डोटीमा भुवाँखेल सुरु
डोटी : डोटीका विभिन्न देवीदेवताका शक्तिपीठमा लाग्ने जात्रा सकिँदै गर्दा यहाँको महत्वपूर्ण पर्वका रूपमा मनाइने भुवाँखेल सुरु भएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका–१, तिखागाउँबाट भुवाँखेल नाच सुरु भएको हो। सुदूरपश्चिममा यसलाई डेउडा खेलपछि ठूलो मानिन्छ।
डोटीका विभिन्न समुदायमा आआफ्नै ढंगले भुवाँखेल खेलिन्छ। करिब पाँचदेखि सात दिनसम्म भुवाँखेल खेलिने दिपायल सिलगढी नगरपालिका–१ का अध्यक्ष बहादुरसिं खड्काले बताए। ‘परापूर्व कालदेखि भुवाँखेल खेल्न सुरु गरिएको हो’, अध्यक्ष खड्काले भने, ‘करिब पाँच किसिमका बाजाका तालमा प्रत्येक दिन भुवाँ खेल्ने गरिन्छ।’
तत्कालीन राजारजौटाका पालामा राजाका सैनिकले तालिमस्वरूप यो नाच नाच्ने गर्थे। युद्धमैदानमा दुस्मनसँग कसरी लड्ने र विजय हासिल गर्ने भन्ने कलायुक्त नाचलाई भुवानाच भनिने तिखा गाउँका अगुवा विजय खड्काले बताए। ‘पुरानो युद्धकला र त्यसको जगेर्ना गर्ने उद्देश्यले यो नाच खेलिन्छ’, उनले भने, ‘युद्धमा आफू कसरी बच्ने र दुस्मनलाई कसरी पराजित गर्ने भन्नेबारे सिकाइने भएकाले खेलको रौनक नै अर्कै हुन्छ।’
हातहातमा नांगो तरबार बोकी खेलाडीले पुरानो राजाको पालाको पोसाक लगाएर पंक्तिबद्ध तरिकाले भुवाँ खेल्ने गर्छन्। विजया दशमीको दिन डोटीको सदरमुकाम सिलगढीको कालढुंगा भन्ने ठाउँमा ‘उराउ’ बाजा बजाएपछि यो खेल सुरु हुन्छ। तर यहाँका बासिन्दाले मंसिर तेस्रो साता मात्र खेल सुरु गर्ने गरेको अर्का स्थानीयवासी बाजी खड्काले बताए। उनले भने, ‘उराउ बाजा बजाएपछि खेल हुने निश्चित हुन्छ। तर, स्थानीयवासीको फुर्सद अर्थात् खेतीपातीको काम सकिएपछि मात्रै यो खेल सुरु हुन्छ।’
लगातार पाँच दिन खेलिने भुवाँ डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा र अछाममा समेत खेलिन्छ। दिनमा नांगो तरबारले भुवाँ खेल्ने तथा राति सुदूरपश्चिमेली डेउडा तथा परापूर्व कालका राजारजौटाका बारेमा डेउडा खेल खेल्ने चलन रहेको स्थानीयवासी बताउँछन्।
डोटीको प्रसिद्ध देवी शैलेश्वरी, जिल्ला प्रशासन कार्यालय तथा पूर्व राणाकालीन दरबार डोटी गौडमा समेत यो खेल देखाई छैटौं दिनमा कालढुंगामै गएर खेल विसर्जन हुने दिपायलका गणेश भण्डारीले बताए।
यो खेलमा सबैभन्दा महत्वपूर्ण तथा रोचक मानिने ‘घाँ’ नाच हो। यसमा दुईजना खेलाडीले हातमा नांगो तरबार समाती नाच्दानाच्दै एकअर्कालाई हिर्काउने र आफूलाई तरबारबाट बचाउन ढालले छेक्ने गर्छन्। भुवाँखेलमा सबै खेलाडी सामेल हुने भए पनि ‘घाँ’ खेलमा भने सबैलाई समावेश गरिँदैन। ‘घाँ’ खेलमा चोटपटक लाग्नसक्ने भएकाले पोख्त भएका मात्र यसमा सहभागी हुन्छन्।