण्डको पनि निर्माण कार्य अघि बढिसकेकाले आउँदो ६ महिनाभित्र सम्पूर्ण सडक निर्माण सम्पन्न हुने उनले बताए।
एसियाली विकास बैंक (एडीबी) को दुई अर्ब ४४ करोड रुपैयाँ ऋण सहयोगमा निर्माण भएको यो सडक निर्माण भएसँगै सडक पहुँच पुगेका ठाउँमा रामपुर र लालबजार जस्ता दुई ठूला बजार बनेका छन् भने सप्तरीको पुरानो सहर फत्तेपुरको चमक पनि बढेको छ। फत्तेपुर हुँदै जाने एक लेनको सडक विस्तार गरेर दुई लेनको बनाइएको छ।
सडकको पहुँचसँगै स्थानीयलाई आयआर्जनका नयाँ स्रोत प्राप्त भएका छन्। सडक निर्माणसँगै स्थानीयबासीका लागि सीप विकास तालिम सञ्चालन गरिएको एडीबीका राष्ट्रिय निर्देशक मुख्तोर खामुदखानोभ बताउँछन्। ‘सडकले सिर्जना गर्ने आर्थिक क्रियाकलापका अवसरसँग स्थानीयलाई जानकार गराउनुपर्छ भनेर सडक निर्माणसँगै सीप विकास तालिम सञ्चालन गरिएको हो। यसबाट ठूलो आर्थिक–सामाजिक रूपान्तरण आएको छ’, उनले भने, ‘नयाँ व्यापारिक हव बनेका छन्। उद्यमशीलता बढेको छ। स्थानीयले रोजगारी प्राप्त गरेका छन्।’
उदयपुरको बेलका नगरपालिका–५ का स्थानीय श्यामकुमार राईले सडकको पहुँचसँगै स्थानीयको जनजीविकामा सुधार आएको बताउँछन्। सडकको पहुँचसँगै स्थानीय कृषि उत्पादनले बजार पाएको छ। ‘आफूले फलाएका तरकारी, फलफूल ४५ मिनेटको बाटोमा धरानको बजारमा लगेर बेच्न सकिने भएको छ’, उनले भने, ‘हरेक हप्ता नजिकैको लालबजार हटियामा लगेर बेचे पनि भयो।’ पूर्वको व्यापारिक हवका रूपमा विकास हुँदै गरेको इटहरीको बजारलाई पनि यहाँका उत्पादकले उपयोग गर्न सक्ने भएका छन्।
होमस्टे, किराना पसल, हार्डवेयर सवारीसाधन मर्मत केन्द्र, पशुपालन, व्यावसायिक तरकारी तथा फलफूल उत्पादन, ब्युटी पार्लर जस्ता व्यवसाय सडक पुगेसँगै फस्टाएका छन््। पशुपालन तथा कृषि उत्पादनका लागि उन्नत बीउबीजन तथा कृषि प्रसार सेजा सहज भएको स्थानीय बताउँछन्।
समयमा उपचारका लागि धरान तथा इटहरीका सुविधासम्पन्न अस्पतालसम्म पुग्न स्थानीयलाई सहज भएको छ। कच्ची सडक हुँदा सवारीसाधन दुर्घटना बाक्लै हुन्थ्यो।
‘चतरामा कोसी नदीमाथि पुल नहुँदा डुँगाबाट स्थानीय ओहोरदोहोर गर्थे’, बेलका नगरपालिका– २ का स्थानीय नन्दीलाल चौधरीले भने। चौधरीले डुंगा दुर्घटनामा आफ्नो छोरा गुमाए। ‘पुल निर्माण भएसँगै अब कसैले यस्तो हविगत बेहोर्नुपर्दैन’, उनी भन्छन्। चतरामा साढे तीन वर्षअघि कोसी नदीमाथि पुल निर्माण भएको हो। एडीबीको ऋण सहयोगमा निर्माण भएको यो सडकमा चतराको कोसी पुलसहित साना ठूला १८ पुल छन्।
चतरामा पुल निर्माण भएको ठाउँमा कोसी नदीमा अहिले मोटर बोट चल्छन्। नजिकै बराह क्षेत्र र इटहरी, धरान जस्ता ठूला सहर पर्ने भएकाले यो क्षेत्रमा पर्यटकीय सम्भावना पनि त्यत्तिकै छ। कोसी नदीमा चतरादेखि भोजपुर र धनकुटाको सीमानामा पर्ने सिम्लेसम्म मोटरबोटमा जलयात्रा गर्न सकिने भएकाले पनि स्थानीय बेलका नगरपालिकामा होमस्टे फस्टाएको छ।
मेची र कोसी अञ्चल जाड्ने यो वैकल्पिक सडक निर्माण भएसँगै कोसीको बाढीले या यस क्षेत्रमा हुनसक्ने कुनै बन्द हड्तालले पूवी नेपालसँगको सम्पर्क बिच्छेद हुन दिँदैन। सन् २००८ मा कोसी ब्यारेजको पूर्वी तटबन्ध फुटेपछि आएको बाढीले पूर्वपश्चिम राजमार्गको केही हिस्सा बगाएर पूर्वी तराईसँग सम्पर्क बिच्छेद भएको थियो।
यसले मालवहाक सवारीसाधनदेखि सर्वसाधरणको यात्रामा समेत कठिनाइ भएको थियो। यही घटनासँगै वैकल्पिक सडकमार्गको अवधारणा अघि आएको हो। निर्माण कार्य सन् २०१४ को अन्त्यतिर सुरु भएर करिब दुई महिनाअघि सम्पन्न भएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)