बाँकेमा पुगेर अर्थमन्त्री खतिवडाले भने : व्यापारीले निराश हुनु पर्दैन
राँझा (बाँके) : अर्थमन्त्री डा युवराज खतिवडाले नेपालगञ्जको विकासका लागि निराश नहुन उद्योगी व्यापारीलाई आग्रह गरेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको २७औँ साधारणसभालाई आज नेपालगञ्जमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालगञ्जको विकासका विषयमा केन्द्र सरकार सकारात्मक रहेकाले क्रमिकरुपमा आर्थिक विकास हुँदै जाने बताए ।
नेपालगञ्जलाई आफूले नजिकबाट चिनेको भन्दै यस शहरलाई विकासमा पछि पर्न नदिने उनले आश्वासन दिए। 'विसं २०३५ मा पहिलोपटक नेपालगञ्ज आएको थिएँ, त्यसपछि विभिन्न ओहदामा रहँदा यहाँको विकासका लागि काम गरेको छु,' अर्थमन्त्री खतिवडाले भने, 'चालिस वर्षको अवधिमा नेपालगञ्जले निकै ठूलो फड्को मारेको छ ।'
साधारणसभामा बोल्ने उद्योगी, व्यवसायीले सङ्घीयता कार्यान्वयनसँगै नेपालगञ्ज पछि परेको गुनासो गरेपछि अर्थमन्त्री खतिवडाले नेपालगञ्ज विकासमा पछि नपर्ने भन्दै आश्वस्त पारे । उनले नेपालगञ्जको विकास औशतरुपमा सन्तोषजनक रहेको उल्लेख गर्दै थप विकासका लागि आफ्नो ध्यानाकर्षण भएको बताए ।
नेपालगञ्ज प्रदेश नं ५ को मात्र नभई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशकोसमेत विकासको संवाहकका रुपमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने, 'कर्णाली प्रदेशको त यो प्रवेशद्वार नै हो । जडीबुटी, कृषिजन्य, खनिज वस्तुको प्रशोधन र निकासी गर्न पनि नेपालगञ्जको विकास नगरी विकल्प नै छैन ।'
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले पछिलो समय नेपालगञ्ज आर्थिक हवका रुपमा रुपान्तरण हुँदै गएको भन्दै त्यसको प्रोत्साहन गर्न राज्य लाग्नुपर्ने बताइन् । उनले आफू नेपालगञ्जवासी नै भएकाले यहाँको विकासका लागि सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरिन् ।
अर्थमन्त्री डा खतिवडालाई बाँकेको विकासका लागि ध्यानार्कषण गराउँदै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले ज्ञापनपत्र बुझाएका थिए । रासस